निर्वाचनमा ६६ दशमलव ९१ प्रतिशत मत खसेको भारतको निर्वाचन आयोगले जनाएको छ ।
What you should know
एजेन्सी — निर्वाचनमा पुरुषको दाँजोमा महिलाले धेरै मतदान गरेका छन् । कुल मतमध्ये ७१ दशमलव ६ प्रतिशत महिला र ६२ दशमलव ८ प्रतिशत पुरुषको छ ।
मंगलबार सम्पन्न बिहार विधानसभा निर्वाचनले नयाँ इतिहास बनाएको छ । यस निर्वाचनमा ६६ दशमलव ९१ प्रतिशत मत खसेको भारतको निर्वाचन आयोगले जनाएको छ ।
भारतको स्वतन्त्रतायता बिहार राज्यमा भएका कुनै पनि निर्वाचनमा यति धेरै मत खसेको यो पहिलोपटक हो । ६ नोभेम्बरमा पहिलो चरण र ११ नोभेम्बरमा दोस्रो चरण गरेर २ सय ४३ निर्वाचन क्षेत्रमा मतदान भएको थियो । पहिलो चरणमा ६५ प्रतिशत र दोस्रो चरणमा ६९ प्रतिशत हाराहारीमा मत खसेको थियो ।
यस निर्वाचनमा पुरुषको दाँजोमा महिलाले धेरै मतदान गरेका छन् । कुल मतमध्ये ७१ दशमलव ६ प्रतिशत महिला र ६२ दशमलव ८ प्रतिशत पुरुषको छ ।
अधिकारीहरुले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताएका छन् । कुनै पनि जिल्लाबाट हिंसा र बुथ कब्जाको खबर नआएको उनीहरुले बताएका छन् । मतदान प्रक्रिया निकै सरल र व्यवस्थित रहेको तथा सुरक्षा व्यवस्था कडा रहेको स्वतन्त्र पर्यवेक्षकहरुले बताएका छन् ।
१४ नोभेम्बरबाट बिहारमा मतगणना सुरु हुनेछ । यस निर्वाचनमा २६ सयभन्दा धेरैले उम्मेदवारी दिएका छन् ।
एग्जिट पोलहरुको नतिजाले सत्तारुढ जनता दल युनाइटेड (जदयू) र भारतीय जनता पार्टी (भाजपा) सम्मिलित राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडिए) ले बहुमत ल्याउने प्रक्षेपण गरेका छन् । राष्ट्रिय जनता दल (राजद) र कंग्रेस सम्मिलित महागठबन्धन दोस्रो नम्बरमा आउने उनीहरुको आँकलन छ ।
त्यस्तै, प्रशान्त किशोर नेतृत्वको जनसुराज पार्टीले थोरै सिटमात्र लगाउने अनुमान लगाइएको छ । सर्वेक्षणको यस्तो नतिजाले सत्तारुढ दलका कार्यकर्तामा उत्साह छाएको छ ।
बिहारका मुख्यमन्त्री नितिशकुमारले बिहारका जनताले सुशासन र विकासप्रति भरोसा जताएको बताएका छन् । ‘बिहारले सधैं विकास र स्थिरतालाई प्राथमिकता दिएको छ । यस एग्जिट पोलले जनता सुशासन र विकासको पक्षमा रहेको देखाउँछ ।’
जनता दल युनाइटेड (जदयू)को कार्यालयमा ‘फिर एक बार नितिश सरकार’ नारा गुन्जिएको थियो । उपमुख्यमन्त्री तथा भाजपा नेता सम्राट चौधरीले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा केन्द्र र राज्य दुबै ठाउँमा विकासको समन्वय बनाएको बताए ।
राजदका राष्ट्रिय प्रवक्ता मनोजकुमार झाले एग्जिट पोलहरुको नतिजा विश्वासिलो नरहेको बताएका छन् । ‘एग्जिट पोलले सधैं सत्तारुढ दलकै पक्षमा नतिजा देखाउने गरेको छ । जनताले परिवर्तनका लागि भोट दिएका छन् । मतगणना सुरु हुनासाथ यो स्पष्ट हुने छ,’ उनले भने ।
