२८ अक्टोबरमा अमेरिकाको यल विश्वविद्यालय मानवीय अनुसन्धान ल्याबले सार्वजनिक गरेको रिपोर्टमा यस क्षेत्रमा सामूहिक नरसंहार भएको उल्लेख छ ।
What you should know
काठमाडौँ — संयुक्त राष्ट्रसंघ मानवअधिकार कार्यालयले सुडानको अल फसेरमा बढ्दो निर्मम बर्बरतामाथि चिन्ता व्यक्त गरेको छ ।
गत महिना सुडानको मिलिसिया संगठन र्यापिड सर्पोट फोर्सेस (आरएसएफ)ले डार्फरको पश्चिम क्षेत्र कब्जा गरेयता यहाँ आक्रमणका घटना बढेका छन् ।
‘पछिल्ला १० दिनमा अल फासेर बढ्दो निर्मम हमलाहरुको साक्षी छ । यो दुःखको सहर बनेको छ,’ राष्ट्रसंघको सुडानस्थित मानवअधिकार प्रतिनिधि लि फुंगले शनिबार ट्वीटरमा भिडियो सार्वजनिक गर्दै लेखेकी छिन् ।
यस अवधिमा महिला र बालबालिकासहित सयौं मानिस मारिएको तथा घाइते भएको उनले बताएकी छिन् । त्यस्तै, बसाइँ सर्ने र बेपत्ता हुनेको संख्या पनि ठूलो रहेको उनले बताइन् ।
सुडानको आइडिपी तथा शरणार्थी शिविर सहायता समूहका प्रवक्ता एडम रोजलले एपीसँगको कुराकानी ताविला सहरमा १६ हजारभन्दा धेरै व्यक्ति अल फासेरबाट आइरहेको बताए । धेरैजनालाई खाद्यान्न, औषधि, टेन्ट, मानसिक परामर्शलगायतको खाँचो रहेको उनले बताए । केही परिवार एक छाक खाएर दैनिकी चलाउन बाध्य रहेको उनको भनाइ छ ।
शुक्रबार डक्टर्स विथआउट बोडर्सले पनि यस अवस्थाप्रति चिन्ता व्यक्त गरेको थियो । यहाँका बालबालिकामा कुपोषणको दर अत्यधिक रहेको उक्त संस्थाले जनाएको थियो ।
सुडानको दक्षिणी डार्फर क्षेत्रस्थित सुडानी सेनाको बलियो उपस्थिति रहेका थोरै आधार इलाकामध्ये अल फासेर एक थियो । २६ अक्टोबरमा यसलाई पनि आरएसएफले कब्जामा लियो । त्यसयता ताविलासहित नजिकका सबै सहरमा यहाँबाट मानिसहरु भागिरहेका छन् ।
२८ अक्टोबरमा अमेरिकाको यल विश्वविद्यालय मानवीय अनुसन्धान ल्याबले सार्वजनिक गरेको रिपोर्टमा यस क्षेत्रमा सामूहिक नरसंहार भएको उल्लेख छ । यस दौरान स्याटेलाइट तस्बिरमा देखिने रगत लत्पतिएका दृश्यहरुलाई पनि अनुसन्धान गरिएको छ ।
इन्टरनेशनल अर्गनाइजेशन फर माइग्रेशन (आईओएम) को अनुमानअनुसार ४ नोभेम्बरसम्म झन्डै ८२ हजार व्यक्तिले अल फासेरबाट भागेर नजिकका क्षेत्रमा शरण लिइरहेका छन् । ताविला, केव्काविया, मेलिट र कुटुम शरणार्थीको ओइरो लागेका मुख्य क्षेत्र हुन् ।
आरएसएफले कब्जामा लिनुअघि अल फासेरमा झन्डै २ लाख ६० हजार जनसंख्याको बसोबास थियो ।
