अमेरिकामा कर्मचारीले तलब नपाउँदा विमानस्थलदेखि किराना पसलसम्म प्रभाव

अमेरिकामा १९ हजार ७ सय वटा विमानस्थलमध्ये ४ सय ८३ वटा अन्तर्राष्ट्रिय विमानस्थल छन् । जसमध्ये धेरै व्यस्त हुने ४० वटा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान कटौतीको प्रभाव परेको छ ।

कार्तिक २३, २०८२

सुदीप शिवाकोटी

From airports to grocery stores, unpaid wages for employees in the US are affecting businesses

What you should know

अमेरिका — अमेरिकामा गर्भमेन्ट सर्टडाउन (सरकारी आर्थिक कारोबार बन्द)का कारण संघीय कर्मचारीले तलब नपाउँदा विमानस्थलदेखि सामान्य किराना पसलसम्म प्रभाव परेको छ ।

विश्वकै धनी मुलुकसमेत रहेको अमेरिकामा ४० दिनदेखिको सटडाउनका कारण ठूलासाना विमानस्थलदेखि चोकचोकमा सञ्चालन हुने किराना पसलमा समेत आर्थिक रुपमा असर पारेको हो । 

सटडाउनका कारण कर्मचारी तलबसँगै सरकारबाट दिइने सुविधा प्रभावित हुँदा साना व्यवसायमा पनि धक्का लागेको छ । सर्टडाउनपछि १४ लाख बढी संघीय कर्मचारीले तलब पाएका छैनन् । जसका कारण आधा बढी कर्मचारीले काम बन्द गर्दा सबै भन्दा बढी प्रभाव विमानस्थलमा परेको छ । 

विमानस्थलमा कर्मचारीले डियुटी समय कम गर्दा आन्तरिक उडानसमेत कटौती गरिएको छ । संघीय सरकारमातहत रहने विमानस्थलका सुरक्षाकर्मी र एयर ट्राफिक कन्ट्रोलर (एटीसी)ले तलब नपाउँदा कार्य समय घटाउँदै विरोध जनाएपछि एयर ट्राफिक कन्ट्रोलमै समस्या भएका कारण उडान कटौती गरिएको फेडेरल एभिएसन एड्मिनिस्ट्रेसन (एफएए)ले जनाएको छ । 

एफएएका अनुसार हाल सबै भन्दा बढी चाप हुने ४० वटा क्षेत्रीय र अन्तर्राष्ट्रिय विमानस्थलमा १० प्रतिशत आन्तरिक उडान कटौती गरिएको छ । ‘उडान कटौतीका कारण विमानस्थलमा चाप बढेको छ,’ अमेरिकी संचारमाध्यम सीएनएनले उल्लेख गरेको छ, ‘यात्रुहरु आफ्नो समयको उडान तालिकामा यात्रा गर्न पाएका छैनन्, उडान शुल्क महँगिएको छ । यो अवस्था लामो समय कायम रहे आर्थिक अवस्था निकै धरासायी बन्न सक्छ ।’

सर्टडाउन कायम रहे र कर्मचारीले तलब नपाएर विरोध जनाउँदै आफ्नो काम रोक्नेको संख्या बढेमा उडान कटौती निरन्तर बढ्दै जाने एफएएको दाबी छ । हार्टस्फिल्ड ज्याक्सन, एटलान्टा, डालस फोर्टवर्थ, डेन्भर, सिकागो, लस एन्जलस, डुलस, जेएफके, बोस्टन लोगन, चारलोट डर्गलस, रोनाल्ड रेगन, होनोलुलु, टाम्पा, टेरेनबोरो, साल्टलेक सिटी, सान फ्रान्सिसको, सिआटल, लुइजभिल, सानडिएगो, फोनेक्स स्काइ हारबोरलगायत ४० वटा अन्तर्राष्ट्रिय बिमानस्थलमा उडान कटौती गरिएको हो । यी विश्वकै अति व्यस्त विमानस्थल हुन् । 

अमेरिकामा १९ हजार ७ सय वटा विमानस्थलमध्ये ४ सय ८३ वटा अन्तर्राष्ट्रिय विमानस्थल छन् । जसमध्ये धेरै व्यस्त हुने ४० वटा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान कटौतीको प्रभाव परेको छ । 

सर्टडाउनकै कारण ठूला उद्योगमा भन्दा बढी सानाठूला किराना पसलमा असर पारेको सीएनएनले जनाएको छ । संघीय सरकारबाट पाउने सुविधा र सरकारले दिने खाद्यान्नको व्यवस्था समेत रोकिएका कारण किराना पसलहरुमा बिक्री निरन्तर घटेको छ । 

अमेरिकी सरकारले आर्थिक अवस्था कमजोर भएका, कम आय भएका र बेरोजगार रहेका परिवारलाई फुड स्ट्याम्प उपलब्ध गराउने गरेको छ । उक्त फुड स्ट्याम्प प्रयोग गरेर उनीहरुले खाद्यान्न, फलफुल खरिद गर्ने गरेका छन् । तर सर्टडाउनका कारण फुड स्ट्याम्पमा सरकारले रकम उलब्ध नगराउँदै किराना पसलमा बिक्री दर घटेको हो । 

अमेरिकामा ३० प्रतिशत बढी परिवारले सरकारबाट फुड स्ट्याम्प लिँदै आएका छन् । टेक्ससको एल पासोमा रहेको एक सैनिक कार्यालयमा काम गर्ने नर्स लिसा मोरालेसले अक्टोबर र नोभेम्बरको भाडा तिर्न नसकेको गुनासो सुनाएकी छन् । उनले सीएनएनसँग कुरा गर्दै सरकारले तलब उपलब्ध नगराउँदा घर भाडा तिर्नदेखि खानाको व्यवस्था गर्न समेत नसकेको दुखेसो गरिन् । 

नोभेम्बरदेखि आफ्नो कार र बीमा भुक्तानी, ग्यास, किराना सामान, कुकुरको खाना र युटिलिटी खर्च कसरी तिर्ने भन्नेबारे आफु चिन्तित रहेको बताइन् । ‘हामी बेरोजगारीको लागि योग्य हुँदैनौं, किनभने हामी शैक्षिक अनुभवमा योग्य छौं । तलब नपाउँदा हामीले कार्यालयमा विरोध जनाइरहेका छौं,’ लिसाले भनिन् ।

सुदीप शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Link copied successfully