यी अधिकारीहरुले मानवताविरुद्धको अपराध तथा जातीय हिंसा निम्त्याएको इस्तानबुलको आरोप छ ।
काठमाडौँ — टर्किएले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसहितका वरिष्ठ इजरायली अधिकारीमाथि पक्राउ पुर्जी जारी गरिएको जनाएको छ ।
प्रधानमन्त्री नेतान्याहु र रक्षामन्त्री इजरेल काट्जसहित राष्ट्रिय सुरक्षामन्त्री, सेना प्रमुखलगायत ३७ जना इजरायली अधिकारीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको इस्तानबुलको अभियोजक कार्यालयले जनाएको छ ।
यी अधिकारीहरुले मानवताविरुद्धको अपराध तथा जातीय हिंसा निम्त्याएको इस्तानबुलको आरोप छ । इजरायलले अक्टोबर २०२३ देखि गाजामा सुरु गरेको युद्धका दौरान संस्थागत रुपमै यस्तो अपराध गरेको आरोप लगाइएको छ । ‘१७ अक्टोबर २०२३ मा अल आली बाप्टिस्ट अस्पतालमा भएको आक्रमणमा ५ सय जना मारिए । २९ फेब्रुअरी २०२४ मा इजरायली सैनिकले उपचारका सामग्री ध्वस्त गरे । गाजामा नाकाबन्दी गरियो र पीडितहरुलाई मानवीय सहयोग पुर्याउन दिइएन,’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा टर्किएले गाजामा निर्माण गरेको टर्किस्–प्लालेस्टाइनी मैत्री अस्पतालमा इजरायलले गत मार्चमा बम हानेको उल्लेख छ ।
इजरायलले सस्तो प्रचारबाजीका लागि टर्किएले यस्तो कदम चालेको प्रतिक्रिया दिएको छ । ‘तानाशाह रेसिप इर्दोगानको यो पछिल्लो स्टन्टलाई हामी खारेज गर्दछौं, ’ इजरायली विदेमन्त्री गिडियन सारले सामाजिक सञ्जल एक्समा उल्लेख गरेका छन् ।
प्यालेस्टिनी समूह हमासले यस घोषणाको स्वागत गरेको छ । ‘न्याय, मानवता र बन्धुत्वका मान्यताप्रति प्रतिबद्ध टर्किस जनता र त्यहाँका नेताहरुको प्यालेस्टिनी जनताप्रतिको यो ऐक्यबद्धतालाई हामी प्रशंसा गर्दैछौं,’ विज्ञप्तिमा भनिएको छ ।
अन्तर्राष्ट्रिय क्रिमिनल कोर्ट (आईसीसी) ले नेतान्याहु र उनका पूर्व रक्षामन्त्रीविरुद्ध युद्ध अपराधमा पक्राउ पुर्जी जारी गरेको झन्डै एक वर्षपछि टर्किएले यस्तो घोषणा गरेको हो ।
