न्यूयोर्कको मेयरका लागि मम्दानी, क्युओमो र सिल्वा चुनावी प्रतिस्पर्धामा

राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वतन्त्र उम्मेदवार क्युओमोलाई समर्थन गर्दै मम्दानीले जिते संघीय अनुदान रोक्न सक्ने चेतावनी दिएका छन् । उनले आफ्नो पार्टीका उम्मेदवार सिल्वालाई मत दिनुको कुनै अर्थ नहुने दाबीसमेत गरेका छन् ।

कार्तिक १९, २०८२

सुदीप शिवाकोटी

Mamdani, Cuomo, Silva in race for New York mayor

अमेरिका — महाशक्ति राष्ट्र अमेरिकाको महाशक्ति महानगर न्यूयोर्कको नेतृत्वका लागि चुनावी प्रतिस्पर्धा सुरु भएको छ । स्थानीय समय अनुसार आज मंगलबार नोभेम्बर ४ इलेक्सन डेका दिन मतदान प्रक्रियासँगै त्रिपक्षीय प्रतिस्पर्धा सुरु भएको हो ।

न्यूयोर्कको मेयरका लागि पछिल्लो समय चर्चा बटुलेका मुस्लिम आप्रवासी न्यूयोर्ककै राज्यसभाका पूर्वसदस्य जोहरान क्वामे मम्दानी, न्यूयोर्कका पूर्वगर्भनर एन्ड्रयु क्युओमो र रिपब्लिकन नेता कार्टिस सिल्वा चुनावी प्रतिस्पर्धामा छन् । मम्दानी ड्रेमोक्र्याट, क्युओमो स्वतन्त्र र सिल्वा रिपब्लिकनबाट चुनावी प्रतिष्पर्धामा उत्रिएका हुन् । 

अमेरिकाको राजनीतिमै प्रभाव पार्न सक्ने न्यूयोर्क सहरको नेतृत्व प्रतिस्पर्धालाई अमेरिकी शीर्ष नेताहरुले महत्त्वपूर्ण मानेका छन् । सबैभन्दा बढी आप्रवासी रहेको न्यूयोर्कको नेतृत्वका लागि आप्रवासी मम्दानीको चर्चाका कारण राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत चुनावी रणनीतिमा प्रत्यक्ष जोडिएका छन् ।

आफ्नै पार्टी रिपब्लिनका नेता सिल्वालाईसमेत समर्थन नगरेका ट्रम्पले मम्दानी मेयरमा विजयी भएको अवस्थामा संघीय अनुदान रोक्न सक्ने चेतावनी दिएका छन् । राष्ट्रपति ट्रम्पले चुनावी प्रतिस्पर्धा कडा हुने भएपछि मम्दानीको खुलेर विरोध गर्दै स्वतन्त्र उम्मेदवार क्युओमोको समर्थन गरेका हुन् । 

उनी आफ्नो पार्टी रिपब्लिकनका उम्मेदवार सिल्वाको सवालमा मौन रहेको देखिन्छ । ‘तपाईंलाई क्युओमा मन पर्छ वा पर्दैन, त्यो फरक पर्दैन । तपाईंले उनलाई भोट दिनैपर्छ र आशा पनि गर्नुपर्छ कि उनले उत्कृष्ट काम गर्नेछन् । उनी सक्षम छन्, तर माम्दानी सक्षम छैनन्,’ ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले लेखेका छन् ।

ट्रम्पले यसअघि पनि मम्दानीको खुलेर विरोध गर्दै आएका थिए । उनले टेलिभिजन अन्तर्वार्ताका क्रममा कम्युनिस्टले चलाउने सिटीमा आफूले संघीय अनुदान दिन नसक्ने बताएका थिए । उनले मम्दानीले जिते अनुदानको दुरुपयोग हुने दाबीसमेत गरेका थिए । विभिन्न माध्यमबाट गरिएको जनमत सर्वेक्षणहरुका अनुसार, डेमोक्रेटिक उम्मेदवार माम्दानी अग्रस्थानमा थिए । 

स्वतन्त्र रूपमा उम्मेदवारी दिएका क्युओमो दोस्रो र रिपब्लिकन उम्मेदवार सिल्वाको पक्षमा न्यून जनमत देखिएको अमेरिकी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

सुदीप शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Link copied successfully