उत्तर कोरियाको सर्वोच्च जनसभाका पूर्व अध्यक्ष किम योङ नामको निधन

उत्तर कोरियाका संस्थापक किम इल सुङ, उनका छोरा किम जोङ इल र अहिले नाति किम जोङ उनअन्तर्गतका शासनमा उनले विभिन्न कुटनीतिक पदहरु पाए । उनी किम वंशका बफादार मानिन्थे ।

कार्तिक १८, २०८२

एजेन्सी

Former Chairman of North Korea's Supreme People's Assembly Kim Yong Nam dies

काठमाडौँ — उत्तर कोरियाको सर्वोच्च जनसभाका पूर्व अध्यक्ष किम योङ नामको ९७ वर्षको उमेरमा निधन भएको उत्तर कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसिएनए) लाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । १९९८ देखि २०१९ सम्म उनी सर्वोच्च जनसभाका अध्यक्ष थिए ।

उत्तर कोरियाका संस्थापक किम इल सुङ, उनका छोरा किम जोङ इल र अहिले नाति किम जोङ उनअन्तर्गतका शासनमा उनले विभिन्न कुटनीतिक पदहरु पाए । उनी किम वंशका बफादार मानिन्थे । 

उत्तर कोरियाको केन्द्रीय समाचार एजेन्सी (केसिएनए) का अनुसार विभिन्न अंगहरुले काम गर्न छाडेपछि (मल्टिपल अर्गन फेलियर)  उनको निधन भएको हो । एजेन्सीको समाचारमा उल्लेख छ, ‘उनी पुरानो पुस्ताका क्रान्तिकारी हुन् । जसले हाम्रो पार्टी र देशको इतिहास विकास गर्ने अद्भूत उपलब्धि छाडेका छन् ।’ उनलाई राजकीय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । 

किम वंशका तीन पुस्तासँग काम गरेको भए पनि उनी त्यस परिवारका नातेदार भने होइनन् । कोरियाली प्रायद्विप जापानी उपनिवेश रहेका बेला उनको जन्म भएको थियो । केएनसिएले उनलाई ‘जापान विरोधी राष्ट्रवादी’ भनेर सम्मान गरेको छ । प्योन्गयाङ स्थित किम इल सुङ विश्वविद्यालयमा आफ्नो पढाई पूरा गरेपछि उनले केही समय मस्को गएर पनि पढेका थिए । 

त्यसपछि १९५० को दशकमा राजनीतिक करियर सुरु गरे । उनले पहिले उत्तर कोरियाको विदेश मन्त्री र त्यसपछि सर्वोच्च जनसभामा अध्यक्षका रुपमा काम गरे । उत्तर कोरियाको वास्तविक शक्ति किम परिवारमै निहित भए पनि किम योङ नामलाई अन्तर्राष्ट्रिय समुदायले यस देशको प्रतिनिधिका रुपमा हेर्ने गरेको थियो । 

उनले सन् २००० र २००७ मा अन्तर–कोरिया सम्मेलनमा दक्षिण कोरियाका राष्ट्रपतिसँग वार्ता गरेका थिए । त्यसैगरी २०१८ मा उत्तर कोरियाको प्रतिनिधिमण्डललाई दक्षिण कोरियामा भएको विन्टर ओलम्पिकमा नेतृत्व गरेका थिए । दक्षिण कोरियाका एकीकरण मन्त्री चुङ दोङ योङले नामप्रति समवेदना प्रकट गरेका छन् । नामसँग कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्ने विषयमा आफ्नो अर्थपूर्ण संवाद भएको पनि उनले बताएका छन् ।

एजेन्सी

Link copied successfully