अफगानिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा २० को मृत्यु

भूकम्पले अफगानिस्तानका ठूला सहरमध्ये एक मजार–ए–सरीफमा ठूलो धक्का पुगेको छ । यहाँ झन्डै ५ लाख मानिसको बसोबास छ ।

कार्तिक १७, २०८२

एजेन्सी

Powerful earthquake hits Afghanistan, killing at least 20

काठमाडौँ — उत्तरी अफगानिस्तानमा सोमबार मध्यरात (स्थानीय समयअनुसार १ बजे) गएको शक्तिशाली भूकम्पले कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

६ दशमलव ३ म्याग्निच्युडको यस भूकम्पमा परेर ३ सय २० जना व्यक्ति घाइते भएको तालिबान सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता सराफत जमान अमरले बताए ।

भूकम्पले अफगानिस्तानका ठूला सहरमध्ये एक मजार–ए–सरीफमा ठूलो धक्का पुगेको छ । यहाँ झन्डै ५ लाख मानिसको बसोबास छ ।

अहिले यहाँ उद्धार तथा राहतको कार्य जारी छ । घाइते तथा मृतकको संख्या बढ्न सक्ने बल्ख प्रदेशका अधिकारीहरूले बताएका छन् । सोलगारा जिल्ला र मजार–ए–सरिफको दक्षिणतर्फ धेरै क्षति पुगेको बल्ख प्रदेशका तालिबानका प्रवक्ता हाजी जैदले बताए ।

‘अग्ला भवनबाट हाम्फाल्दा धेरैजना घाइते भएका छन्,’ जैदले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

गत अगस्टमा अफगानिस्तानमा ६ म्याग्निच्युडको भूकम्प आउँदा पूर्वी क्षेत्रमा १ हजारभन्दा धेरैको मृत्यु भएको थियो । पूर्वी क्षेत्रका ग्रामीण इलाकामा काठ र माटोले बनाइएका घरहरूको संख्या धेरै भएकाले क्षति बढी भएको थियो ।

एजेन्सी

Link copied successfully