आइतबार मात्रै अल फसेर सहरको साउदी अस्पतालका ४६० भन्दा धेरै बिरामी र कर्मचारीको आरएसएफद्वारा गोली हानी हत्या, सुडानमा करिब ३ वर्षदेखि सत्ताका लागि संघर्ष चलिरहेको छ, सुडानका दुई गुट एसएएफ र आरएसएफ सत्ताका लागि युद्धमा छन् ।
काठमाडौँ — गत आइतबार सामाजिक सञ्जाल एक्समा सुडानको गृहयुद्धसम्बन्धी एक भिडियो सार्वजनिक भयो । ब्राउन नाम गरेका प्रयोगकर्ताले साझा गरेको भिडियोमा एक महिला आफू र आफ्ना बच्चाको ज्यानको याचना गरिरहेकी छन् । उनी ‘हामी निर्दोष छौं, नमार हामीमाथि दया गर’ भनिरहेकी थिइन् ।
भिडियोमा कसैले धम्की दिइरहेको आवाज सुनिन्छ र पृष्ठभूमिमा अजान (मुस्लिम धर्मावलम्बीको भजन) सुनिन्छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले ती महिला क्रिश्चियन भएको र उनलाई धम्क्याउने सुडानको मिलिसिया संगठन र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ) का सदस्य रहेको उल्लेख गरेका छन् । ती महिलाको अनुरोधलाई अस्वीकार गर्दै पहिला बच्चाहरू र त्यसपछि महिलालाई गोली हानी हत्या गरेको दाबी सञ्चारमाध्यमले गरेका छन् । यद्यपि भिडियोको पूरा भाग भने छैन ।
यस्तै आइतबार नै अल फसेर सहरको मुख्य अस्पतालका कर्मचारीसँगै बिरामीको पनि आरएसएफले गोली हानी हत्या गरेको छ । सहर कब्जापछि साउदी अस्पतालभित्र छिरेको कट्टरपन्थी संगठनले चार सय ६० भन्दा धेरै बिरामी र कर्मचारीको निर्ममतापूर्वक हत्या गरेको विश्व स्वास्थ्य संगठन र सुडान डाक्टर्स नेटवर्कले बताएका छन् ।
सुडानको गृहयुद्ध निगरानी गरिरहेको नेटवर्कले बुधबार फेसबुकमा पोस्ट गर्दै दाबी गरेको छ, ‘आरएसएफले आइतबार साउदी अस्पतालभित्र भेटिएका हरेक व्यक्तिको निर्ममतापूर्वक हत्या गर्यो ।’ विश्व स्वास्थ्य संगठनका महासचिव टेड्रोस अदनोम घेब्रियसले एक्समा भनेका छन्, ‘साउदी अस्पतालमा ४ सय ६० भन्दा धेरैको हत्या गरिएको खबरले स्तब्ध बनाएको छ ।’
साढे २ वर्षको अवधिमा ४० हजारभन्दा धेरैको हत्या
संयुक्त राष्ट्रसंघका अनुसार पछिल्लो साढे २ वर्षको अवधिमा मात्रै सुडानको गृहयुद्धमा ४० हजारभन्दा धेरैको हत्या भएको छ । एक करोड ४ लाखभन्दा धेरैले आफ्नो घर छाडेका छन् ।
सुडानी सरकारी सुरक्षा बलको नियन्त्रणमा रहेको अल फसेर सहरमा आरएसएफले पछिल्लो १८ महिनादेखि घेराबन्दी गरेको थियो । सहरमा औषधि मात्र होइन, खाद्यान्नसमेत जान दिइएको थिएन । जसकारण त्यहाँका करिब १२ लाखभन्दा बढी नागरिक भोकमरीको चपेटामा परे ।
राष्ट्रसंघ र मानवअधिकार संगठनहरूका अनुसार स्थिति यहाँसम्म भयो कि मानिसहरूले खान नपाएर पहिला घरमा पालेका जनावर खान थाले, पछि ती जनावरलाई दिइने चारोसमेत खान थाले । अझ स्थिति बिग्रिँदै जाँदा ज्यान बचाउन रुखका बोक्रासमेत निकालेर खान बाध्य भए । सुडान डाक्टर्स नेटवर्कसहित अन्य केही सुडानी मेडिकल र अधिकार समूहले आरएसएफले ‘मास मर्डर’ गरिरहेको दाबी गरेका छन् ।
गृहयुद्धको कारण के हो ?
सुडान गृहयुद्धको इतिहास लामो छ । ‘ग्लोबल कनफ्लिक्ट’का अनुसार अहिलेको अवस्था भने गत ३ वर्षदेखि चलिरहेको सत्ता संघर्ष हो । सुडानका दुई गुट सुडानिज आर्म्ड फोर्सेस (एसएएफ) र आरएसएफ घातक सत्ता संघर्षमा छन् । मृतकहरूको संख्या भिन्नभिन्न सार्वजनिक भएको छ ।
सन् २०१९ को सत्ता परिवर्तनसँग अहिलेको नरसंहार जोडिएको छ । त्यसबेला तानाशाह उमर अल–बसिरलाई सत्ताबाट हटाइएको थियो । बसिरको पतनपछि एसएएफका जनरल अब्दुल फताह अल–बुरहान र आरएसएफका जनरल मोहम्मद हमदान दागलो (हेमेदती) बीच सत्ता साझेदारी भएको थियो । तर यो सम्झौता अप्रिल २०२३ मा भंग भयो ।
आरएसएफ जनजातीय मिलिसियाबाट विकसित भएको हो । यसलाई यूएईको समर्थन छ । आरएसएफले सुडानबाट यूएईलाई सुन दिने र यूएईले आवश्यक हतियार दिने गरेको छ । आरएसएफलाई एसएएफमा विलय गर्ने विषयलाई लिएर विवाद भएपछि सम्झौताअनुसार सत्ता साझेदारी हुन सकेन । दुवै गुटले खार्तुममा एकअर्काविरुद्ध आक्रमण सुरु गरे । जसका कारण पूरै देशमा युद्ध सुरु भयो ।
जातीय हिंसा
सुडानको गृहयुद्धमा मर्नेहरूमा अधिंकाश गैरइस्लामी र गैरअरबी छन् । द गार्जियनको एक रिपोर्टमा मर्नेहरूमा गैरअरबी धेरै रहेको दाबी गरिएको छ । उक्त रिपोर्टमा विशेषज्ञहरूले अल फसरमा आरएसएफको कब्जा २०२३ मा पश्चिमी डार्फरको राजधानी जेनिनामा उसको कब्जाजस्तै हुने चेतावनी दिएका थिए । त्यसबेला यस कट्टरपन्थी संगठनले करिब १५ हजार मानिसको हत्या गरेको थियो । यसमा अधिकांश गैरअरब समूहका र इसाई धर्मावलम्बी थिए ।
आरएसएफको उदय जन्जाविद अरब मिलिसियाबाट भएको थियो । यसविरुद्ध सन् २००३ मा डार्फरमा पूर्वराष्ट्रपति उमर अल बसिरको आदेशमा अफ्रिकी जातीय समूहको नरसंहार गरेको आरोप थियो । ‘ग्लोबल कन्फ्लिक्ट ट्रेकर’का अनुसार करिब तीन लाख विस्थापित सुडानी चाड, इथियोपिया र दक्षिण सुडानका अस्थिर क्षेत्रमा शरणार्थी शिविरमा शरण लिएका छन् ।
राष्ट्रसंघका अनुसार सुडानमा तीन करोडभन्दा बढीलाई मानवीय सहायताको आवश्यकता छ । बिग्रँदो खाद्य सुरक्षा जोखिमले ‘विश्वको सबैभन्दा ठूलो भोकमरीको संकट’लाई जन्म दिइरहेको राष्ट्रसंघको चेतावनी छ ।
सुडानको पछिल्लो द्वन्द्वमा विदेशी शक्तिलाई पनि जिम्मेवार मानिएको छ । ‘काउन्सिल अफ फरेन रिलेसन्स’का अनुसार यो सत्ता संघर्षले सुडानमा सन् १९८३–२००५ को दोस्रो गृहयुद्धको याद दिइरहेको छ । जहाँ २० लाख मानिस मारिएका थिए । विदेशी हस्तक्षेपले युद्धलाई झन् जटिल गरिदिएको छ । बीबीसीका अनुसार एसएएफ र आरएसएफबीच विश्वासको कमीका कारण लोकतन्त्रलाई कुल्चिएर देश विभाजनतर्फ अघि बढिरहेको छ ।
स्याटलाइटबाट समेत देखियो नरसंहार
सुडानको गृहयुद्धले विश्वको सबैभन्दा खराब मानवीय संकटमध्ये एकलाई जन्म दिएको छ । २७ अक्टोबरको स्याटलाइट तस्बिरमा सुडानका सडकमा रगत र शवहरूको थुप्रो देखिएको छ । ती तस्बिर उत्तरी डार्फरको अल फसेर सहरका हुन् । जुन तस्बिरले आरएसएफको कब्जापछि त्यहाँका नागरिकमाथि भएको अत्याचार र भयानक नरसंहारलाई उजागर गरेको छ ।
‘येल स्कुल अफ पब्लिक हेल्थको ह्युम्यानिटेरियन रिसर्च ल्याब (एचआरएल)’ को एक रिपोर्टमा यी तस्बिरमा देखिने आकृति मानव शवहरूकै भएको दाबी गरिएको छ । ‘येल एचआरएल’को रिपोर्टमा भनिएको छ, ‘उपग्रहबाट लिएका चित्र अल सफिया मस्जिदभन्दा मात्र २५० मिटरको दूरीमा दाराजा ओउलाका हुन् ।’ यो त्यही स्थान हो, जहाँ गत सेप्टेम्बरमा आरएसएफको ड्रोन आक्रमणमा ७८ जना मारिएका थिए ।
रिपोर्टमा विशेषज्ञ र विश्लेषकलाई उद्धृत गर्दै उपग्रहबाट लिइएका तस्बिरमा ‘रातो माटोको रंगमा परिवर्तन’का कम्तीमा पाँच उदाहरण देखिएको बताइएको छ । यी सबै १.३ देखि २ मिटर नापका वस्तुसँग मिल्दाजुल्दा छन् । जो करिब मानव शरीरको औसत आकार बराबर हुन्छन् । घटनास्थलको पहिलाको तस्बिरमा यी कुराहरू छैनन् । आरएसएफको कब्जापछि देखिएका यी तस्बिरले उक्त क्षेत्रमा ठूलो मात्रामा नरसंहार भएको रिपोर्टमा दाबी गरिएको छ ।
यी तस्बिरहरूमा एसएएफको छैटौं डिभिजन मुख्यालय र १५७ आर्टिलरी ब्रिगेड पनि देखिन्छ । जसमा २७ अक्टोबरमा तैनाथ आरएसएफ वाहन र टी–५५ ट्यांक भएको दाबी गरिएको छ र तस्बिरमा पनि स्पष्ट रूपमा देखिन्छ । सामाजिक सञ्जाल र कैयौं संस्थाका रिपोर्टमा भाग्न खोज्ने नागरिकलाई गोली हानेर हत्या गरिएका भिडियोहरू पनि छ्यापछ्याप्ती छन् । जहाँ ट्यांकहरूद्वारा भागिरहेका मानिसमाथि पछाडिबाट गोली बर्साइएको छ र दौडिँदै गरेका मानिसहरू ढलिरहेका छन् ।
अल्पसंख्यकमाथि बर्बरता
सुडानको जनसंख्या साढे चार करोड हाराहारीमा छ । जसमा करिब ९१ देखि ९७ प्रतिशतसम्म मुस्लिम छन् । त्यसमा पनि सुन्नी मुस्लिमको बहुमत छ । बाँकी ३ प्रतिशतजति क्रिश्चियन छन् । गृहयुद्धका क्रममा सबैभन्दा प्रताडित त्यहाँका अल्पसंख्यक मुस्लिम छन् । धार्मिक विचारधारा फरक भएकै कारण उनीहरूको हत्या भइरहेको अन्तर्राष्ट्रिय मानवअधिकार संगठनहरूको दाबी छ ।
पछिल्लो एक वर्षमा चर्च जलाउने, जबर्जस्ती धर्म परिवर्तन गराउने र इसाई नेताहरूको हत्याका कैयौं घटना सार्वजनिक भएका छन् । जनवरी २०२४ मा अल–जजिरा प्रान्तको मदानी सहरको एक चर्चमा आगो लगाएर इसाई धर्मगुरु कार्बिनो ब्लालाई गोली हानी हत्या गरिएको थियो । यस्तै, गत १८ मार्चमा इसाई नागरिकलाई बिना प्रमाण आरएसएफको समर्थकको आरोपमा जेलमा हालियो ।
सरकारी सशस्त्र बल र आरएसएफ दुवैतर्फबाट क्रिश्चियन धर्मावलम्बीमाथि नै प्रहार भइरहेको इन्टरनेसनल क्रिश्चियन कन्सर्नको दाबी छ । उसको एक रिपोर्टअनुसार २०२५ मा अहिलेसम्म दर्जनौं इसाईलाई धार्मिक सभामा सहभागी भएकै आरोपमा कैद गरिएको छ । डार्फर क्षेत्रमा धर्म परिवर्तन गर्न अस्वीकार गरेपछि बालबालिका र पुरुषहरूकै अगाडि महिलालाई बलात्कार गर्ने, कैद गर्ने र गोली हानेर हत्या गर्ने कार्य भइरहेको कन्सर्नको दाबी छ ।
सन् २०२० मा सुडानको अन्तरिम सरकारले धार्मिक स्वतन्त्रताको दिशामा केही सुधार गरेको थियो । ‘धर्म त्याग कानुन’ रद्द गरिएको थियो । तर पाँच वर्षपछि स्थिति झन् बिग्रिएको छ । आरएसएफ र एसएएफबीचको सत्ता संघर्षले कानुनी–व्यवस्थालाई नै ध्वस्त पारिदिएको छ । इस्लामबाहेक अन्य धार्मिक पहिचानलाई कैयौं क्षेत्रमा अपराध मानिन्छ । जो मानिस इस्लाम स्वीकार गर्दैनन्, उनीहरूलाई सरकारी सुविधा, रासन र शरणबाट वञ्चित गरिँदै आएको स्थानीय बताउँछन् ।
खार्तुमको उत्तरी क्षेत्रकी ३४ वर्षीय लुसी थोमस भन्छिन्, ‘हाम्रो चर्च बन्द गरिएको छ । यदि हामी प्रार्थनाका लागि जम्मा हुन्छौं भने हामीलाई जासुस भन्दै उठाएर लैजान्छन् । घरमै लुकेर प्रार्थना गर्न बाध्य छौं ।’
अन्तर्राष्ट्रिय समुदाय मौन
रुस–युक्रेन युद्ध, गाजा युद्धका विषयमा राष्ट्रसंघदेखि शक्तिशाली देशहरूले शान्तिका लागि विभिन्न बहस गर्दै आएका छन् । तर मानव इतिहासको यो त्रासदीपूर्ण र बर्बर युद्धबारे विश्वले खुलेर बहस गर्न नसकेको विश्लेषकहरूले बताएका छन् ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सुडानको सामूहिक निष्कासन र भोकमरीको निन्दा त गरेका छन्, तर अहिलेसम्म व्यावहारिक हस्तक्षेपमा कुनै प्रक्रिया चाल्न सकेका छैनन् । युरोपियन संघ र अफ्रिकी संघले पनि गहिरो चिन्ता जनाएका छन् । तर यस्तो नरसंहारविरुद्ध कुनै प्रकारको अन्तर्राष्ट्रिय कानुनी कारबाहीका लागि प्रक्रिया चालिएको छैन ।
न्यायको अपेक्षा
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले डार्फर क्षेत्रमा २००२ पछिका युद्ध अपराधको जाँच गरिरहेको छ । कैयौं वरिष्ठ सुडानी नेताहरूविरुद्ध ‘वारेन्ट’ पनि जारी गरिएको छ । तर मौजुदा स्थितिमा न्याय प्रक्रिया निकै सुस्त गतिमा चलिरहेको छ । राष्ट्रसंघको मानवअधिकार आयोगका विशेष प्रतिनिधि भोल्कर तुर्कले हालै एक वक्तव्यमा भनेका छन्, ‘सुडानमा धार्मिक आस्थाकै आधारमा हत्या, उत्पीडन र जबर्जस्ती धर्म परिवर्तनजस्ता गम्भीर मानवअधिकार उल्लंघन भइरहेका छन् । तर न्यायिक प्रणालीसम्म पहुँच अहिलेको अवस्थामा असम्भवजस्तै बनेको छ ।’ आईसीसीका अधिकारीहरूका अनुसार साक्षी जुटाउनु, साक्षीहरूको सुरक्षा र अभियुक्तहरूलाई पक्राउ गर्नु सबैभन्दा ठूलो चुनौती बनेको छ ।
–एजेन्सीको सहयोगमा
