दक्षिण कोरियामा एशिया–प्रशान्त आर्थिक साझेदारी (एपेक) सम्मेलनका दौरान भएको साइडलाइन वार्तामा राष्ट्रपति सीले प्रधानमन्त्री कार्नेलाई चीन भ्रमणको निम्तो दिएका थिए । त्यसक्रममा प्रधानमन्त्री कार्नेले राष्ट्रपति सीको निमन्त्रणा स्वीकार गरेका हुन्।
काठमाडौँ — क्यानडाका प्रधानमन्त्री मार्क कार्नेले चीनका राष्ट्रपति सी जिनफिङको निमन्त्रणा स्वीकार गरेका छन् । पछिल्ला वर्षहरुमा खराब रहेको दुई देशबीचको सम्बन्धमा यस निर्णयलाई नयाँ ‘टर्निङ पोइन्ट’ मानिएको छ ।
दक्षिण कोरियामा एशिया–प्रशान्त आर्थिक साझेदारी (एपेक) सम्मेलनका दौरान भएको साइडलाइन वार्तामा राष्ट्रपति सीले प्रधानमन्त्री कार्नेलाई चीन भ्रमणको निम्तो दिएका थिए । त्यसक्रममा प्रधानमन्त्री कार्नेले राष्ट्रपति सीको निमन्त्रणा स्वीकार गरेका हुन्। उनीहरूबीच शुक्रबार करिब ४० मिनेट साइडलाइन वार्ता भएको थियो ।
सन् २०१७ पछि चीनका राष्ट्रपतिसँग क्यानडाका प्रधानमन्त्रीको यो पहिलो भेट हो। सन् २०१८ दुई देशबीच कुटनीतिक सम्बन्ध बिग्रिएको थियो र सन् २०२४ मा व्यापार विवादले यो सम्बन्ध थप खराब छ । यद्यपि, पछिल्लो समय अमेरिकासाग पनि क्यानडाको व्यापार सम्बन्ध बिग्रिएको छ । कार्नेले आफ्नो देशले अन्य ठूलो अर्थतन्त्रसँगको सम्बन्धलाई पनि मजबुद बनाउने बताइसकेका छन् ।
उनले एक दशकभित्र क्यानडाबाट अमेरिकाबाहेकका मुलुकमा निर्यात दोब्बर बनाउने इच्छा व्यक्त गरिरहेका छन् । क्यानडाको सामाग्रीमाथि डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाउने निर्णय गरेसँगै उनले यस्तो योजना बताएका हुन् ।
शुक्रबार सीसँगको भेटपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै कार्नेले चीन र क्यानडाबीचको सम्बन्धमा ‘नयाँ टर्निङ पोइन्ट’ आउने विश्वास व्यक्त गरेका थिए । ‘दूरी बनाएर समस्या समाधान हुँदैन । यो हाम्रा मानिसहरुको हित हुने बाटो हो,’ उनले भनेका थिए ।
सीले क्यानडासँग मिलेर आपसी हितमा काम गर्ने इच्छा व्यक्त गरेका थिए । क्यानडाले अक्टोबर २०२४ मा चिनियाँ विद्युतीय सवारीमाथि १ सय प्रतिशत भन्न्सार शुल्क लगाउने निर्णय गरेपछि यी दुई देशबीच व्यापार विवाद बढेको थियो । अर्को महिना क्यानडाले चीनको स्टिल र आल्मुनियममा २५ प्रतिशत भन्सार शुल्क लगाएको थियो ।
जवाफस्वरुप गत मार्चमा चीनले क्यानडाका कृषि उत्पादनमा पनि भन्सार शुल्क बढाएको थियो । क्यानडाबाट आउने तेरीको बिउमाथि ७६ प्रतिशत र तोरीको तेलमाथि १ सय प्रतिशत लेभी लगाएको थियो । यसले क्यानडाका पश्चिमी क्षेत्रका कृषक समस्यामा परेका छन् । क्यानडामा उत्पादन हुने तोरीको बिउको सबैभन्दा ठूलो खरिद कर्ता नै चीन हो ।
पछिल्लो समय अमेरिका र क्यानडाबीचको सम्बन्ध पनि राम्रो छैन । अमेरिकाले स्वतन्त्र व्यापार सम्झौतामा उल्लेख नभएका क्यानडेली सामाग्रीमाथि ३५ प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेको छ । त्यस्तै स्टिल र आल्मुनियिममाथि ५० प्रतिशत र अटोमोबाइलमा २५ प्रतिशत भन्सार लगाइरहेको छ ।
क्यानडाले दुई मोर्चामा व्यापार युद्ध लड्न नसक्ने भन्दै चीनसँग सम्बन्ध सुधार्नुपर्ने मत देशभित्र बढ्दो छ ।
