गिजाको पिरामिडदेखि केही माइल्स पर रहेको यस संग्रहालयले ४ लाख ७० हजार स्क्वायर मिटर क्षेत्र ओगट्छ । सन् १९९२ मै यसको निर्माण गर्ने घोषणा गरिएको थियो । तर, सन् २००५ मा मात्रै काम सुरु भयो ।
काठमाडौँ — झन्डै एक खर्ब अमेरिकी डलर खर्चेर तयार गरिएको इजिप्टको राजधानी कायरोस्थित संग्रहालय इजिप्टको सभ्यता झल्काउने संग्रहालय शनिबारदेखि खुला भएको छ । कुनै एक सभ्यताको झल्को दिनेगरी तयार गरिएको यो विश्वकै ठूलो संग्रहालय हो ।
पटक–पटकको ढिलाइका कारण यसको निर्माण पूरा हुन झन्डै २ दशक लागेको थियो । गिजाको पिरामिडदेखि केही माइल्स पर रहेको यस संग्रहालयले ४ लाख ७० हजार स्क्वायर मिटर क्षेत्र ओगट्छ । सन् १९९२ मै यसको निर्माण गर्ने घोषणा गरिएको थियो । तर, सन् २००५ मा मात्रै काम सुरु भयो । संग्रहालयका केही क्षेत्रहरु सन् २०२४ देखि नै खुला भइसकेका छन् । त्यसबेला खुलेका १२ प्रमुख ग्यालरीमा प्राग–ऐतिहासिक कालदेखि रोमन कालसम्मका प्राचीन बहुमुल्य सामाग्री प्रदर्शनमा राखिएका छन् ।
यस संग्रहालयमा ५० हजारभन्दा धेरै सामाग्री प्रदर्शनमा छन् । रामेसेस दोस्रोको ३ हजार २ सय वर्ष पुरानो ८३ टनको शालिक र ४५ हजार वर्ष पुरानो खुफुसँग सम्बन्धित डुंगा पनि यहाँ प्रदर्शनमा राखिनेछ । संग्रहालयमा २४ हजार स्क्वायर मिटर लामो स्थायी प्रदर्शनी क्षेत्र, बाल संग्रहालय, सम्मेलन हल, शैक्षिक पूर्वाधार, व्यापारिक क्षेत्र र ठूलो संरक्षण केन्द्र पनि समावेश छन् ।
मेसापोटामिया, प्राचिन इजिप्ट, सिन्धु घाँटी र प्राचिन चिनियाँ सभ्यता विश्वका पुराना चार सभ्यता मानिन्छन् । नाइल नदीसँग जोडिएको इजिप्टको सभ्यता ५ हजार वर्षभन्दा पुरानो मानिन्छ । आज पनि इजिप्टका ऐतिहासिक क्षेत्रहरुमा प्राचीन राजाका शालिक तथा समाधीस्थल, पिरामिड र शिलालेख (हाइरिगिल्फ) भेटिन्छन् ।
