६ वर्षपछि भेट्दै ट्रम्प–सी: व्यापार युद्धमा अस्थायी विरामको अपेक्षा

अमेरिका–चीनबीच जारी व्यापार युद्धका कारण वैश्विक उत्पादन र वितरण चक्र प्रभावित भएर विश्वका साना–ठूला सबै अर्थतन्त्र मर्कामा छन्, ट्रम्प र सीबीच बिहीबार दक्षिण कोरियामा हुन लागेको भेटवार्ताले व्यापार तनाव मत्थर हुने अपेक्षा गरिएको छ

कार्तिक १३, २०८२

अन्वेषण अधिकारी

Trump-Xi meeting after 6 years: Expectation of temporary pause in trade war

What you should know

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच ६ वर्षपछि दक्षिण कोरियामा भेटवार्ता हुने भएको छ । दुई नेताबीच सन् २०१९ यता भेट भएको छैन । एसिया–प्रशान्त आर्थिक साझेदारी (एपेक) सीईओ सम्मेलनमा सहभागी हुन आएका दुई नेताबीच बिहीबार वुसानमा भेटवार्ता हुन लागेको हो । ‘सीप्रति मेरो ठूलो सम्मान छ,’ ट्रम्पले केही दिनअघि मात्रै भनेका थिए, ‘उनले मलाई निकै मन पराउँछन् र सम्मान गर्छन् भन्ने मेरो विश्वास छ ।’ 

२०१९ ताका दुई नेताबीच भेट हुँदा ट्रम्प राष्ट्रपतिको पहिलो कार्यकालको अन्त्यतिर थिए । उनले पहिलो कार्यकालको सुरुवातदेखि नै चीनसँग व्यापार युद्ध थालेका थिए । २०२० मा अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी भएपछि मात्र दुई देशबीचको व्यापार युद्ध केही मत्थर भएजस्तो देखिएको थियो ।

तर, ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित भएर आएयता यो विषय थप पेचिलो बनेको छ । अमेरिका र चीनबीचको अहिले देखिएको व्यापार युद्धका कारण वैश्विक उत्पादन र वितरण चक्र प्रभावित भएर विश्वका साना–ठूला सबै अर्थतन्त्र मर्कामा छन् । दुई नेताबीच हुन लागेको भेटवार्तामा यो समस्यामा छलफल हुने र समाधानका उपाय खोजिने अपेक्षा छ । बुधबार ट्रम्पले भनेका छन्, ‘मेरो विचारमा चीनका राष्ट्रपति सीसँगको भेट राम्रो हुनेछ । धेरै समस्या समाधान हुनेछन् ।’

ट्रम्पले सीसँगको भेटमा ‘रेयर अर्थ’ अर्थात् पृथ्वीमा रहेका दुर्लभ खनिज तत्त्वको निर्यातलाई खुकुलो बनाउनुपर्ने एजेन्डा मुख्य रूपमा उठाउनेछन् । उनले लागूपदार्थ नियन्त्रण गर्न पनि चिनियाँ पक्षबाट सहयोगको आस गरेका छन् । त्यसैगरी, सीले चिनियाँ सामग्रीमाथि अमेरिकामा लगाइएको चर्को भन्सार शुल्क कटौती तथा अमेरिकाबाट अत्याधुनिक सेमिकन्डक्टर चिपको सर्वसुलभ निर्यात हुनुपर्ने माग राख्नेछन् ।

पृथ्वीमा रहेका १७ वटा रसायनिक तत्त्वहरूको समूहलाई दुर्लभ खनिज तत्त्व भन्ने गरिएको छ । स्मार्टफोन, इलेक्ट्रिक उपकरण, गाडीका पार्टपुर्जा, पानीजहाज तथा फाइटर जेटजस्ता सैन्य सामग्री निर्माणमा यसको उपयोग हुन्छ । ब्याट्री, मदरबोर्ड, स्क्रिन, स्पिकर, मोटर्सलगायत पार्टपुर्जाहरू बनाउन पनि यसको प्रयोग हुन्छ । 

इन्टरनेसनल इनर्जी एजेन्सीको रिपोर्टअनुसार विश्वको कुल दुर्लभ खनिज तत्त्वको ६० प्रतिशत खानी चीनमा रहेको अनुमान छ । उपकरणहरूमा प्रयोग गर्न मिल्ने (प्रशोधित दुर्लभ धातु) मध्ये ९० प्रतिशतभन्दा धेरै चीनमा प्रशोधन हुन्छ । गत अप्रिलयता, बेइजिङले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै ७ वटा दुर्लभ खनिज तत्त्व र त्यससँग सम्बन्धित प्रविधिको आपूर्तिमा कडाइ गरेको छ । यसलाई विश्वका दुई महाशक्ति देशबीचको व्यापार युद्धको नयाँ शृंखलाका रूपमा हेरिएको छ । 

यूएस जियोलोजिकल रिपोर्टअनुसार सन् २०२० देखि २०२३ सम्म अमेरिकामा झन्डै ७० प्रतिशत दुर्लभ खनिज तत्त्व र धातु चीनबाट निर्यात हुने गरेको थियो । दुर्लभ धातुमा चीनसँग अमेरिका यति धेरै निर्भर रहेको विषय सार्वजनिक बहस बनेको धेरै भएको पनि छैन । यो विषय बहसमा आएसँगै ट्रम्प प्रशासनको क्षमता र व्यापार नीतिमाथि प्रश्न गर्नेको संख्या बढ्दो छ ।

यस वर्षको जनवरीमै ट्रम्प प्रशासनले अत्याधुनिक सेमिकन्डक्टर चिप निर्यातमा कडाइ गर्ने निर्णय गरेको थियो । यो निर्णय केही निश्चित चिनियाँ कम्पनीहरूलाई लक्ष्य गरेर लिइएको थियो । त्यसको बदला चीनले अप्रिलमा दुर्लभ खनिज तत्त्व निर्यातमा कडाइ गरेर लियो । जसले अमेरिका तथा पश्चिमा देशहरूमा इलेक्ट्रोनिक गाडी, दैनिक उपभोग्य उपकरण तथा स्मार्टफोन उत्पादनमा चुनौती थपिएको छ । 

पछिल्लो तनावलाई घटाउने विषयमा मलेसियाको क्वालालम्पुरमा केही दिनअघि अमेरिका–चीनका प्रतिनिधिबीच वार्ता भयो । वार्तामा चीनको सर्त थियो, दुर्लभ खनिजमाथिको कडाइ खुकुलो हुनुअघि अत्याधुनिक सेमिकन्डक्टर चिपको निर्यात सहज हुनुपर्छ । अमेरिकाले चीनलाई सेमिकन्डक्टर चिप निर्यातमा कडाइ गर्नुको कारण व्यापारिक थिएन । अत्याधुनिक एआई रिसर्चमा चीनलाई अप्ठेरो पार्ने उसको लक्ष्य थियो र बाइडेन प्रशासनकै समय अक्टोबर २०२२ बाटै यो काम थालिएको थियो । यहीकारण, सेमिकन्डक्टर चिप निर्यात खुकुलो गर्दा चीनको प्राविधिक विकासमा अवरोध उत्पन्न गराउने अमेरिकाको रणनीति सफल हुनेछैन । त्यहीकारण यसलाई उदाउँदो शक्ति राष्ट्र र विद्यमान महाशक्तिबीचको रणनीतिक टकरावका रूपमा पनि हेरिएको छ । 

‘द अफिम वार ः ड्रग्स, ड्रिम्स एन्ड द मेकिङ अफ मोडर्न चाइना’की लेखक जुलिया लोभेलले न्युयोर्क टाइम्सका एन्ड्रियु हिगिन्ससँग भनेकी छन्, ‘राष्ट्रपति ट्रम्पले आधुनिक अन्तर्राष्ट्रिय अर्डरको विजेताका रूपमा चीनलाई हेरेका छन् । तर, सी चिनफिङ चीनलाई पीडितका रूपमा हेर्छन् । यी परस्पर विरोधी विचारले पनि यस्ता संवादमा गहिरो अस्थिरता निम्त्याउन सक्छन् ।’

ट्रम्पले मंगलबार जापानका प्रधानमन्त्री सानाई ताकाइचीसँग दुर्लभ धातु र अन्य खनिज उत्खनन र प्रशोधन मिलेर गर्ने सम्झौता गरेका छन् । दुवै देशले आवश्यक खनिज प्रशोधन भण्डारण मिलेर गर्ने र आपसी लाभमा प्रयोग गर्ने ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

विश्वका ठूला अर्थतन्त्रमध्ये जापान एकमात्रै त्यस्तो देश हो, जसले चीनमाथिको आफ्नो दुर्लभ धातुको निर्भरतालाई लगातार कम गरिरहेको छ । जापानको यो मोडल अमेरिकामा पनि धेरैले पछ्याउन चाहन्छन् । 

सन् २०१० मा चिनियाँ माछापालक कम्पनीको डुंगा र जापानी तटरक्षक दस्ताको डुंगा पूर्वी चीन सागरमा ठोक्किएपछि यी दुई देशबीच तनाव सुरु भएको थियो । चीनले दुर्लभ धातु निर्यात बन्द गर्न सक्ने चिन्ताले त्यसबेला जापानलाई निकै सतायो, यसको असर जापानको उद्योग र विशेषगरी कार निर्माताहरूलाई चर्कै पर्नेवाला थियो । त्यसयता, जापानले सतर्कतापूर्वक चीनसँगको दुर्लभ धातुको निर्भरतालाई कम गर्दै लगेको छ । जापानको चीनप्रतिको निर्भरता ९० प्रतिशतबाट घटेर अहिले ६० प्रतिशतमा छ । 

चीनले पनि अमेरिकासँगको आफ्नो व्यापार निर्भरतालाई कम गर्दै छ । मंगलबारमात्रै उसले दक्षिणपूर्वी एसियाली देशहरूको गठबन्धन (एसियन ब्लक) सँग आफ्नो स्वतन्त्र व्यापार सम्झौतालाई अपग्रेड गर्ने गरी सम्झौता गरेको छ । यी देशको गठबन्धन चीनको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । चीन–एसियन ब्लकको दुई पक्षीय व्यापार गत वर्ष ७७१ बिलियन अमेरिकी डलर पुगेको थियो । जबकि, यही समय अमेरिका–चीनबीचको व्यापार ६५९ बिलियन डलर थियो । 

व्यापार युद्धले दुई महाशक्ति र बाँकी विश्वलाई ठूलो क्षति पुर्‍याए पनि यी दुवै नेता आफूलाई गलत देख्दैनन् । दुर्लभ खनिज तत्त्वमा चीनले गरेको कडाइ खुकुलो नभए १ नोभेम्बरदेखि लागू हुने गरी चिनियाँ सामग्रीमा १ सय प्रतिशत कर लगाउने चेतावनी ट्रम्पले दिएका थिए । यद्यपि, यसै सप्ताहान्तमा मलेसियामा दुवै देशका प्रतिनिधिबीच भएको भेटपछि अवस्था केही मत्थर देखिएको छ । ट्रम्प–सी भेटले यो तनावपूर्ण वातावरणलाई तत्कालका लागि सल्ट्याउन भूमिका खेल्ने अनुमान छ । 

तर, बेइजिङ र वासिङ्टनले व्यापार युद्ध सुरु भएदेखि एकअर्काविरुद्ध लगाएको उच्च भन्सार शुल्कबारे के हुन्छ भन्ने अझै प्रस्ट छैन । २५ सेप्टेम्बरसम्म अमेरिकाबाट भित्रने सामग्रीमा चीनले औसतमा ३२.६ प्रतिशत भन्सार शुल्क लगाएको थियो । त्यस्तै, चीनबाट आउने सामग्रीमा अमेरिकाले औसत ५७.६ प्रतिशत भन्सार लगाएको छ । जबकि, अप्रिलमा दुवै पक्षबाट यस्तो शुल्क सबैभन्दा उच्च १ सय ३० प्रतिशतभन्दा माथि थियो ।

‘दुवै नेतालाई लाग्छ कि व्यापार युद्धमा उनीहरूको हात माथि छ,’ अमेरिकास्थित जर्मन मार्सल फन्डअन्तर्गत इन्डो–प्यासेफिक प्रोग्रामका म्यानेजिङ डाइरेक्टर बोनी ग्लासरले भनिन्, ‘दुवै पक्ष चर्को भन्सार लगाउन चाहन्छन् । तर त्यसबापत अर्को देशले लगाउने जवाफी भन्सार शुल्कबाट बच्न चाहन्छन् ।’ मंगलबार चीनका विदेशमन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग टेलिफोनमा कुराकानी गरेका थिए । वाङले अमेरिका–चीन व्यापार सम्बन्धमा समस्या आएको स्विकार्दै समानता, सम्मान र आपसी लाभको भावनाअनुसार दुवै पक्ष अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

विश्लेषकहरू ट्रम्प र सीबीचको भेटवार्ता स्थायी समाधान पहिल्याउनेभन्दा पनि तत्कालका लागि व्यापार युद्ध रोक्ने दिशामा केन्द्रित रहने बताउँछन् । अमेरिका–चीन मामिलाका जानकार केन्नडी स्कुल अफ गभर्मेन्ट अफ हार्वर्ड युनिभर्सिटीका रिसर्च फेलो डा. जियन्ली याङले द डिप्लोमेटमा लेखेका छन्, ‘यो भेटवार्ता बृहद् सहमतिका लागि कम र तत्काल व्यापारमा देखिएको अवरोध हटाउन ज्यादा केन्द्रित हुनेछ ।’

त्यसैगरी सिकागो काउन्सिल अन ग्लोबल एफियर्सका विदेश नीति निर्देशक क्रेइग काफुरा लेख्छन्, ‘यहाँ कुनै सहमति अनुमोदन भइहाले त्यसले अमेरिका–चीनबीचको आर्थिक द्वन्द्वलाई तत्काल विरामसम्म लगाउनेछ । दुई देशबीचको सम्बन्धमा टर्निङ प्वाइन्ट हुनेछैन ।’

ट्रम्प दक्षिण कोरियाको उच्च सम्मान ‘ग्रान्ड अर्डर अफ मुग्न्गह्वा’ पाउने पहिलो अमेरिकी नेता बनेका छन् । कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि गरेको पहलका लागि उनलाई यो सम्मान दिइएको हो । ‘म यो तत्कालै पहिरिन चाहन्छु,’ दक्षिण कोरियाली राष्ट्रपति ली जेई मायुङले पदक प्रदान गर्नासाथ ट्रम्पले भने । दक्षिण कोरियाको जियोन्ज्यु सहरमा आयोजित एपीईसी सीईओ सम्मेलनमा भाग लिन आएका बेला ट्रम्पलाई यो सम्मान प्रदान गरिएको हो । 

दक्षिण कोरियाका राष्ट्रपति लीले उत्तर कोरियासँगको विवादलाई समाधान गर्न ट्रम्पले खेलेको भूमिकाको कदर गरे । उनले पुनः यस्तै भूमिका खेल्न ट्रम्पसँग आग्रह पनि गरे । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा कोरियाली प्रायद्वीपमा शान्ति कायम गर्ने पहलस्वरूप उत्तर कोरियाका नेता किम जोङ उनसँग धेरै पटक वार्ता र छलफल गरेका थिए । 

अमेरिकी एजेन्डा 

चिनियाँ एजेन्डा

अन्वेषण

Link copied successfully