गाजामा इजरायलको हवाई हमला, ३३ प्यालेस्टिनी मारिए

गाजा सहरको साब्रा क्षेत्रमा भएको बम विस्फोटबाट महिलासहित चार जनाको ज्यान गएको छ, पछिल्लो हिंसाले नागरिक जीवन झनै संकटमा परेको छ।

कार्तिक १२, २०८२

एजेन्सी

Israeli airstrikes in Gaza kill 33 Palestinians

What you should know

काठमाडौँ — इजरायलले गाजामा फेरि हवाई आक्रमण गरेको छ । जसमा ३३ जना प्यालेस्टिनी मारिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इजरायलले गाजा सहरसँगै बेइत ला र खान युनिससहितका अन्य केही सहरका घर, विद्यालय र आवासीय भवनमा हवाई आक्रमण गरेको हो ।

गाजास्थित अस्पतालका अनुसार मृतकमध्ये महिला र बालबालिका पनि छन् । गाजा सहरको साब्रा क्षेत्रमा एक घरमा बम विस्फोट हुँदा तीन महिलासहित चार जनाको मृत्यु भएको छ ।

इजरायली रक्षामन्त्री इजरायल काट्जले गाजामा हमासले इजरायली सैनिकमाथि आक्रमण गरेको र मृत बन्धकहरूको शव फिर्ता गर्ने सम्झौताको उल्लंघन गरेको आरोप लगाएका छन् । अर्कोतर्फ, हमासले ती सबै आरोप अस्वीकार गरेको छ । संगठनले कुनै पनि आक्रमणसँग आफ्नो सम्बन्ध नभएको र युद्धविरामप्रति प्रतिबद्ध रहेको दाबी गरेको छ ।

तर, इजरायली रक्षामन्त्री काट्जले हमासले ‘रेडलाइन’ पार गरेको र अब त्यसको भारी मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमासविरुद्ध सैन्य कारबाहीको आदेश दिएका छन् । नेतान्याहूले युद्धविराम सम्झौताअन्तर्गत हमासले गलत शव फिर्ता गरेको आरोप पनि लगाएका छन् ।

२० दिनअघि इजरायल र हमासबीच युद्धविराम सम्झौता भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बर २९ मा नेतान्याहूको उपस्थितिमा २० बुँदे शान्ति योजना प्रस्तुत गरेका थिए, जसमा हमासले अक्टोबर ९ मा सहमति जनाएको थियो ।

७ अक्टोबर २०२३ देखि सुरु भएको यो तनावका कारण गाजामा मात्रै ६७ हजारभन्दा बढी मानिस मारिएका छन् ।

एजेन्सी

Link copied successfully