'ह्युरिकेन मेलिसा' यस वर्ष संसारभर आएकामध्ये सबैभन्दा शक्तिशाली आँधी हो ।
What you should know
काठमाडौँ — यस वर्षको सबैभन्दा शक्तिशाली समुद्री आँधी 'ह्युरिकेन मेलिसा' क्यारिबियन क्षेत्रमा विनाशकारी रूप लिएर जमैका र क्युबातर्फ बढिरहेको छ । अमेरिकी मौसम विज्ञहरूले 'विनाशकारी' अवस्थाको चेतावनी दिएको बीबीसीले जनाएको छ ।
यो आँधी अधिकतम १७५ माइल प्रतिघण्टा (२८२ किलोमिटर प्रतिघण्टा)को तीव्र हावाको गतिसहित श्रेणी-५ (क्याटागोरी ५)मा पुगेको छ । यो समुद्री आँधीको अधिकतम शक्ति हो । मौसमविद्का अनुसार 'ह्युरिकेन मेलिसा' जमैकाको इतिहासमै अहिलेसम्मकै सबैभन्दा शक्तिशाली आँधी बन्न सक्ने अनुमान छ । अन्तर्राष्ट्रिय सञ्चार एजेन्सी रोयटर्सले यो आँधीलाई 'विपत्तिजनक अवस्था' ल्याउने जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम गार्डियनका अनुसार शनिबारदेखि आँधी सुरु भएको हो । जुन आइतबार बिहानै 'क्याटागोरी ४' को आँधीमा परिणत भयो । आँधीको हावा एक दिनमै ७० माइल प्रतिघण्टाबाट १४० माइल प्रतिघण्टाको गतिमा बढ्यो, जुन एट्लान्टिक महासागरमा अहिलेसम्मकै सबैभन्दा तीव्र मध्ये एक हो ।
'ह्युरिकेन मेलिसा' निकै सुस्त गतिमा (लगभग २ माइल प्रतिघण्टा) चलिरहेको छ । आँधीको यो गतिले गर्दा लामो समयसम्म एकै ठाउँमा भीषण वर्षा हुने र त्यसले ठूलो क्षति पुर्याउने जोखिम बढेको छ । मौसमविद्हरूलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले जमैकाका केही भागमा आगामी चार दिनभित्र ४० इन्च (१ मिटर) सम्म वर्षा हुने लेखेको छ । यसले गर्दा विनाशकारी बाढी, पहिरो र ४ मिटर (१३ फिट) सम्मको समुद्री छाल आउने खतरा छ ।
जमैका उच्च जोखिममा
भीषण आँधी र वर्षाको प्रभावले क्यारिबियन क्षेत्रमा हालसम्म ७ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम इन्डिपेन्डेन्टले जनाएको छ । जसमध्ये जमैका ३ जना, हाइटी ३ जना र डोमिनिकन रिपब्लिकका १ जना छन् । आँधीको केन्द्र भाग मंगलबार दिनभर जमैकाको दक्षिणी तटीय क्षेत्र माथि वा नजिकबाट जाने अपेक्षा गरिएको छ । जमैकाको सम्पूर्ण टापुलाई 'खतराग्रस्त' घोषणा गरिएको छ ।
जमैकाका प्रधानमन्त्री एन्ड्र्यू होलनेसले देशका जोखिमयुक्त समुदायहरूलाई तत्काल सुरक्षित स्थानमा जान निर्देशन दिएका छन् । राजधानी किङ्सटनको तल्लो भेग र तटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित आश्रयस्थलमा जान भनिएको छ ।
प्रधानमन्त्री होलनेसले जमैकाको कुनै पनि पूर्वाधारले क्याटागोरी-५ को आँधी थेग्न नसक्ने चेतावनी दिएका छन् । उनले विदेशी सहयोगका लागि पनि आह्वान गरेका छन् । जमैका सरकारले टापुभरिका ८८१ वटा आश्रय स्थलहरू (सेल्टर) तोकिएको छ । तीव्र हावाले पुल, सडक, बन्दरगाह, विमानस्थल र सञ्चारका तारहरूमा क्षति पुर्याएर समुदायहरूलाई हप्तौंसम्म प्रभाव पार्न सक्ने मौसमविदको अनुमान छ ।
जमैकासँगै क्युबा, हाइटी र बहामास पनि मेलिसाको खतराको मार्गमा छन् । क्युबाली अधिकारीहरूले आँधीको बाटोमा पर्ने तटीय र पहाडी क्षेत्रका ५ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेका छन् । हाइटी र डोमिनिकन रिपब्लिकमा भीषण वर्षा जारी छ । जसले गर्दा हजारौं मानिस अस्थायी आश्रयस्थलमा सरेका छन् ।
वैज्ञानिकहरूले 'ह्युरिकेन मेलिसा'को शक्ति र छोटो समयमै तीव्र रूपमा शक्तिशाली बन्ने प्रक्रियालाई जलवायु परिवर्तनसँग जोडेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार अहिले एट्लान्टिक महासागरको त्यो भाग सामान्यभन्दा २ देखि ३ डिग्री सेल्सियस बढी तातो छ । समुद्रको गहिरो तहसम्म असामान्य रूपमा तातो पानी हुनुले आँधीलाई विशाल ऊर्जाको भण्डार उपलब्ध गराएको छ ।
वैज्ञानिकहरूका अनुसार, जीवाश्म इन्धन दहनजस्ता मानवीय गतिविधिहरूबाट हुने जलवायु परिवर्तनले गर्दा यस्ता घातक समुद्री आँधीहरू छिटो, छोटो समयमा र धेरै खतरनाक रूपमा विकसित हुने सम्भावना धेरै गुणा बढेको छ । 'ह्युरिकेन मेलिसा' यस वर्ष संसारभर आएकामध्ये सबैभन्दा शक्तिशाली आँधी हो ।
