युरोपेली संघ (इयु)ले रुसबाट इन्धन आयात बन्द गर्ने निर्णय गरेको केही दिनमै अमेरिकाले पनि दुई ठुला रुसी तेल कम्पनीमाथी प्रतिबन्धको निर्णय गरेको छ ।
What you should know
काठमाडौँ — अमेरिकाले रुसका दुई ठूला तेल कम्पनीहरुबाट इन्धन नकिन्ने घोषणा गरेको छ ।
रुस-युक्रेन युद्धविरामको पहल गरिरहेका अमेरिकी राष्ट्रपतिले ट्रम्पले वार्तामा उल्लेख्य प्रगती नभइरहेको पृष्ठभूमीमा रुसी तेल कम्पनीमाथी प्रतिबन्धको घोषणा गरेका हुन् ।
यसअघि नै युरोपेली संघ (इयु)ले रुसबाट इन्धन आयात बन्द गर्ने निर्णय गरिसकेको छ । २०२८ को जनवरी १ देखि इयुले रूसबाट हुने सबै खाले इन्धन आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ । रूस-युक्रेन युद्ध सुरु भएयता रूसले ग्यास आपूर्तिलाई हतियारको रूपमा प्रयोग गरेको अनि आपूर्तिमा बारम्बार अवरोध आएपछि इयुले यो कदम चालेको हो ।
सीएनएनका अनुसार ओभल अफिसमा ट्रम्पले वार्ताका लागि रुसलाइ आफुहरुले धेरै समय पर्खेको बताउँदै प्रतिवन्ध लगाउने समय आएको बताएका थिए । ट्रम्पलाइ उदृत गर्दै सीएनएनले लेखेको छ, 'यस्ता प्रतिबन्धहरु लामो समय रहनेछैनन् । किनकी युद्ध अन्त्य हुनेछ ।'
अमेरिकी उच्च अधिकारीहरुले क्रेमलिनको युद्ध संयन्त्रका निम्ती यि दुई ठुला तेल कम्पनीहरुले आर्थिक सहायता गरिरहेको बताउँदै प्रतिबन्धले रुसी सरकारलाइ अप्ठ्यारो पर्ने विश्वास राखेका छन् । अमेरिकी प्रतिबन्धले रोसनेफ्ट र लुकोइलसहित तिनका झण्डै तीन दर्जन सहायक कम्पनीहरूमा सोझो असर पर्नेछ ।
गत बिहीबार ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता भएको थियो । उक्त वार्तापछि दुई राष्ट्रपतिबीच हंगेरीको राजधानी बुडापेस्टमा भेट्ने खबर सार्वजनिक भएपनि दुइ समकक्षीबिचको भेटवार्ताको समय टुंगो लागेको थिएन् । अन्तराष्ट्रिय संचारमाध्यमकहरुले ह्वाइट हाउस र क्रेमलिनका उच्च अधिकारीहरुलाइ उदृत गर्दै भेटवार्ता छिट्टै हुने सम्भावना नरहेको उल्लेख गरेका छन् ।
सन् २०२२ देखि जारी रुस–युक्रेन युद्धविरामको निकासा खोज्दै भेटवार्ताको प्रयास भएको थियो । यसअघि पनि अमेरिकाको अलास्कामा दुई राष्ट्रपतिबीच भेटवार्ता भएको थियो । त्यतिबेला युद्धविरामबारे कुनै ठोस निर्णय हुन सकेको थिएन् ।
