बाह्रै महिना हिउँले ढाकिने आइसल्यान्ड लामखुट्टे नपाइने देशका रूपमा परिचित थियो । तर हालै भने आइसल्यान्डमा पहिलो पटक लामखुट्टे देखिएको छ ।
काठमाडौँ — लामखुट्टे नपाइने विश्वकै एक मात्र देश कुन हो ? प्राय: सामान्य ज्ञानमा सोधिने प्रश्न हो यो ? बाह्रै महिना हिउँले ढाकिने देश लामखुट्टे नपाइने देशका रूपमा परिचित थियो । तर हालै भने आइसल्यान्डमा पहिलो पटक लामखुट्टे देखिएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार कीराप्रेमी ब्योर्न ह्याल्टेसनले गत हप्ताको केही रातहरूमा पुतली हेर्ने क्रममा वाइनमा भिजाइएका डोरीहरू प्रयोग गर्दा लामखुट्टे भेटेका थिए । ह्याल्टेसनले भेटेका लामखुट्टेमा दुई पोथी थिए भने एउटा भाले थियो ।
ती लामखुट्टे 'कुलिसेटा एन्नुलाटा' प्रजातिको भएको बीबीसीले जनाएको छ । यो प्रजाति जाडो याममा पनि बाँच्न सक्दछ । यो खोजभन्दा अगाडि आइसल्यान्डमा लामखुट्टे भेटिएको रेकर्ड थिएन ।
त्यस्तै अन्टार्कटिकामा पनि लामखुट्टे पाइँदैन । आइसल्यान्डको राजधानी रेक्जाभिकको दक्षिण–पश्चिमतर्फ अवस्थित हिमनदी उपत्यका क्योस क्षेत्रमा लामखुट्टे भेटिएको हो । ह्याल्टेसनले लामखुट्टे भेटिएको खबर तस्बिरसहित फेसबकु पेजमा सेयर गरेका थिए ।
