एउटै कोठामा सँगै बस्ने साथीको हत्या अभियोगमा ४३ वर्ष जेल जीवन बिताएका भारतीय मूलका सुब्रमण्यम वेदम ‘सुबु’लाई अमेरिकी अदालतले निर्दोष ठहर गरेको हो । तर निर्दोष ठहर भएको एक दिनपछि उनी पुनः पक्राउ परेका छन् ।
What you should know
अमेरिका — एउटै कोठामा सँगै बस्ने साथीको हत्या अभियोगमा ४३ वर्ष जेल जीवन बिताएका भारतीय मूलका सुब्रमण्यम् वेदम ‘सुबु’लाई अमेरिकी अदालतले निर्दोष ठहर गरेको छ ।
सन् १९८० मा अमेरिकाको पेन्सिलभेनिया राज्यको रुलर सेन्टर काउन्टीको एउटै कक्षामा अध्ययन गर्ने र सँगै कोठामा बस्ने साथी १९ वर्षीय थोमस किन्सरको हत्या आरोपमा वेदम पक्राउ परेका थिए । थोमसको शव नौ महिनापछि जंगलमा गोलीको दागसहित भेटिएको थियो ।
साथी थोमसको हत्या आरोपमा पक्राउपछि वेदमले आफू निर्दोष रहेको दाबी गर्दै सन् १९८३ मा मुद्दा दर्ता गरेका थिए । पहिलो मुद्दाको सुनुवाइमा सन् १९८३ मा आजीवन काराबासको सजाय सुनाएपछि दोस्रो पटक सन् १९८८ मा आफू निर्दोष रहेको दाबी गर्दै माथिल्लो अदालतमा उपस्थित भए पनि उनलाई दोस्रो पटक पनि दोषी ठहर गरिएको थियो । वेदमलाई अदालतले १९८३ र १९८८ मा दुई पटकसम्म दोषी ठहर गरेपछि उनले १९८३ देखि २०२५ सम्म निरन्तर ४३ वर्ष जेल जीवन बिताएका हुन् ।
अनुसन्धान जारी रहेको अवस्थामा २०२२ मा पेन्सिलभेनिया इनोसेन्स पोजेक्टले हत्याबारे नयाँ तथ्य फेला पारेपछि २०२५ को अगस्तमा दोषी ठहर गर्ने प्रमाणहरू फेला नपरेको अवस्थामा वेदमको अधिकार उल्लंघन भइरहेकाले उनलाई सुनुवाइमा सामेल गराउने निर्णय भएपछि सेप्टेम्बरमा उनको मुद्दामा थप अनुसन्धान अघि बढेको थियो । वेदमको मुद्दाको अन्तिम सुनुवाइमा उनलाई ४३ वर्षपछि अक्टोबर २ मा निर्दोष ठहर गरेसँगै उनी जेलमुक्त भए ।
हत्या अभियोगमा ४३ वर्ष जेल बसेर निर्दोष ठहर भएको एक दिनपछि वेदम पुनः पक्राउ परे । अक्टोबर ३ मा उनलाई यूएस इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस)ले पक्राउ गरेको हो । हत्या अभियोगको मुद्दाका क्रममा उनको ग्रिन कार्ड (स्थायी बसोबास प्रमाणपत्र) जफत गरिएकाले उनलाई आइसले गैरकानुनी आप्रवासीको रूपमा पक्राउ गरेको हो । आइसले पक्राउपछि उनलाई भारत डिपोर्ट गर्ने प्रक्रिया अघि बढाएको छ ।
वेदमकी दिदी सरस्वतीका अनुसार ४३ वर्षपछि निर्दोष ठहर भए पनि पक्राउ गरेर भारत डिपोर्ट गर्नु अर्को अन्यायपूर्ण व्यवहार भएको भन्दै पुनः मुद्दा खेप्न परिवार तयार भएको बताएकी छिन् । उनले सुबु शिशु उमेरमै अमेरिका आएकाले भारतसँग उनको कुनै सम्बन्ध सम्पर्क नरहेको र उनको जीवनशैली नमिल्ने भन्दै डिपोर्टेसन आदेशविरुद्ध लड्ने दाबी गरिन् ।
