हमास आफ्नै नागरिकमाथि गोली वर्षाउँदै, हत्या नरोकिए घुसेर मार्ने ट्रम्पको चेतावनी

उनले भनेका छन्, ‘गाजामा आम नागरिकको हत्या गर्न हमास जारी राख्छ भने हामीसँग अरु कुनै विकल्प बच्दैन । र हामी गाजामा घुसेर हमासका लडाकूलाई मार्न बाध्य हुनेछौं ।’

आश्विन ३१, २०८२

कान्तिपुर संवाददाता

Hamas is shooting at its own citizens, Trump warns of infiltration if killings don't stop

What you should know

काठमाडौँ — गत साता इजरायल र हमासबीच युद्धविरामको सम्झौता भएयता इजरायलले गाजामा कुनै आक्रमण गरेको छैन । बन्धक आदानप्रदानपछि गाजाको मुख्य क्षेत्रबाट इजरायली सेना पछाडी हटिसकेको छ । 

तर हमासले भने आफ्नो आक्रमण भने रोकेको छैन । यो इजरायलमाथि नभइ आफ्नै नागरिकमाथि लगातार गोली वर्षाइरहेको छ । इजरायललाई सहयोग गरेको आरोपमा हमासले सैयौं प्यालेस्टिनी नागरिकको हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम एएफपीले उल्लेख गरेको छ । 

हमासको यस्तो रबैयामाथि अमेरिकी राष्ट्रपति ट्रम्पले चेतावनी दिएका छन् । ट्रम्पले बिहीबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा एक पोस्ट लेख्दै हमासले सम्झौताभन्दा बाहिर गएर निर्दोश नागरिकको हत्या गर्न थालेको बताएका छन् । 

उनले हमास यदि आम नागरिकको हत्या गर्न जारी राख्छ भने कुनै विकल्प नरहने चेतावनी दिएका छन् । उनले भनेका छन्, ‘गाजामा आम नागरिकको हत्या गर्न हमास जारी राख्छ भने हामीसँग अरु कुनै विकल्प बच्दैन । र हामी गाजामा घुसेर हमासका लडाकूलाई मार्न बाध्य हुनेछौं ।’

गत साता मात्रै हमास र इजरायलबीच युद्धविराम भएको थियो । त्यसपछि हमासले आफूसँग भएका जिवित र मृतकहरुलाई फिर्ता गरेको थियो । यता इजरायलले पनि २ हजारको हाराहारीमा प्यालेस्टिनी कैदीलाई रिहा गरेको थियो । यसको मुख्य मियो बनेका थिए अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । 

राष्ट्रपति ट्रम्पको यो चेतावनीले यदि हमासले इजरायललाई सहयोग गरेको कथित आरोपमा आफ्नो नागरिकको हत्या गर्न रोक्दैन भने अमेरिकी सेना नै हमासविरुद्ध प्रत्यक्ष संलग्न हुने संकेत गर्दछ । ट्रम्पले चेतावनीमा सम्झौताको शर्तहरु उल्लंघन गरिएमा अमेरिका इजरायललाई नयाँ आक्रमणका लागि समर्थन गर्ने उल्लेख गरेका छन् । 

यस्तै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बिहीबार एनबीसीको पत्रकार सम्मेलनका क्रममा भने, ‘गाजाको जमिनमा सैनिक तैनाथ गर्ने कुनै योजना बनाएका छैनौं ।’ २०० सैनिकलाई युद्ध विरामका शर्तहरुको निगरानी गर्नका लागि मात्र इजरायलमा तैनाथ गरिने उनको भनाइ थियो । 

 यता बाँकी बन्धकहरुको शवको अवशेष फिर्ता गर्न नसक्ने हमासले बताएको छ । हमासले भग्नावशेष हटाउन उपकरणबिना बन्धकहरुको शव फिर्ता गर्न नसक्ने बताएको हो । हमासले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘बाँकी शवहरु खोज्नका लागि भग्नावशेष हटाउन उपकरणहरु आवश्यक छ । जुन हालसम्म त्यस्ता उपकरणहरुको प्रवेशमा इजरायलले रोक लगाएको छ ।’

कान्तिपुर

Link copied successfully