भेनेजुएलामा सीआईएलाई अप्रेशनका लागि ट्रम्पले दिए अनुमति

व्हाइट हाउसमा ट्रम्पले अमेरिका ड्रग्स तस्करी गर्ने गिरोहविरुद्ध आगामी दिनमा पनि कडा कारबाहीको योजना बनाइरहेको बताएका छन् ।

आश्विन ३०, २०८२

कान्तिपुर संवाददाता

Trump authorizes CIA operation in Venezuela

What you should know

काठमाडौँ — अमेरिकाले ड्रग्स तस्करी गर्ने गिरोहविरुद्धको कारबाही कडा बनाउने तयारी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ड्रग्स नियन्त्रण र गिरोहमाथि कारबाही चलाउन भेनेजुएलामा सीआईएलाई अनुमति दिएको बताएका छन् । 

यस निर्णयमा दक्षिण अमेरिकी देशहरुले कडा आपत्ति जनाएका छन् । हालैका सातामा अमेरिकी बलले क्यारिबियन सागरमा ड्रग्स तस्करीको आशंकामा कयौं जहाजमा पाँचपटक आक्रमण गरेको थियो । जहाँ २७ जना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । 

संयुक्त राष्ट्रसंघका मानअधिकार विशेषज्ञहरुले यो कारबाहीलाई गैरकानुनी हत्या बताएका छन् । व्हाइट हाउसमा ट्रम्पले अमेरिका ड्रग्स तस्करी गर्ने गिरोहविरुद्ध आगामी दिनमा पनि कडा कारबाहीको योजना बनाइरहेको बताएका छन् । 

यता भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले टेलिभिजनमार्फत् अमेरिकासँग शान्तिको अपील गरेका छन् । न्युयोर्क टाइम्सको एक रिपोर्ट अनुसार ट्रम्पको अनुमतिले सीआईए भेनेजुएलामा एकतर्पी या कुनै व्यापक अमेरिकी सैन्य गतिविधिका रुपमा अभियान चलाउन सक्नेछ । 

सीआईए भेनेजुएलामा कस्तो अभियानको तयारी गरिरहेको छ भन्ने अहिले कुनै प्रष्ट जानकारी दिइएको छैन । तर यो जासुसी एजेन्सीको दक्षिण अमेरिकामा लामो इतिहास रहेको छ ।

बुधबार ओभल अफिसमा एफबीआई डाइरेक्टर काश पटेल र अटोर्नी जनरल पाम बोन्डीसँगै पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले न्युयोर्क टाइम्सको रिपोर्टमा प्रश्न उठाएका थिए । 

एक पत्रकारले भेनेजुएलामा सीआईएलाई जानका लागि किन अनुमति दिइएको हो भन्ने प्रश्नमा ट्रम्पले भने, ‘मैले दुई कारणले अनुमति दिएको हुँ । पहिलो–भेनेजुएलाले आफ्ना कैदीलाई अमेरिकामा पुर्‍यायो । र अर्को कारण हो ड्रग्स । भेनेजुएलाबाट धेरै ड्रग्स आउँछ । यो अधिकांश समुद्री बाटो हुँदै आउँछ । तर हामी उनीहरुलाई अब जमिनबाट पनि रोक्न गइरहेका छौं ।’

कान्तिपुर संवाददाता

Link copied successfully