अमेरिकाको मिसिसिपी गोली काण्डमा कम्तीमा चारको मृत्यु, १२ जना घाइते

मिसिसिपी राज्यको उत्तर–पश्चिममा पर्ने लेल्यान्ड सहरमा शुक्रबार राति डाउनटाउन नजिक अनियन्त्रित रूपमा भएको गोली काण्डमा १६ जनामाथि आक्रमण भएको मेयर जोन लीले बताएको सिएनएनले उल्लेख गरेको छ ।

आश्विन २५, २०८२

सुदीप शिवाकोटी

At least four dead, 12 injured in Mississippi shooting incident

अमेरिका — अमेरिकाको मिसिसिपी राज्यमा शुक्रबार राति भएको गोली काण्डमा चार जनाको मृत्यु छ भने १२ जना घाइते भएका छन् ।

मिसिसिपी राज्यको उत्तर–पश्चिममा पर्ने लेल्यान्ड सहरमा शुक्रबार राति डाउनटाउन नजिक अनियन्त्रित रूपमा भएको गोली काण्डमा १६ जनामाथि आक्रमण भएको मेयर जोन लीले बताएको सिएनएनले उल्लेख गरेको छ । स्थानीय समय अनुसार शुक्रबार दिउँसो लेल्यान्ड हाइस्कुलको होमकमिङ अमेरिकन फुटबल प्रतिस्पर्धा सकिएपछि आयोजना गरिएको भेलामा गोली काण्ड भएको हो ।

१६ जनालाई गोली लाग्दा चार जनाको मृत्यु भएको र १२ जना घाइतेको तीव्र उद्धारपछि उपचार जारी रहेको लेल्यान्ड प्रहरीले जनाएको छ । हालसम्म गोली काण्डसँग सम्बन्धित कोही फेला नपरेको र अनुसन्धान जारी रहेको मेयर लीले बताइन् ।

‘गोली काण्डबारे मिसिसिपी अनुसन्धान ब्युरोले आफ्नो काम सुरु गरिसकेको छ तर मेरो जानकारीमा हालसम्म कोही फेला परेका छैनन्,’ मेयर लीले भनिन् । गोली काण्डका घाइतेमध्ये चार जनालाई ग्रिनभिलको अस्पतालमा सामान्य उपचारपछि मिसिसिपीको राजधानी ज्याक्सनको अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

यसअघि न्यूयोर्कको ब्रुकलिनमा गोली प्रहारबाट तीन जनाको मृत्यु भएको थियो । ब्रुकलिनको क्राउन हाइट्स फ्र्यांकलिन एभिन्यूमा सञ्चालित टेस्ट अफ द सिटी लाउन्ज बारमा गोली चल्दा तीनको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए ।

सुदीप शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

Link copied successfully