मोरक्कोमा जेन-जी आन्दोलन: प्रहरीको गोली लागेर २ जना मारिए, सयौँ घाइते

शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार माग गर्दै सुरु भएको युवा आन्दोलन अशान्त बन्दा दुई जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।

आश्विन १६, २०८२

कान्तिपुर संवाददाता

What you should know

काठमाडौँ — उत्तरी अफ्रिकी मुलुक मोरक्को केही दिनदेखि जारी जेन-जी आन्दोलनले अशान्त बनेको छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार माग गर्दै सुरु भएको युवा आन्दोलन अशान्त बन्दा दुई जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।

बुधबार राति अगादिर नजिकैको ल्क्लिया क्षेत्रमा प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । 

प्रदर्शनका क्रममा तीन सय भन्दा धेरै घाइते भएका छन् भने हालसम्म ४ सय बढी प्रदर्शनकारी पक्राउ परेको फ्रान्स २४ले जनाएको छ । 'जेन-जी २१२'नामक युवा समूहले आन्दोलनको नेतृत्व गरेका छन् । उनीहरूले  सामाजिक सञ्जालमार्फत आन्दोलनको सुरुवात गरेका थिए । 

रोयटर्सका अनुसार टिकटक, इन्स्टाग्राम र डिस्कोर्ड जस्ता प्लेटफर्ममार्फत उनीहरु देशको शिक्षा र स्वास्थ्यमा सुधारको माग गर्दै आएका थिए । प्रदर्शनमा सहभागी युवाहरूले भ्रष्टाचारको अन्त्य हुनुपर्ने र प्रधानमन्त्री अजिज अखन्नोउचको राजीनामा मागेका थिए ।  

सामाजिक सञ्जालबाट फैलिएको यो आन्दोलन गत शनिबारदेखि सडकमा उत्रिएको थियो । आन्दोलनको पाँचौँ दिनमा प्रहरीले धरपकड गर्दा आन्दोलनको स्वरूप बदलिएको छ । प्रहरी कार्यालय तोडफोड र लुटपाट गरेपछि प्रदर्शन हिंसात्मक बनेको मोरक्कोको समाचार एजेन्सी म्यापले जनाएको छ । 

म्यापका अनुसार मंगलबार मात्र २६३ सुरक्षाकर्मी र २३ जना नागरिक घाइते भएका छन् । त्यस्तै प्रदर्शनकारीले मंगलबार राति ओज्दा, इनेजगाने, अगादिर, तिज्नितलगायतका सहरहरूमा प्रशासनिक भवन, बैंक, पसल लुटपाट गरेका थिए । यस क्रममा १४० भन्दा बढी प्रहरी गाडी र २० निजी गाडीमा आगजनी भएको छ । 

म्यापका अनुसार हालसम्म ४ सय ९ जना पक्राउ परेका छन् । तीमध्ये १९३ जनामाथि आगजनी, सरकारी सम्पत्ति तोडफोड, सुरक्षाकर्मीमाथि आक्रमण लगायतका अभियोगमा मुद्दा चलाइने भएको छ । 

-एजेन्सीहरूको सहयोगमा

कान्तिपुर

Link copied successfully