जेलेन्स्कीद्वारा पुटिनको मस्को बैठक प्रस्ताव अस्वीकार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै मुलुकका राष्ट्रपतिबीच आमनेसामने वार्ताका लागि निरन्तर दबाब दिइरहेको सन्दर्भमा जेलेन्स्कीको नयाँ धारणा आएको हो ।

भाद्र २२, २०८२

एजेन्सी

Zelensky rejects Putin's Moscow meeting offer

What you should know

किभ — युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी समकक्षी भ्लादिमिर पुटिनद्वारा मस्कोमा भेट्न गरिएको प्रस्ताव अस्वीकार गरिदिएका छन् । जेलेन्स्कीले क्रेमलिनले वार्ताप्रति वास्तविक चासो नराखेको जिकिर गर्दै मस्कोलाई वार्ताका लागि तटस्थ स्थल मान्न नसकिने तर्क गरेका छन् ।

‘म आतंककारीको राजधानी (मस्को) जान सक्दिनँ, किनभने युक्रेन प्रत्येक दिन मिसाइल आक्रमण र गोलीबारीको सिकार भइरहेको छ’, अमेरिकी सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा जेलेन्स्कीले भने, ‘बरु पुटिन किभ आउन सक्छन् ।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै मुलुकका राष्ट्रपतिबीच आमनेसामने वार्ताका लागि निरन्तर दबाब दिइरहेको सन्दर्भमा जेलेन्स्कीको नयाँ धारणा आएको हो ।

गत महिना अलास्कामा पुटिनसँग ट्रम्पको शिखर वार्ताको प्रमुख उद्देश्य नै जेलेन्स्कीसहितको द्विपक्षीय वा त्रिपक्षीय बैठक गर्ने थियो । जेलेन्स्कीले पनि वासिङ्टन भ्रमणका क्रममा युरोपेली नेताहरूसँग छलफल गरेपछि ट्रम्पले पुटिन र जेलेन्स्कीबीच भेट हुन सक्ने बताएका थिए । तर यसबीचमा मस्कोले वार्ताका लागि अतिरिक्त सर्तहरू अघि सारेको र युद्ध रोक्नुको बदलामा युक्रेनी सहरहरूमा एकपछि अर्को गर्दै हमला झन् बढाएको भन्दै युक्रेन बिच्किएको छ । यसैबीच, पुटिनले यसै साता आफू जेलेन्स्कीसँग भेट्न तयार रहेको र यसका लागि मस्कोमै मात्र सम्भव हुने बताएका हुन् ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले गत शुक्रबार जेलेन्स्कीलाई रुसी राजधानीमा ‘वार्ता गर्न आमन्त्रित गरिएको, न कि आत्मसमर्पण गर्न’ भन्दै प्रस्ट्याउन खोजेका थिए । ‘यदि बैठक हुनै नदिने चाहना छ भने मस्कोमा निम्तो दिनुपर्ने देखिन्छ । रुसी नेतृत्वले व्यक्तिगत भेटवार्ताको कुनै विकल्पबारे बोल्नु पनि आफैंमा एउटा उपलब्धि हो,’ पेरिसमा सम्पन्न शिखर सम्मेलनपछि जेलेन्स्कीले पुटिनको निमन्त्रणा अस्वीकार गर्दै भने । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै जेलेन्स्कीले सेप्टेम्बरको पहिलो पाँच दिनमै रुसले १ हजार ३ सयभन्दा बढी ड्रोन, करिब ९ सय बम र करिब ५० प्रकारका मिसाइलद्वारा युक्रेनका १४ क्षेत्रमा हवाई हमला गरेको तथ्यांक पनि पेस गरे । ट्रम्पले पनि सोही दिन अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै थपे, ‘केही न केही पक्कै हुने नै छ, तर उहाँहरू अझै पनि प्रत्यक्ष वार्ताका लागि तयार हुनुहुन्न, हामी यसलाई पूरा गर्नेछौं ।’ तर उनले वासिङ्टनले स्वीकार्य ठानेको वार्ताका लागि कुनै समयसीमा भने तोकेनन् ।

एजेन्सी

Link copied successfully