रुसले ८१० ड्रोन र १३ मिसाइलमार्फत युक्रेनको राजधानी किभस्थित मन्त्रिपरिषद् कार्यालयको भवनसहित विभिन्न ३३ स्थानमा हमला गरेको हो ।
What you should know
किभ — युक्रेनसँगको जारी युद्धमा रुसले आइतबार हालसम्मकै ठूलो हवाई हमला गरेको छ । युक्रेनको राजधानी किभमा रुसले गरेको पछिल्लो ड्रोन तथा मिसाइल प्रहारमा कम्तीमा दुई जनाको मृत्यु भएको बताइएको छ भने हमलामा प्रमुख सरकारी भवनमा क्षति पुगेको छ ।
किभका मेयर भिटाली क्लिट्स्कोले पनि हमलामा परी दुई जनाको मृत्यु भएको र २० जना घाइते भएको बताए । मारिने दुई जनामा एक आमा र उनको ३ महिनाको सन्तान रहेका छन् । जसको शव उद्धारकर्ताहरूले पुरिएको अवस्थामा भग्नावशेषबाट निकालेका थिए ।
युक्रेनको वायुसेनाले ८ सय १० ड्रोन र डिकोइजद्वारा हमला गरिएको बताएको छ । युक्रेनको वायुसेनाका प्रवक्ता युरी इहनाटले आइतबारको युक्रेनमाथि हमला युद्ध सुरु भएदेखिकै सबैभन्दा ठूलो रुसी ड्रोन हमला भएको पुष्टि गरे । रुसले युक्रेनको राजधानीलाई लक्ष्य बनाएर विभिन्न प्रकारका १३ वटा मिसाइल पनि प्रहार गरेको थियो । हमलामा युक्रेनले ७ सय ४७ ड्रोन र ४ वटा मिसाइललाई गोली हानेर निष्क्रिय पारेको युक्रेन वायुसेनाले एक विज्ञप्ति जारी गर्दै दाबी गरेको छ ।
युक्रेनका ३३ स्थानमा ९ वटा मिसाइल र ५४ वटा ड्रोनबाट हमला गरिएकामा युक्रेनी प्रत्याक्रमणबाट निष्क्रिय बनाइएका रुसी ड्रोन तथा मिसाइल आठ स्थानमा खसेको युक्रेन वायुसेनाको दाबी छ । एपीका पत्रकारहरूले किभको मन्त्रिपरिषद् भवनको छतबाट धूवाँको मुस्लो निस्किरहेको देखेको उल्लेख गरेका छन् । जुन युक्रेनको मन्त्रिपरिषद्को भवन रहेको बताइएको छ ।
‘शत्रुको आक्रमणबाट पहिलो पटक सरकारी भवन क्षतिग्रस्त भएको छ, यसको छाना र माथिल्लो तलाहरूमा क्षति पुर्याएको छ,’ युक्रेनकी प्रधानमन्त्री युलिया स्वेरीडेन्कोले भनिन्, ‘हामी भवनहरू पुनर्निर्माण त गर्नेछौं तर गुमाएका जीवनहरू फिर्ता गर्न सकिँदैन ।’ अन्तर्राष्ट्रिय समुदायले यस विनाशको जवाफ शब्दले मात्र नभई एक्सनमा नै दिनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री युलियाले मुख्यतः रुसी तेल र ग्यासमाथिको प्रतिबन्धको दबाबलाई थप कडिकडाउ पार्नुको विकल्प नरहेको पनि जिकिर गरिन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि रुसमाथि प्रतिबन्ध लगाउन र युक्रेनको हवाई प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनुपर्नेमा जोड दिँदै भने, ‘युद्ध रोक्नका लागि धेरै पहिले नै सुरु हुनुपर्ने कूटनीतिक पहलमा ढिलाइ गरी जानाजानी यस्ता हत्या, अपराध गरेर रुसले युद्धलाई थप लम्ब्याउन चाहेको देखिन्छ । विश्वले केवल राजनीतिक इच्छाशक्ति देखायो भने यस्ता अपराधीहरूलाई हत्या रोक्न बाध्य पार्न सक्छ ।’
किभका प्रशासन प्रमुख टिमुर त्काचेन्कोले हमलामा किभका कम्तीमा १० स्थानहरू क्षतिग्रस्त भएको उल्लेख गरे । रुसी ड्रोनहरू किभको स्भियाटोसिन्स्की जिल्लामा अवस्थित नौतले आवासीय भवन र डार्नित्स्की जिल्लामा रहेको चारतले आवासीय भवनलाई लक्षित गर्दै प्रहार गरिएका थिए ।
रुसी सेनाले भने आइतबारको हमला युक्रेनको सैन्य–औद्योगिक क्षेत्रलाई लक्षित गरेर भएको दाबी गरेको छ । उसले युक्रेनका ड्रोन बनाउने र भण्डारण गर्ने स्थलहरू, सैन्य एयरफिल्डहरू, दुई एयर डिफेन्स राडार स्टेसन र सेनाको स्थानमाथि हमला गरेको बताएको छ । रुसले दुई साताको अवधिमा किभलाई निसाना बनाएर दोस्रो ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको हो ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शान्ति सम्झौताका लागि वार्ता गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न आफू तयार रहेको बताउँदै आए पनि शान्ति वार्तामा खासै प्रगति हुन भने सकेको छैन । जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युद्ध अन्त्यका लागि दबाब दिन रुसमाथि दण्डात्मक प्रतिबन्ध लगाउन पनि आग्रह गरेका छन् ।
