शहर खाली गर्न गाजाका स्थानीयलाई इजरायलको निर्देशन, आक्रमण तीव्र

इजरायली सेनाले हालैका दुई सातामा गरिएको कारबाहीमा गाजाको बाहिरी क्षेत्र नियन्त्रणमा लिएको दाबी गरेको छ ।

भाद्र २२, २०८२

कान्तिपुर संवाददाता

Israel instructs Gaza residents to evacuate city, attacks intensify

काठमाडौँ — इजरायली सेनाले गाजाका स्थानीयलाई शहर छाडेर जान निर्देशन दिएको छ । तर त्यहाँका मानिसहरु आफ्नो थातथलो छाडेर जान तयार छैनन् । 

सेनाले हमासविरुद्ध सिधा कारबाही गर्न चाहेको छ । गाजापट्टीको सबैभन्दा ठूलो शहर खाली गरेर इजरायली सेनाले हमासविरुद्ध जमिनमार्फत् सिधा कारबाही गर्न चाहेको छ । 

२३ महिनादेखिको लडाइँमा इजरायली सेनाले गाजालाई पूर्ण रुपमा नियन्त्रणमा लिन सकेको छैन । इजरायली सेनाले हालैका दुई सातामा गरिएको कारबाहीमा गाजाको बाहिरी क्षेत्र नियन्त्रणमा लिएको दाबी गरेको छ । अब शहरको बाक्लो जनघनत्व भएको क्षेत्र मात्र बाँकी छ । 

बन्धक बनाइएका इजरायली नागरिकलाई गाजाका स्थानीयको ठूलो जनसंख्या भएको क्षेत्रमा लुकाएर राखेको इजरायली सेनाको दाबी छ । अझै पनि ४८ बन्धक हमासको कब्जामा रहेको बताइएको छ । जसमध्ये २० जना जीवित रहेको हुनसक्ने अनुमान गरिएको छ । 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निर्देशनमा इजरायली सेनाले गाजालाई कब्जा गर्ने अभियान तीव्र पारेको छ ।बाहिरी क्षेत्रका अधिकांश नागरिकले घर छाडेका छन् । शहरको मध्ये भागमा भने अझै लाखौं नागरिक रहेका छन् । 

इजरायली सेनाको घेराबन्दीका कारण उनीहरुलाई खाना र पानीसमेत सहज रुपमा पुर्‍याउन सकिएको छैन । इजरायल र हमासबीच युद्ध सुरु भएयता गाजामा ६४ हजार भन्दा धेरै प्यालेस्टिनी मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully