अमेरिकामा दुई कम्पनीमा छापा, ४७५ जना आप्रवासी पक्राउ

३ सयभन्दा बढी दक्षिण कोरियाली नागरिकसहित पक्राउ परेका सबै आप्रवासन तथा सीमा सुरक्षा विभागमार्फत देशनिकालाको प्रक्रियामा

भाद्र २१, २०८२

एजेन्सी

Two companies raided in America, 475 immigrants arrested

What you should know

वासिङटन — अमेरिकाको जर्जिया राज्यमा निर्माणाधीन हुन्डाई र एलजी एनर्जी सोलुसनको संयुक्त ब्याट्री कारखानामा शनिबार अमेरिकी आप्रवासन अधिकारीले छापा मार्दा ३ सयभन्दा बढी दक्षिण कोरियाली मजदुर पक्राउ परेको सोलस्थित विदेश मन्त्रालयले पुष्टि गरेको छ । विदेशमन्त्री चो ह्युनले सोलमा आयोजित आपत्कालीन बैठकमा बताएअनुसार कुल ४ सय ७५ जना पक्राउ परेकामध्ये ३ सयभन्दा बढी दक्षिण कोरियाका नागरिक रहेका छन् ।

अमेरिकी होमल्यान्ड सेक्युरिटी विभागका विशेष एजेन्ट स्टिवन र्श्यांकका अनुसार, यो छापा एलाबेल सहरस्थित हुन्डाई–एलजीको संयुक्त कारखानामा बिहीबार भएको ‘गम्भीर संघीय अपराध र अवैध रोजगारसम्बन्धी आरोप’ मा अनुसन्धानका लागि भएको हो । ‘यो सामान्य आप्रवासन छापा होइन,’ र्श्यांकले थपे, ‘यो धेरै महिना लामो आपराधिक अनुसन्धानको नतिजा हो ।’ उनले पक्राउ परेका व्यक्तिहरू अमेरिकाभित्र अवैध रूपमा रहेर गैरकानुनी रूपमा कार्यरत रहेको बताए । पक्राउ परेका सबैलाई आप्रवासन तथा सीमा सुरक्षा विभागमार्फत देशनिकालाको प्रक्रियामा लगिएको छ ।

‘हामी यस घटनाबाट निकै चिन्तित छौं र गम्भीर जिम्मेवारीको भावना महसुस गरेका छौं । आवश्यक परे म स्वयं वासिङटन पुगेर वार्ता गर्न तयार छु,’ विदेशमन्त्री चो ह्युनले पत्रकार सम्मेलनमा भने । यसअघि, विदेश मन्त्रालयका प्रवक्ता ली जे–वुङले अमेरिकालाई आग्रह गर्दै आफ्ना लगानीकर्ताका आर्थिक गतिविधि र आफ्ना नागरिकको वैध अधिकारलाई अमेरिकी कानुनी कारबाहीका क्रममा अन्यायपूर्वक हानि पुर्‍याइनु नहुने बताएका थिए ।

छापा मारिएका दुवै कम्पनीले शनिबार जनाएअनुसार, पक्राउ परेका ४७ जना कम्पनीका कर्मचारी हुन्, जसमा ४६ जना दक्षिण कोरियाली र एक जना इन्डोनेसियाली नागरिक छन् । करिब २५० जना भने तेस्रो पक्ष ठेकेदारमार्फत खटाइएका थिए, जसमा अधिकांश दक्षिण कोरियाली रहेको कम्पनीले जनाएको छ । हुन्डाई मोटर कम्पनीले भने आफूहरूले सोझो सम्पर्कमा पक्राउ परेका कुनै पनि व्यक्तिलाई रोजगारी नदिएको भन्दै आफूहरू कारखाना निर्माणमा प्रत्यक्ष संलग्न नभएको पनि स्पष्ट पारेको छ ।

दक्षिण कोरिया अमेरिकामा आफ्ना कम्पनीहरूको विस्तारका लागि अर्बौं डलर लगानी गर्दै आइरहेको छ ।

दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युंगले गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्दै अमेरिकामा ३ सय ५० अर्ब डलरको लगानी गर्ने घोषणा गरेका थिए । अर्कोतर्फ, राष्ट्रपति ट्रम्पले भने कागजातविहीन आप्रवासीलाई देशनिकाला गर्ने प्रतिबद्धता जनाएका थिए । पछिल्लो छापा मारिएको घटनाले दुई देशबीचको व्यापारिक र कूटनीतिक सम्बन्धमा चुनौती खडा गर्न सक्ने ठानिएको छ ।

एजेन्सी

Link copied successfully