झन्डै १० लाखको बसोबास रहेको गाजाका केही स्थानलाई भने यसअघि नै ‘रेड जोन’ तोकेर खाली गर्ने आदेश जारी गरिएको छ ।
What you should know
देइर अल–बलाह, गाजापट्टी — इजरायली सेनाले शनिबार गाजाका प्यालेस्टिनीलाई दक्षिणमा तोकिएको मानवीय क्षेत्रमा सर्न आह्वान गर्दै सहरका अग्ला भवनहरूलाई हमलाको निसाना बनाउन थालेको छ । झन्डै १० लाखको बसोबास रहेको गाजाका केही स्थानलाई भने यसअघि नै ‘रेड जोन’ तोकेर खाली गर्ने आदेश जारी गरिएको छ ।
इजरायलले हमासको संरचना हुन सक्ने आशंका गर्दै शनिबार गाजा सहरका दुई अग्ला भवन र त्यसछेउ विस्थापितहरू बसिरहेका पालहरूमा हमला हुन सक्ने चेतावनी दिइसकेको छ । शनिबार नै शरणार्थी शिविरको एक अपार्टमेन्टमा भएको हवाई हमलामा १५ जना मारिएको गाजा सहरको सिफा अस्पतालका अधिकारीहरूले बताएका छन् । जिकिम क्रसिङ नजिकै राहत सामग्री खोज्ने क्रममा इजरायली गोलीबारीमा परी एकै परिवारका पाँच जनासहित १५ जनाको मृत्यु भएको ती अधिकारीहरूले बताए । शुक्रबार पनि इजरायलले हमासले जासुसी गरिरहेको आरोपमा गाजाकै अर्को एक अग्लो भवनमा हमला गरेको थियो । तर इजरायलले हमासले गरेको भनेको जासुसीको कुनै प्रमाण भने दिएको छैन ।
इजरायलको सहर खाली गर्ने चेतावनीको बाबजुद अधिकांश प्यालेस्टिनीले गाजा सहर नछोड्ने जिकिर गरेका छन् । ‘तिनीहरूले हामीलाई एउटा सहरबाट अर्को सहरमा लखेट्न मात्र आदेश दिन्छन्, हामी हाम्रा बच्चाहरूलाई के गर्ने ? जसको परिवारमा बिरामी, वृद्ध वा घाइते छन्, हामी तिनीहरूलाई कहाँ लैजाने ?,’ एक प्यालेस्टिनी महिलाले आक्रोश पोख्दै भनिन् ।
इजरायलको यस्तो आदेशले पहिल्यै भोकमरीबाट पीडित बनेका गाजावासीका लागि सहर छोड्नु पर्दा झनै भयानक मानवीय संकट खेप्नुपर्ने अवस्था आउन सक्ने राहत सहायता समूहहरूले चेतावनी दिएका छन् । यस्ता समूहले झन्डै दुई वर्ष लामो युद्धका दौरान प्यालेस्टिनीहरू धेरै पटक विस्थापित भइसकेको र धेरैजना भोकमरी र स्वास्थ्यका कारण कमजोर भइसकेकाले पनि हिँड्न नसक्ने अवस्थामा रहेको जिकिर गरेका छन् ।
इजरायली सैन्य प्रवक्ता अविकाय अद्राईले ‘एक्स’ मा सेनाले दक्षिणी गाजापट्टीमा रहेको एक अस्थायी पाल शिविर मुवासीलाई हमासको गढ भन्दै त्यहाँबाट सर्न भनेका छन् । मानवीय क्षेत्र मुवासीलाई यसअघि इजरायलले नै सुरक्षित घोषणा गरे पनि बारम्बार हमला भइरहेको गाजाको स्वास्थ्य मन्त्रालयको आरोप छ ।
इजरायली सेनाले जारी गरेको एक विज्ञप्तिमा खान युनिसलाई पनि क्षेत्र मानवीय क्षेत्रले घेरेको बताएको थियो, जहाँ रहेको नासेर अस्पतालमा इजरायलले पटक–पटक हमला गर्दै आएको छ । गत साता पनि उक्त अस्पतालमा इजरायलले गरेको हमलामा परी एसोसिएटेड प्रेससहितका अन्य अन्तर्राष्ट्रियस्तरका मिडियाका पाँच जना पत्रकारसहित २२ जनाको मृत्यु भएको थियो ।
इजरायली सेनाको विज्ञप्तिमा अस्पताल, पानीका पाइपलाइन, खाना र पालहरू रहेको क्षेत्रलाई सुरक्षित क्षेत्र तोक्दै संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्यमा राहत प्रयासहरू निरन्तर रूपमा जारी रहने बताइएको छ । संयुक्त राष्ट्रसंघको मानवीय मामिलासम्बन्धी समन्वय कार्यालयकी प्रवक्ता ओल्गा चेरेभ्कोले भने इजरायली अधिकारीले दक्षिणी गाजामा तथाकथित रूपमा मानवीय क्षेत्र भन्दै एकतर्फी घोषणा गरेको बताएकी छन् ।
संयुक्त राष्ट्रसंघले शनिबार एक विज्ञप्ति जारी गर्दै इजरायलको निरन्तर हमलाले सहायता प्रदान गर्न गाजा सहरमा बसिरहेका संस्थाहरू र स्थानीयलाई थप विपत्तिमा धकेल्ने चेतावनी दिएको छ । विज्ञप्तिमा एकतर्फी रूपमा बस्ती नै खाली गराउने इजरायलको निर्णयअघि त्यहाँका स्थानीयको आवश्यकताहरू पूरा गर्नुपर्ने र परिस्थिति अनुकूल हुँदाको अवस्थामा स्वैच्छिक रूपमा फर्कन पाउने अवस्थाको ग्यारेन्टी हुनुपर्ने उल्लेख छ ।
बन्धकका परिवारले ट्रम्पलाई गुहारे
इजरायली हमलाको इजरायलीले नै व्यापक विरोध गरिरहेका छन् । खासगरी बन्धक बनाइएकाका परिवारहरूले इजरायलले गाजामा आक्रमण तीव्र पार्दा बन्धकको सुरक्षामा थप खतरा हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । हमासले बन्धक बनाएका ४८ जनामध्ये २० जना अझै जीवितै रहेको इजरायलको विश्वास छ । शुक्रबार नै हमासले दुई बन्धकहरूको भिडियो सार्वजनिक गरेको थियो, जसमा दुई बन्धकहरू गाय गिल्बोआ–दलाल र एलोन ओहेललाई कारमा देखाइएको छ ।
इजरायल सरकारले आफ्ना प्रियजनलाई प्राथमिकता नदिएको भन्दै बन्धकका परिवारहरूले शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनीहरूको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन् । बन्धकका परिवारहरूले युद्धविरामका लागि वार्ता प्रक्रिया अघि बढाउन ट्रम्प र उनका दूत स्टिव विटकफले गरिरहेको निरन्तरको प्रयासलाई समेत धन्यवाद दिएका छन् । बन्धक र हराएकाको परिवार फोरमद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘ट्रम्पले सही निर्णय र साहसी नेतृत्वमा नै यसको सफलताको मापन हुनेछ ।’
हमासले गत महिना नै युद्धविरामका लागि अरब मध्यस्थकर्ताहरूको प्रस्ताव स्वीकार गरे पनि इजरायलले भने यसलाई अस्वीकार गर्दै गाजा सहर खाली गराउने आफ्नो सैन्य अभियानलाई जारी राखेको छ । इजरायलले सबै बन्धकहरू फिर्ता नहुँदा र हमास पूर्णतः निःशस्त्र नहुँदासम्म युद्ध जारी रहने बताएको छ । हमासले भने बाँकी बन्धकहरूलाई प्यालेस्टिनी कैदीहरूको बदलामा, स्थायी युद्धविराम र इजरायलको गाजाबाट पूर्ण फिर्तीको सर्तमा मात्र रिहा गर्ने बताएको छ ।
७ अक्टोबर २०२३ मा हमासले इजरायलमा हमला गरेपछि सुरु भएको युद्धमा ६५ हजार २ सय बढीको ज्यान गइसकेको छ । जसमा हमासले १ हजार २ सय जनालाई मारेको थियो भने २ सय ५१ जनालाई अपहरण गरेर बन्धक बनाएको छ । इजरायली हमलामा हालसम्म ६४ हजारभन्दा बढी प्यालेस्टिनीहरू मारिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
