इजरायलको यो अडानले युद्धको अवस्था थप जटिल बन्ने संकेत दिएको छ, जसले गाजाको अवस्था झनै संकटपूर्ण बन्न सक्ने देखिन्छ ।
गाजा — हमासद्वारा प्रस्ताव गरिएको युद्धविराम सम्झौतालाई अस्वीकार गर्दै इजरायलले गाजा सहरमा सैन्य कारबाही जारी राख्ने स्पष्ट संकेत दिएको छ ।
हमासले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै इजरायली र प्यालेस्टाइनी बन्दीहरूको आदानप्रदान, गाजाबाट इजरायली फौजको फिर्ता, सीमानाकाहरू पुनः सञ्चालन, मानवीय सहायता आपूर्ति र गाजाको पुनर्निर्माण कार्य प्रारम्भ गर्ने प्रस्तावसहित एक व्यापक सम्झौता प्रस्तुत गरेको थियो ।
त्यसका अतिरिक्त, हमासले प्राविधिक विज्ञहरूको सहभागितामा स्वतन्त्र राष्ट्रिय प्रशासन गठन गरी गाजाको नागरिक प्रशासन सम्हाल्ने प्रस्तावसमेत अघि सारेको थियो । तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उक्त प्रस्तावलाई ‘केवल प्रचारात्मक चाल’ मात्र भएको भन्दै खारेज गरेका छन् ।
प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा भने हमासले गाजामा इजरायली सुरक्षाको पूर्ण नियन्त्रण स्वीकार गर्ने, गाजा क्षेत्रलाई पूर्ण रूपमा निरस्त्रीकरण गर्ने, गैरप्यालेस्टाइनी प्रशासन गठन गर्ने र सबै इजरायली बन्धकहरूलाई मुक्त गर्नेजस्ता सर्तहरू पूरा गरेको खण्डमा मात्र इजरायलले युद्ध अन्त्य गर्न सहमति जनाउने उल्लेख छ । इजरायलको यो अडानले युद्धको अवस्था थप जटिल बन्ने संकेत दिएको छ, जसले गाजाको अवस्था झनै संकटपूर्ण बन्न सक्ने देखिन्छ ।
