भेनेजुएलाको पानीजहाजमाथि अमेरिकी आक्रमण, ११ जनाको मृत्यु

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार, राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै भेनेजुएलाबाट आएको लागुऔषध रोक्नका लागि आक्रमण गरेको स्वीकार गरेका छन् । 

भाद्र १८, २०८२

कान्तिपुर संवाददाता

US attack on Venezuelan ship, 11 dead

What you should know

काठमाडौँ — अमेरिकी सेनाले दक्षिणी क्यारिबियनमा लागुऔषध ओसारपसार गरेको आरोपमा भेनेजुएलाको पानीजहाजमाथि आक्रमण गरेको छ । आक्रमणमा ११ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार, राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै भेनेजुएलाबाट आएको लागुऔषध रोक्नका लागि आक्रमण गरेको स्विकारेका हुन् । 

‘हामीले भर्खरै एउटा लागुऔषध बोकेको पानीजहाजलाई गोली हानेर ध्वस्त पारेका छौं, त्यसमा धेरै लागुऔषध थियो,’ पत्रकारहरूसँग ट्रम्पले भने, ‘हाम्रो देशमा लामो समयदेखि भेनेजुएलाबाट धेरै लागुऔषध आइरहेको छ ।’

ट्रम्पले उक्त आक्रमणमा ११ जना ‘नार्को आतंकवादी’ मारिएको र अमेरिकी सेनालाई कुनै क्षति नभएको बताए । यद्यपि कुन प्रकारका लागुऔषध बोकेको थियो भन्ने स्पष्ट भएको छैन ।

ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ’ मा पनि  'ट्रेन डे अरागुआ' (अपराधिक संगठनका रुपमा चिनिएको भेनेजुएलाको समूह) का सदस्यहरूलाई लक्षित गरेको बताएका छन् । ट्रम्पले सो जहाज अन्तर्राष्ट्रिय पानीमा रहेको र अमेरिकाका लागि अवैध लागुऔषध ओसारपसार गरिरहेको आरोप लगाएका छन् । उनले एउटा भिडियो पनि पोस्ट गरेका छन् । जसमा एउटा ‘स्पीडबोट’ विस्फोट भई आगो लागेको देखिन्छ । तर भेनेजुएलाका सञ्चारमन्त्री फ्रेडी नान्जले भने ट्रम्पले सार्वजनिक गरेको भिडियो एआईबाट बनाइएको बताएका छन् ।  

बीबीसीका अनुसार ट्रम्प प्रशासनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोविरुद्ध सैन्य र राजनीतिक दबाब बढाएको छ । मादुरोको गिरफ्तारीका लागि सूचना दिनेलाई ५० मिलियन डलरको इनाम पनि राखेको छ । तर मादुरोले यसको विरोध गर्दै अमेरिकी हस्तक्षेप स्वीकार्य नहुने बताएका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully