अफगानिस्तानमा भूकम्प, कम्तीमा ८ सयको मृत्यु, २५ सय बढी घाइते

तालिवान सरकारले सोमबार उपलब्ध गराएको तथ्यांकअनुसार २ हजार ५ सयभन्दा बढी घाइते भएका छन् ।

भाद्र १६, २०८२

एपी

Earthquake in Afghanistan, at least 800 dead, more than 2500 injured

What you should know

काबुल, अफगानिस्तान — पूर्वी अफगानिस्तानमा आइतबार मध्यरातमा गएको ६.० म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा ८ सय जनाको मृत्यु भएको छ । तालिवान सरकारले सोमबार उपलब्ध गराएको तथ्यांकअनुसार २ हजार ५ सयभन्दा बढी घाइते भएका छन् ।

जलालाबादबाट २७ किलोमिटर उत्तरपूर्वमा केन्द्रबिन्दु रहेको भूकम्पले कुनार प्रान्तका सहरहरूमा ठूलो क्षति पुर्‍याएको बताइएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्प ८ किलोमिटर गहिराइमा गएको थियो ।

तालिवान सरकारका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले सोमबार पत्रकार सम्मेलनमा मृतक र घाइतेको विवरण दिँदै अधिकांश हताहत कुनारमा भएको बताए । उक्त क्षेत्रका प्रायः घर तथा भवनहरू इँटा र काठबाट बनाइएका कम उचाइका कमजोर हुने भएकाले पनि भूकम्पले ठूलो क्षति पुर्‍याएको बताइएको छ ।

कुनारको सबैभन्दा बढी प्रभावित क्षेत्रमध्येको एक नुरगल जिल्लाका एक स्थानीयले त्यहाँको लगभग सम्पूर्ण गाउँ नै ध्वस्त भएको बताए । ‘अधिकांश बालबालिका र वृद्धहरू भग्नावशेषमा च्यापिएका छन्,’ उनले भने, ‘हामीलाई यहाँ मद्दतको आवश्यकता छ । पुरिएका मानिसलाई तत्काल बाहिर निकाल्नुपर्ने अवस्था छ, तर यहाँ पुरिएका शवहरू निकाल्न वा घाइतेको उद्धार गर्न पनि आउने कोही छैन ।’

भूकम्पपछि यहाँको सञ्चार सम्पर्क विच्छेद भएको छ भने सडकहरू अवरुद्ध हुँदा घाइतेलाई अस्पतालसम्म पुर्‍याउन र उद्धारकर्मीलाई घटनास्थलसम्म पुग्नसमेत कठिनाइ भइरहेको छ । उद्धारकर्मीहरू चार/पाँच घण्टा पैदल हिँडेर घटनास्थल पुगिरहेका छन् । अधिकांश मस्त सुतिरहेका बेला राति ११ः४७ बजे भूकम्प आएकाले पनि भाग्न नपाई धेरै जनाको भग्नावशेषले पुरिएर ज्यान गएको बताइएको छ ।

घाइते अवस्थामा बाँच्न सफल नुरगलको मजा दारा क्षेत्रका एक युवकले भूकम्पअघि आँधी आउनुअघिको जस्तै चर्को आवाज सुनेर आफू ब्युँझिएको बताए । ‘पूरै पहाड हल्लिरहेको जस्तो महसुस भयो, लगत्तै छोराछोरी सुतिरहेको ठाउँमा दौडेर पुगें र तीन जनालाई बाहिर निकालेर बचाएँ,’ ती युवकले भने, ‘परिवारका बाँकी सदस्यहरूलाई पनि लिन जाँदा घर भत्केर मेरै माथि खस्यो । आधा गाडिएकाले म आफैं बाहिर निस्कन सकिनँ । मलाई उद्धार गर्नुअघि तीन/चार घण्टासम्म त्यहीं फसेको थिएँ ।’ नान्गरहार अस्पतालमा उपचार गराइरहेका ती युवकले एसोसिएटेड प्रेसलाई फोनमा भनेका छन्, ‘मेरी श्रीमती र दुई छोराको घटनास्थलमा नै मृत्यु भयो, बुबा घाइते हुनुहुन्छ र मसँगै अस्पतालमा उपचार गराइरहनुभएको छ ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमानले उद्धार कार्य जारी रहेको र कुनार, नान्गरहार र राजधानी काबुलबाट चिकित्सक टोलीहरू उक्त क्षेत्रमा आइपुगेको बताए । उनले अझै पनि धेरै क्षेत्रहरूमा के कति जना हताहत भए भन्ने तथ्यांक आउन नसकेकाले क्षतिको विवरण अझै बढ्न सक्ने उल्लेख गरे ।

तालिवान सरकारका प्रमुख प्रवक्ता मुजाहिदले सडक अवरुद्ध भएकाले केही क्षेत्रमा हेलिकोप्टरमार्फत आपत्कालीन सेवा पुर्‍याइएको बताएका छन् । ‘केही गाउँहरूमा अझै पनि घाइते र मृतकलाई भग्नावशेषबाट निकाल्न सकिएको छैन, त्यसैले पनि हताहती हुने र घाइतेको संख्या बढ्न सक्छ,’ उनले पत्रकारहरूसँग भने ।

शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त फिलिप्पो ग्रान्डीले भूकम्पका कारण अफगानिस्तानमा मानवीय अवस्था अत्यन्त दयनीय बनेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय दाता तथा सहयोगी संस्थाहरूलाई तत्काल राहतका लागि पहल गर्न अपिल गरेका छन् । रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघले एक विज्ञप्ति जारी गर्दै मृतकको खोजी र घाइतेको उद्धारका लागि तत्काल सहयोग गर्न आग्रह गरेको छ ।

यसअघि ७ अक्टोबर २०२३ मा पनि अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसबेला कम्तीमा ४ हजार जनाको ज्यान गएको तालिवान सरकारले बताएको थियो ।

आइतबार राति गएको उक्त भूकम्पको धक्का पाकिस्तानको राजधानी इस्लामाबादसहितका भागमा पनि महसुस गरिएको बताइएको छ । तर हताहत वा क्षतिको विवरण भने प्राप्त भइसकेको छैन । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले अफगानिस्तानले भोगेको पछिल्लो विपद्मा गहिरो दुःख व्यक्त गरेका छन् । ‘हामी पीडित र तिनका परिवारहरूकै साथमा छौं । हामी उनीहरूको सहायताका लागि हरसम्भव सबै सहयोग गर्न तयार छौं,’ उनले सामाजिक सञ्जाल ‘एक्स’ मा भनेका छन् । त्यसो त पाकिस्तानले गत वर्ष दशकौंदेखि शरणार्थीका रूपमा बसिरहेका हजारौं अफगानीहरूलाई निष्कासित गरेको थियो । यस वर्ष पनि हालसम्म कम्तीमा १२ लाख अफगानीलाई इरान र पाकिस्तानबाट जबरजस्ती फिर्ता गरिएको छ ।

एपी

Link copied successfully