अमेरिकी विदेशमन्त्रीले अब्बासलाई काल्पनिक राज्यको मान्यता माग्दै शान्ति प्रयासलाई कमजोर बनाएको आरोप लगाएका छन्।
काठमाडौँ — प्यालेस्टाइन प्राधिकरणका राष्ट्रपति महमुद अब्बास आगामी महिना न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको महासभा सत्रमा सहभागी हुन नपाउने भएका छन् ।
अमेरिकाको विदेश मन्त्रालयले उनीसहित अन्य ८० जना प्यालेस्टिनी अधिकारीहरुको भिसा रद्द गरेको जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अब्बासविरुद्ध शान्तिका लागि भइरहेका प्रयासलाई कमजोर बनाउन ‘एक काल्पनिक प्यालेस्टाइन राज्यलाई एकतर्फी मान्यता’को माग गर्दै आएको आरोप लगाएका छन् ।
इजरायलले अमेरिकाको यस निर्णयलाई लिएर स्वागत गरेको छ । अमेरिकाको यो कदमलाई लिएर असामान्य मानिएको छ । संयुक्त राष्ट्रसंघको मुख्यालयमा आउने सबै देशका अधिकारीहरुको यात्रालाई सहज बनाउने अपेक्षा गरिरहेका बेला प्यालेस्टिनी राष्ट्रपति र उनका अधिकारीहरुको भिसा रद्द गरिनुले गाजामा शान्ति स्थापनाका लागि इजरायलमाथि अमेरिकाले दबाब बढाउने कुरामा शंका उत्पन्न गरेको विश्लेषकहरुले बताएका छन् ।
फ्रान्सले संयुक्त राष्ट्र संघमा प्यालेस्टाइनलाई एक स्वतन्त्र देशको मान्यता दिलाउनका लागि अन्तर्राष्ट्रिय स्तरमा अगुवाइ गरिरहेका बेला अमेरिकाले प्यालेस्टाइनका प्रमुख र उनका ८० अधिकारीलाई अमेरिका प्रवेश नदिएको हो । फ्रान्सको उक्त प्रयासलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आलोचना लगर्दै आएका छन् ।
