चीनका ६ लाख विद्यार्थीलाई अमेरिका प्रवेश दि‍ने ट्रम्पको घोषणा

चीनसँगको भन्सार शुल्क वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले चिनियाँ विद्यार्थीहरूको अमेरिका प्रवेशाज्ञालाई लिएर भने, ‘अब अमेरिकाले चिनियाँ विद्यार्थीलाई भिसा दिँदैन भन्ने अफवाह धेरै सुन्छु । तर हामी उनीहरूलाई आउन दिनेछौं, ६ लाख चिनियाँ विद्यार्थीलाई । यो ठूलो र महत्त्वपूर्ण कुरा हो ।’

भाद्र १०, २०८२

एजेन्सी

Trump's announcement to allow 600,000 students from China to enter the US

What you should know

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार चीनबाट ६ लाख विद्यार्थीलाई अमेरिका प्रवेश दिने घोषणा गरेका छन् ।

चीनसँगको भन्सार शुल्क वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले चिनियाँ विद्यार्थीहरूको अमेरिका प्रवेशाज्ञालाई लिएर भने, ‘अब अमेरिकाले चिनियाँ विद्यार्थीलाई भिसा दिँदैन भन्ने अफवाह धेरै सुन्छु । तर हामी उनीहरूलाई आउन दिनेछौं, ६ लाख चिनियाँ विद्यार्थीलाई । यो ठूलो र महत्त्वपूर्ण कुरा हो ।’ आगामी दिनमा चीनसँग राम्रो सम्बन्ध कायम हुनेमा विश्वस्त रहेको पनि उनले बताए ।

फक्स न्युजका अनुसार हाल करिब २ लाख ७० हजार चिनियाँ विद्यार्थी अमेरिकी विश्वविद्यालयहरूमा अध्ययनरत छन् । यसैबीच, मे महिनामा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चिनियाँ नागरिकहरू, विशेषगरी कम्युनिस्ट पार्टी वा संवेदनशील अनुसन्धान क्षेत्रमा संलग्न व्यक्तिहरूका लागि भिसा आक्रामक रूपमा रद्द गर्ने योजना सार्वजनिक गरेका थिए । तर ट्रम्पले चीनबाट विद्यार्थी स्वागत गर्ने पक्षमा आफू सधैं रहेको दोहोर्‍याएका छन् ।

‘राष्ट्रपति सी मलाई चीन बोलाउन चाहनुहुन्छ । यो निकै महत्त्वपूर्ण सम्बन्ध हो । हामी चीनबाट भन्सार शुल्क र अन्य कारणले धेरै पैसा संकलन गरिरहेका छौं । तर हामी चीनसँग राम्रो गर्नेछौं,’ ट्रम्पले भने । उनका अनुसार अहिलेको चीनसँगको आर्थिक सम्बन्ध अघिल्लो बाइडेन प्रशासनको तुलनामा धेरै बलियो छ । यस वर्षको सुरुमा अमेरिकी प्रशासनले सबै चिनियाँ सामानमा १ सय ४५ प्रतिशत कर लगाएको थियो । यसको जवाफी कदमस्वरूप बेइजिङले अमेरिकी निर्यातमा पनि १ सय २५ प्रतिशत कर लगाएपछि दुई देशबीचको व्यापारिक सम्बन्ध निकै चिसिएको थियो ।

जेनेभामा मे महिनामा वार्ताकारहरूले अतिरिक्त करहरू रोकिने सहमति गरेका थिए तर ट्रम्पले अझै थप दण्डको चेतावनी दिन छाडेका छैनन् । गत साता मात्रै उनले चिनियाँ निर्मित म्याग्नेटमा २ सय प्रतिशत कर लगाउने घोषणा गरेका थिए । म्याग्नेटलाई उनले विश्व बजारमा बेइजिङको ‘एकाधिकार’ का रूपमा चित्रण गरेका थिए । ‘यसमा कुनै समस्या आउँछ भन्ने मलाई लाग्दैन,’ ट्रम्पले थपे, ‘चीनले बुद्धिमानीपूर्वक विश्वको म्याग्नेट बजारमा एकाधिकार बनाएको छ । तिनीहरूलाई पाउन सम्भवतः हामीलाई एक वर्ष लाग्न सक्छ ।’

एजेन्सी

Link copied successfully