छिमेकी भारतले ‘ओभरफ्लो’ भइरहेको बाँधबाट अतिरिक्त पानी छोडेपछि पाकिस्तानको पूर्वी क्षेत्रमा ठूलो बाढीको जोखिम उत्पन्न भएको छ । यससँगै अधिकारीहरूले दसौं हजार स्थानीयलाई सुरक्षित स्थानतर्फ सारिरहेका छन् ।
What you should know
लाहोर — छिमेकी भारतले ‘ओभरफ्लो’ भइरहेको बाँधबाट अतिरिक्त पानी छोडेपछि पाकिस्तानको पूर्वी क्षेत्रमा ठूलो बाढीको जोखिम उत्पन्न भएको छ ।
छिमेकी भारतले ‘ओभरफ्लो’ भइरहेको बाँधबाट अतिरिक्त पानी छोडेपछि पाकिस्तानको पूर्वी क्षेत्रमा ठूलो बाढीको जोखिम उत्पन्न भएको छ । यससँगै अधिकारीहरूले दसौं हजार स्थानीयलाई सुरक्षित स्थानतर्फ सारिरहेका छन् ।
नयाँदिल्लीले इस्लामाबादलाई सम्भावित सीमापार बाढीबारे अघिल्लो दिन नै सचेत गराएको थियो । यो सूचना हालका महिनामा दुई आणविक–सशस्त्र प्रतिद्वन्द्वीबीच भएको पहिलो सार्वजनिक कूटनीतिक सम्पर्क पनि हो । पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले सतलज नदीमा बढ्दो जलस्तरबारे चेतावनी जारी गर्दै पञ्जाब प्रान्तका विभिन्न जिल्लाबाट जनतालाई स्थानान्तरण गरिएको जनाएको छ ।
उद्धारकर्ताले कसुर जिल्लाबाट मात्र १४ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा पुर्याएका छन् भने भारतीय सीमा नजिकको बहावलनगर सहरबाट ८९ हजारभन्दा बढी बासिन्दालाई सुरक्षित क्षेत्रमा सारिएको छ । एनडीएमएले नागरिकलाई नदी, खोल्सा र तल्लो क्षेत्रहरूबाट टाढा रहन, अनावश्यक यात्रा नगर्न र मिडिया, मोबाइल सन्देश तथा आफ्नो विपद् चेतावनी एपमार्फत प्रसारित सूचनालाई ध्यानपूर्वक पालना गर्न आग्रह गरेको छ ।
पछिल्लो दुई महिनायता मनसुनी वर्षाका कारण बाढीपहिरोको विपद् सामना गरिरहेको पाकिस्तानका लागि फेरि थप संकट थपिएको हो । उत्तरपश्चिमी बुनेर जिल्लामा यसै महिना आएको आकस्मिक बाढीमा ३ सयभन्दा बढी मानिसको ज्यान गएको थियो । स्थानीयले पूर्वचेतावनी नपाएको गुनासो गरेका थिए तर अधिकारीहरूले आकस्मिक आरीघोप्टे पानी पर्नुका कारण बाढी अनुमान गर्न नसकिएको बताएका छन् । जुन २६ यता पाकिस्तानमा मनसुनी वर्षाबाट निम्तिएको बाढीले हालसम्म ८ सयभन्दा बढीको ज्यान लिइसकेको छ । विवादित कश्मीर क्षेत्रमा मात्रै दर्जनौंको मृत्यु भएको छ भने भारत प्रशासित भागमा हजारौं विस्थापित भएका छन् । मनसुनी वर्षा सेप्टेम्बरसम्म चल्ने बताइएको छ ।
यस पटकको बाढी चेतावनी सन् १९६० मा विश्व बैंकको मध्यस्थतामा भएको सिन्धु जल सन्धिअन्तर्गतको स्थायी संयन्त्र (सिन्धु जल आयोग) बाट नभई प्रत्यक्ष कूटनीतिक माध्यममार्फत पठाइएको हो । गत अप्रिलमा कश्मीरमा २६ जना पर्यटक मारिएपछि भारतले उक्त आयोग स्थगित गरेको थियो । पाकिस्तानले भने यो सन्धि एकतर्फी खारेज गर्न नसकिने स्पष्ट पारेको छ ।
सिन्धु जल सन्धि विगतमा १९६५ र १९७१ का युद्ध र १९९९ को ठूलो सीमा झडपको अवस्थामा पनि तोडिएको थिएन । तर पहलगाममा पर्यटक हत्यापछि भारतले सन्धि निलम्बन मात्र नगरी कूटनीतिक सम्बन्ध पनि कटौती गरेको थियो । जसको परिणामस्वरूप मे महिनामा दुवै पक्षबीच मिसाइल आक्रमणसमेत भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा युद्धविराम भएपछि मात्र आक्रमण रोकिन पुगेको थियो । त्यसयता सम्बन्ध सामान्यीकरणका प्रयास देखिएको छैन ।
विज्ञ र मौसमविद्हरूले यस क्षेत्रमा बढ्दो वर्षालाई जलवायु परिवर्तनको असर ठहर गरेका छन् । यस वर्षको वर्षाले २०२२ को विनाशकारी बाढी दोहोरिने डर पैदा गरेको छ । २०२२ को विनाशकारी बाढीले देशको एकतिहाइ भूभाग डुबाएको थियो र १ हजार ७ सय ३९ जनाको मृत्यु भएको थियो ।
