म्यान्मामा हवाई हमला, १२ को मृत्यु

विदोही समूह अराकान सेनाका प्रवक्ता खाइङ थु खाले पनि घटनामा पाँच बालबालिकासहित १२ जनाको ज्यान गएको र २० जना घाइते भएको पुष्टि गरे ।

भाद्र १०, २०८२

एजेन्सी

Airstrikes in Myanmar, 12 killed

What you should know

मराउक यु — म्यान्माको पश्चिमी राखिन राज्यअन्तर्गतको मराउक यु नगरमा सोमबार राति भएको हवाई हमलामा परी कम्तीमा १२ जनाले ज्यान गुमाएका छन् ।

स्थानीयका अनुसार राति करिब ११ बजेतिर उक्त हमला भएको हो । राखिन राज्य विगत केही समयदेखि द्वन्द्वमा फसेको छ, जहाँ सेनाले विद्रोही समूहहरूसँग संघर्ष गरिरहेको छ । विदोही समूह अराकान सेनाका प्रवक्ता खाइङ थु खाले पनि घटनामा पाँच बालबालिकासहित १२ जनाको ज्यान गएको र २० जना घाइते भएको पुष्टि गरे । २०२३ मा तत्कालीन निर्वाचित सरकारलाई हटाएर सेनाले सत्ता हातमा लिएपछि देश गृहयुद्धमा छ ।

स्थानीय निवासी माउङ थान चायले उक्त हमलामा आफ्ना तीन नातिनातिना गुमाउनुपरेको बताउँदै भनिन्, ‘यो मेरो जीवनको सबैभन्दा ठूलो पीडादायी घटना बनेको छ, हामीसँग खानेकुरा छैन, बस्ने ठाउँ छैन, भाँडा छैनन्, पैसा पनि छैन । सबै कुरा नष्ट भयो ।’ मंगलबार बिहान कम्तीमा १० वटा शवहरू सार्वजनिक रूपमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

राखिन राज्यका १७ नगरमध्ये अहिले म्यानमार सेनाको नियन्त्रणमा ३ नगर मात्र छन् । सेनाले आगामी १२ नोभेम्बरदेखि चरणबद्ध रूपमा निर्वाचन सम्पन्न गर्ने योजना बनाए पनि विद्रोही समूह अराकान सेनाले भने आफ्नो प्रभाव क्षेत्रभित्र निर्वाचन हुन नदिने घोषणा गरिसकेको छ । राखिन क्षेत्रमा सैनिक बल र विद्रोही समूहहरू दुवै पक्षमाथि विगतदेखि नै मानवअधिकार उल्लंघनका गम्भीर आरोप लाग्दै आएका छन् । पछिल्ला केही महिनामा द्वन्द्वको प्रभावले करिब २० प्रतिशत जनता विस्थापित भइसकेका छन् ।

संयुक्त राष्ट्रसंघले प्रकाशित गरेको पछिल्लो विवरणअनुसार, राखिन राज्यको मध्यभागमा ५७ प्रतिशत परिवार दैनिक खाद्यान्न जुटाउन असमर्थ छन् । यो अघिल्लो पुस महिनाको तुलनामा निकै भयावह वृद्धि हो । दुर्गम स्थानहरूमा अवस्था झनै गम्भीर रहेको अनुमान गरिएको छ ।

एजेन्सी

Link copied successfully