युद्धपछि भोकमरीको चपेटामा गाजा, युद्धविराममा इजरायलको हठ

संयुक्त राष्ट्रसंघ समर्थित एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आईपीसी) ले अगस्ट २२, २०२५ मा गाजा र आसपासका क्षेत्रमा औपचारिक रूपमा भोकमरी घोषणा गरेको हो ।

भाद्र ७, २०८२

दया दुदराज

Gaza in the grip of famine after the war, Israel's insistence on a ceasefire

What you should know

काठमाडौँ — संयुक्त राष्ट्रसंघले गाजामा अनिकालको औपचारिक घोषणा गरेको छ ।

संयुक्त राष्ट्रसंघ समर्थित एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आईपीसी) ले अगस्ट २२, २०२५ मा गाजा र आसपासका क्षेत्रमा औपचारिक रूपमा भोकमरी घोषणा गरेको हो ।

रोमस्थित आईपीसीले भनेको छ, ‘सन् २०२५ अगस्ट १५ सम्ममा गाजामा अनिकाल पुष्टि भएको छ ।’ इजरायलले हमासविरुद्ध आक्रमण तीव्र पारेपछि महिनौँदेखि मानवीय अवस्था बिग्रँदै गएको रिपोर्टले जनाएको छ । रिपोर्टका अनुसार गाजामा पाँच वर्षमुनिका ३० प्रतिशत बालबालिका कुपोषित छन् भने, प्रत्येक १० हजार मानिसहरूमध्ये कम्तीमा दुई जनाको मृत्यु दैनिक भोकमरी वा कुपोषण र रोगका कारण हुन्छ ।

हाल गाजा क्षेत्रमा करिब १० लाख मानिस बसोबास गर्छन् । अनिकाल सेप्टेम्बरको अन्त्यसम्ममा देइर अल–बालाह र खान युनिस प्रान्तहरूमा फैलिने संयुक्त राष्ट्रसंघको अनुमान छ । जसका कारण गाजाको लगभग छ लाख ४१ हजार मानिसहरूले भोकमरीको सामना गर्नुपर्ने छ ।

तर, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो रिपोर्टलाई झुट भएको बताएका छन् । प्रधानमन्त्री कार्यालयका तर्फबाट दिइएको वक्तव्यमा भनिएको छ, ‘इजरायलको नीति भोकमरी होइन । बरु भोकमरी रोक्ने नीति छ ।’ नेतान्याहुले अक्टुबर २०२३ देखि अहिलेसम्म गाजापट्टीमा २० लाख सहायता पुर्‍याएको दाबी गरेका छन् । नेतान्याहुले आईपीसीको रिपोर्टको आलोचना गरिएको वक्तव्यमा भनिएको छ, ‘पछिल्ला सबै आईपीसी रिपोर्टजस्तै यस रिपोर्टले पनि इजरायलको मानवीय प्रयास र हमासद्वारा राहत चोरी गरिएको विषयलाई बेवास्ता गरिएको छ ।’

कसरी भयो भोकमरी ?

आईपीसीका अनुसार, गाजाको भोकमरी पूर्ण रूपमा मानव निर्मित संकट हो । अक्टोबर ७, २०२३ मा हमासको आक्रमणपछि सुरु भएको इजरायल-गाजा युद्धले गाजाको अधिकांश पूर्वाधारहरु ध्वस्त भएका छन् । पूर्वाधारहरू ध्वस्त हुँदा १९ लाख जनसंख्या विस्थापित भएका छन् । उनीहरूले कहाँ-के खाने भन्ने कुनै टुंगो नहुँदा खानाबाट वञ्चित भएका हुन् । 

गाजाको ९८% खेतीयोग्य जमिन क्षतिग्रस्त छन्, जसका कारण उनीहरूले उत्पादन गर्न पाएका छन् । त्यस्तै, इजरायलले माछा मार्ने गतिविधिमा पनि प्रतिबन्ध लगाएपछि यसले थप प्रभाव पारेको हो । एकपक्षमा इजरायलले गाजामा उत्पादनलाई नष्ट गरेको छ ।

इजरायलले उत्पादनमा मात्रै रोक लगाएन नाकाबन्दी पनि लगाएको थियो । मार्च २०२५ मा इजरायलले गाजामा खाद्यान्न, पानी, औषधि र इन्धनको पूर्ण नाकाबन्दी लगाएको थियो । अन्तर्राष्ट्रिय दबाबपछि मेको अन्त्यमा आंशिक रूपमा नाकाबन्दी खुकुलो गरेको थियो । हाल गाजामा विस्थापित भएकाहरुका लागि दैनिक ६०० ट्रक आवश्यक पर्छ तर इजराययले आधा ट्रक मात्र प्रवेश गर्न दिएको छ ।

आईपीसीको यी आधारहरूलाई इजरायलले अस्वीकार गरेपनि अन्तर्राष्ट्रिय संगठनहरुले यसलाई तुरुन्तै समाधानतर्फ लैजानुपर्ने अभिव्यक्ति दिएका छन् । संयुक्त राष्ट्रसंघ र विभिन्न मानवअधिकार संगठनहरूले गाजाको भोकमरीलाई रोक्न तत्काल कारबाहीको माग गरेका हुन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजाको भोकमरीलाई ‘मानव निर्मित आपत र मानवताको असफलता’ भन्दै इजरायललाई खाद्य र चिकित्सा आपूर्तिको जिम्मेवारी लिन आह्वान गरेका छन् । 

प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय निकाय (यूएनआरडब्ल्यूए) ले पनि जोर्डन र इजिप्टमा रहेका आफ्ना गोदामहरूमा ६,००० ट्रक बराबरको खाद्यान्न, औषधि र सरसफाइ सामग्री गाजमा पठाउन तयार रहेको जनाएको छ । उनीहरूले इजरायललाई तत्काल सहायता प्रवेशको अनुमति दिन माग गरेका छन् । त्यस्तै, विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले तत्काल युद्धविराम र सहायता वितरणमा अवरोध हटाउन माग गरेको छ । 

हमासले युद्धविराम स्वीकार्दा अटेर गर्दै इजरायल

भोकमरी डरलाग्दो रूपमा बढेको हुँदा तुरुन्तै युद्धविराम नभए यसले ठूलो क्षति निम्त्याउने संयुक्त राष्ट्र संघले चेतावनी दिएको छ । हमास युद्धविरामका लागि तयार छ । तर इजरायलले भने युद्धविरामबारे खासै चासो देखाएको छैन । कतार र इजिप्टले हमासलाई युद्धविरामको प्रस्ताव गरेको थियो । हमासले सो प्रस्ताव स्वीकार गर्दै बन्दीहरू रिहाइ गर्ने बताएका थिए  । तर, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले नयाँ सर्तहरू थप्दै युद्धविराम अस्वीकार गरेर गाजामा आक्रमण गरिरहेको छ ।

२३ अगस्ट २०२५ सम्म, इजरायलले गाजा सहरलाई घेराबन्दी गरेर नियन्त्रणमा लिने उद्देश्यका साथ इजरायलले आक्रमण जारी राखेको छ । अलजजिराका अनुसार पछिल्लो २४ घण्टाभित्र गाजामा कम्तीमा ७० प्यालेस्टिनी मारिएका छन् । उनीहरूले आक्रमण मात्रै गरेका छैनन् गाजा सहर ध्वस्त बनाउने चेतावनीसमेत दिएका छन् । इजरायली रक्षामन्त्री इजरायल काट्जले इजरायली सर्तहरूलाई नमाने गाजा ध्वस्तै बनाउने चेतावनी दिएका हुन् ।

अक्टोबर ७, २०२३ देखि जारी युद्धमा हालसम्म ६२ हजार भन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन्, जसमध्ये हजारौँ बालबालिका छन् । भोकमरी र कुपोषणका कारण २६६ जनाको मृत्यु भएको छ, जसमा ११२ बालबालिका छन् । त्यस्तै लाखौं मानिस घाइते भएका छन्, गाजाका ८८% जनसंख्या (लगभग १९ लाख) विस्थापित भएका छन् ।

दया दुदराज दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully