संयुक्त राष्ट्रसंघद्वारा गाजामा अनिकालको घोषणा

मध्यपूर्वमा पहिलो पटक अनिकाल परेको र पाँच लाख मानिसले ‘विनाशकारी’ भोकमरीको सामना गर्नुपरेको विज्ञहरूले चेतावनी दिएका छन् ।

भाद्र ६, २०८२

रासस

UN declares famine in Gaza

What you should know

काठमाडौँ — संयुक्त राष्ट्रसंघले शुक्रबार गाजामा अनिकालको औपचारिक घोषणा गरेको छ । मध्यपूर्वमा पहिलो पटक अनिकाल परेको र पाँच लाख मानिसले ‘विनाशकारी’ भोकमरीको सामना गर्नुपरेको विज्ञहरूले चेतावनी दिएका छन् ।

संयुक्त राष्ट्रसंघका उच्च अधिकारीहरूले युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा सहायता वितरणमा इजरायलले ‘सुनियोजित अवरोध’ पुर्‍याएको आरोप लगाएका छन् । इजरायलको विदेश मन्त्रालयले गाजा सहर र आसपासमा अहिले अनिकाल परेको घोषणा ‘निहित स्वार्थ भएका संगठनहरूमार्फत हमासको झूटमा आधारित’ रहेको बताएको छ ।

अनिकालको आँकलन संयुक्त राष्ट्रसंघले आसन्न संकटबारे चेतावनी दिने जिम्मा पाएको अनुगमनकर्ताहरूको गठबन्धन ‘इन्टिग्रेटेड फुड सेक्युरिटी फेज क्लासिफिकेसन इनिसियटिभ (आईपीसी)’ ले गरेको थियो । यसले २० प्रतिशत घरधुरीमा खाद्यान्नको चरम अभाव हुँदा अनिकाल हुने भनी परिभाषित गरेको छ। गाजामा पाँच वर्षमुनिका ३० प्रतिशत बालबालिका कुपोषित छन् । प्रत्येक १० हजार मानिसहरूमध्ये कम्तीमा दुई जनाको मृत्यु दैनिक भोकमरी वा कुपोषण र रोगका कारण हुन्छ ।

संयुक्त राष्ट्रसंघका निकायहरूले इजरायलले हमासविरुद्ध आक्रमण तीव्र पारेपछि झनै बिग्रिएको र गाजामा महिनौँदेखि मानवीय अवस्था बिग्रँदै गएको बताएका छन् । रोमस्थित आर्इिपसीले भनेको छ, “सन् २०२५  अगष्ट १५ सम्ममा गाजाको प्रशासनिक प्रान्तमा अनिकाल (आईपीसी चरण ५) उचित प्रमाणसहित पुष्टि भएको छ ।

 संयुक्त राष्ट्रसंघको अनुमानअनुसार हाल गाजा क्षेत्रमा करिब १० लाख मानिस बसोबास गर्छन् । अनिकाल सेप्टेम्बरको अन्त्यसम्ममा देइर अल–बालाह र खान युनिस प्रान्तहरूमा फैलिने र यसले गाजाको कुल जनसङ्ख्याको तीन चौथाईभन्दा बढी वा लगभग छ लाख ४१ हजार मानिसहरू समावेश रहेका आइपिसीले अनुमान गरेको छ ।

आइपिसीले गाजा पट्टीमा भोकमरीको विश्लेषण गर्न थालेदेखि स्थितिमा सबैभन्दा गम्भीर गिरावट आएको रिपोर्ट गरेको छ, जसलाई यसले ‘पूर्ण रूपमा मानव सिर्जित’ भनेको छ ।

द्वन्द्वमा तीव्र वृद्धि र ठूलो सङ्ख्यामा मानिसहरू विस्थापित हुनुका साथै खाद्यान्नको मानवीय र व्यावसायिक आपूर्तिमा पहुँचमा गम्भीर प्रतिबन्धका कारण यो परिवर्तन आएको बताइएको छ। मार्चको सुरुमा, इजरायलले गाजाबाट सहायता आपूर्तिमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको थियो भने मेको अन्त्यमा धेरै सीमित मात्रामा मात्र सहायता प्रवेश गर्न अनुमति दिएको थियो । यसले गर्दा खाद्यान्न, औषधि र ईन्धनको गम्भीर अभाव भएको हो ।

रासस

Link copied successfully