गाजामा नियन्त्रण गर्ने योजना अनुसार इजरायली सेनाको कारबाही सुरु

इजरायलले गाजामा ६० हजार सैनिक तैनाथ गर्ने योजना बनाएको छ, जसले हमाससँगको तनावलाई थप बढावा दिने सम्भावना छ।

भाद्र ५, २०८२

एजेन्सी

Israeli military operations begin in accordance with the plan to control Gaza

What you should know

तेल अवीव — इजरायली सेनाले गाजा शहरलाई नियन्त्रणमा लिने योजनाअनुसार कारबाही सुरु गरेको छ । इजरायली सेनाका अनुसार गाजा शहरको बाहिरी क्षेत्रमा उसको पूर्ण नियन्त्रण भइसकेको छ । 

नियन्त्रणका लागि जैतुन र जबालिया क्षेत्रमा सैनिक पहिलेदेखि नै तैनाथ गरिएको छ । मंगलबार इजारायली रक्षामन्त्री इजरायल कात्जले गाजामा नियन्त्रण गर्ने सैन्य अभियानलाई अनुमति दिएका छन् । र यसै साताको अन्त्यमा उक्त योजनालाई सुरक्षा परिषद्मा राखिने भएको छ । 

यस योजना अन्तर्गत ६० हजार रिजर्ब सैनिकलाई सेप्टेम्बरको सुरुआतमा बोलाइने अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले उल्लेख गरेको छ । यस अभियानमा सक्रिय ड्यूटीमा तैनाथ जवानलाई पनि समावेश गरिनेछ । 

समाचार एजेन्सी रोयटर्सका अनुसार हमासले इजरायलले निर्दोष नागरिकविरुद्ध निर्मम युद्ध जारी राख्न चाहेको आरोप लगाएको छ ।  यसै कारण युद्धविराममा विभिन्न बाधा उत्पन्न गराइराखेको हमासको आरोप छ । 

गाजा पट्टीको उत्तरी क्षेत्रस्थित गाजा शहरमा लाखौं प्यालेस्टिनी नागरिक रहँदै आएका छन् । युद्धअघि सबैभन्दा धेरै बसोबास रहेको शहर हो यो । 

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले फक्स न्युजसँग कुरा गर्दै इजरायलको योजना गाजापट्टीमा नियन्त्रण मात्र नभइ यसलाई अरब देशहरुलाई सम्पिन चाहेको बताएका थिए । विश्वभरका नेताहरुले यो अभिव्यक्तिलाई लिएर आलोचना गरेका थिए । संयुक्त राष्ट्रसंघले यस्तो कारबाहीले ठूलो संख्यामा विस्थापन र अधिक हत्या हुने चेतावनी दिएको थियो । 

बेन्जामिनको एक अर्को अभिव्यक्तिमा इजरायल डिफेन्स फोर्स अर्थात् (आईडीएफ) गाजा शहरलाई नियन्त्रणमा लिन तयार रहेको बताएका थिए । 

उनको बयानमा युद्ध अन्त्यका लागि पाँच सिद्धान्त दिइएको छ । जसमा हमासलाई निरस्त्रीकरण, सबै बन्धक फिर्ता (जिवित या मृत), गाजापट्टीमा सैन्यीकरणको अन्त्य, गाजापट्टीमा इजरायलको सुरक्षा नियन्त्रण र एक वैकल्पिक नागरिक प्रशासनको स्थापना जो हमास या प्यालेस्टाइनको संलग्नता नहुने । 

आईडीएफले गाजा शहरमा नियन्त्रणको तयारी भइरहेको र युद्धक्षेत्रभन्दा बाहिरी क्षेत्रमा रहने नागरिकलाई मानवीय सहायता उपलब्ध गराइने बताएको छ । 

तर यस्तो सहायता कुनै नयाँ हुने या पुन:इजरायल र अमेरिका समर्थित विवादास्द गाजा ह्युमेनेटेरियन फाउन्डेशनमार्फत उपलब्ध गराइने भन्ने कुरा स्पष्ट पारिएको छैन । 

इजरायलको मन्त्रिपरिषद् बैठक अघि गाजापट्टीमै पूर्ण नियन्त्रण चाहेको बताएका थिए । तर नयाँ योजना अन्तर्गत उनले गाजा शहरको मात्र उल्लेख गरेका छन् । 

इजरायली मिडिया रिपोर्ट अनुसार यस मुद्दामा प्रधानमन्त्री र सेना प्रमुखबीच चर्को बहस भएको थियो । सेना प्रमुखले गाजामा नियन्त्रणको विरोध गरेको बताइएको छ । 

हाल ७५ प्रतिशत क्षेत्र नियन्त्रणमा लिएको इजरायलको दाबी छ । तर संयुक्त राष्ट्रसंघले भने ८६ प्रतिशत क्षेत्र सैन्य क्षेत्र बनेको दाबी गरेको छ । केही विश्लेषकहरुले भने गाजामा नियन्त्रणको धम्की हमासलाई दबाबमा राख्ने रणनीति रहेको बताएका छन् । 

एजेन्सी

Link copied successfully