सोमबार ह्वाइट हाउसमा भेटपूर्व ट्रम्पले युक्रेनले क्रिमिया रुसलाई दिने र नेटोमा नजोडिने सुझाव दिए।
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि रुससँगको युद्ध अन्त्य गर्ने सम्झौता स्वीकार गर्न दबाब बढाएका छन् । उनले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले युद्द अन्त्य गर्नका लागि जतिसक्दो छिटो सहमति गर्न दबाब दिएका हुन् ।
सोमबार ह्वाइट हाउसमा भेट हुनुपूर्व ट्रम्पले शान्ति सम्झौताका लागि युक्रेनले क्रिमियामाथि दाबी छाडेर रुसलाई दिनुपर्ने र नेटोमा पनि सहभागि हुन नपाउने बताएका हुन् ।
'युक्रेनका राष्ट्रपति जेलेन्स्कीले चाहेमा रुससँगको युद्ध तुरुन्तै अन्त्य गर्न सक्छन् वा लडाइँ जारी राख्न सक्छन्,’ ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमा लेखेका छन्, ‘याद गर्नुहोस् यो कसरी सुरु भयो । ओबामाले १२ वर्षअघि एउटा गोली पनि नचलाई क्रिमिया दिए ।
नेटोमा युक्रेन सहभागी हुन नपाउने पनि ट्रम्पको चेतावनी छ । अल जजिराका अनुसार ट्रम्पले पुटिनको पक्ष लिँदै शान्ति सम्झौताका लागि दबाब दिएको देखिन्छ । पुटिनले गत शुक्रबार अलास्कामा भएको वार्तामा क्रिमियालगायतका भू-भाग फिर्ता पाउनुपर्ने बताएका थिए । त्यस्तै सोही वार्तामा उनले युक्रेन नेटोमा सहभागी हुन नपाउने समेत सर्त राखेका थिए ।
युक्रेनी राष्ट्रपति जेलेन्स्की भने यसमा सहमत छैनन् । ट्रम्पले गत शुक्रबार पुटिनसँगको वार्ता सकिएपछि जेलेन्स्कीसँग सो प्रस्ताव गरेका थिए । तर जेलेन्स्कीले सो प्रस्ताव अस्वीकार गरेका थिए ।
