अलास्का वार्ता : ट्रम्प रिझाइरहे, पुटिनले अडान छाड्नै मानेनन्

ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा राष्ट्रपतिमा निर्वाचित भएको २४ घण्टामै रुस-युक्रेन युद्धविराम गराउने घोषणा गरेका थिए। तर नौ महिनापछि शुक्रबार भएको भेटमा ट्रम्पको घोषणाबमोजिम कुनै सहमति भएन। बरु वार्ताकै क्रममा रुसले युक्रेनमाथि ठुलो मात्रामा हवाई आक्रमण गरेको छ।

श्रावण ३१, २०८२

दया दुदराज

Alaska talks: Trump continues to rage, Putin refuses to budge

What you should know

काठमाडौँ — अलास्कामा शुक्रबार भएको ट्रम्प-पुटिनको भेटघाट यति बेला चौतर्फी चर्चाको विषय बनेको छ। रुस-युक्रेन युद्धविरामबारे सहमति गर्ने अपेक्षा गरिएको थियो । तर वार्तामा युद्धविरामबारे सहमति भएको खुलेको छैन। ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा राष्ट्रपतिमा निर्वाचित भएको २४ घण्टामै युद्धविराम गर्ने घोषणा गरेका थिए ।

उनी निर्वाचित भएपछि पुटिनसँग पहिलो भेट भएको हो। तर ट्रम्पको चुनावी घोषणाबमोजिम कुनै सहमति भने भएन। बरु वार्ताकै क्रममा रुसले युक्रेनमाथि ठुलो मात्रामा हवाई आक्रमण गर्‍यो । शुक्रबारदेखि रुसले युक्रेनमाथि ठुलो मात्रामा हवाई आक्रमण गर्दै ८५ वटा आत्मघाती ड्रोन र एक ‘इस्कान्दर–एम’ प्रकारको बेलिस्टिक मिसाइल प्रहार गरेको थियो । 

वार्तामा के भयो ?

ट्रम्प र पुटिनबीचको वार्ता ६/७ घण्टासम्म चल्न सक्ने भनिएको थियो। तर वार्ता ३ घण्टामै टुङ्गियो । बन्द कोठामा भएको वार्तामा ट्रम्पसँगै मार्को रुबियो र विट कफका साथै केही अन्य अधिकारीहरू थिए । रुसी पक्षमा पुटिनसँगै सर्गेई लाभरोभ, अर्थमन्त्री एन्टोन सिलुआनोभ र आर्थिक सल्लाहकार किरिल दिमित्रीभ थिए।

यद्यपि, बैठकमा दुवै पक्षबीच कुनै ठोस सहमति भने हुन सकेन । छलफलपछिको पत्रकार सम्मेलनमा ट्रम्प र पुटिन दुवैले वार्ता सकारात्मक भएको बताए । ‘केही प्रगति भएको छ । धेरै बुँदामा सहमति भएको छ, केही मात्रै बाँकी छन्,’ ट्रम्पले भने । तर के-के बुँदामा सहमति भयो भन्ने बारे भने उनले खुलाएनन् ।

त्यस्तै, पुटिनले पनि केही बुँदामा सहमति भएको बताए। तर त्यो सहमति के हो भन्नेबारे बोलेनन् । पुटिनले भने, ‘हामी अपेक्षा गर्छौँ कि किभ र युरोपेलीहरूले यसलाई सकारात्मक रूपमा लिनेछन् र अवरोध खडा गर्ने छैनन्।’ वार्तापछिको पत्रकार सम्मेलनमा उनीहरूले पत्रकारका प्रश्नहरूको सम्बोधन गरेनन् । उनीहरू आफ्ना कुरा राखेर मञ्चबाट निस्किए ।

ट्रम्प रिझाइरहे, पुटिनले अडान छाडेनन् 

यो भेट २०१९ पछिको पहिलो भेट हो । ट्रम्प र पुटिनले २०१९ पछि पहिलो पटक आमनेसामने भेटेका हुन्। यसपटक ट्रम्प पुटिनप्रति निकै नम्र देखिए । पुटिनको स्वागतदेखि पत्रकार सम्मेलनमा देखाएको नम्रताले उनी पुटिनलाई चिढाउन चाहँदैनन् भन्ने प्रष्ट हुन्छ। तर विश्लेषकहरू ट्रम्पले पुटिनलाई थप शक्तिशाली बनाएको दाबी गर्छन् ।

दशकपछि अमेरिकी भूमिमा पुगेका पुटिनलाई लडाकु विमान र रेड कार्पेटद्वारा स्वागत गरिएको थियो । त्यस्तै, वार्ता पछिको पत्रकार सम्मेलनमा पनि पुटिनलाई पहिले बोल्ने दिइएको थियो। पुटिनले यो अवसरको सदुपयोग गर्दै युक्रेन युद्धलाई आफ्नै दृष्टिकोणबाट प्रस्तुत गरे ।

Alaska talks: Trump continues to rage, Putin refuses to budge

पुटिनले रुसी-युक्रेनको युद्धको कारणबारे व्याख्या गरे । पत्रकार सम्मेलनमा पुटिन बोलिरहँदा ट्रम्प मुस्कुराइरहेका थिए। वार्ताअघि ट्रम्प रुसप्रति आक्रामक देखिएका थिए । गत जुलाईको भाषणमा बोल्दै उनले युद्धविराम नभए रुसलाई नराम्रो हुने भनेका थिए । तर उनी त्यसरी प्रस्तुत भएनन् । भेटमा भने शान्त देखिए । 

ट्रम्पले यति धेरै रिझाइरहँदा पनि पुटिनले आफ्नो अडान भने छाडेनन् । पुटिनले युद्धविरामका लागि चार अडान राखेका छन् । युक्रेनको केही भुभाग रुसी नियन्त्रणमा जाने,  युक्रेनको सेना घटाउने, युक्रेनलाई नेटोमा सहभागी नगराउने र युक्रेनको सरकार परिवर्तन गर्ने अडान राखेको अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले लेखेको छ । 

वर्षौँदेखि पश्चिमा मुलुकहरूबाट एक्लिएका पुटिनले वार्ताका लागि अमेरिका पुग्नुअघि नै जित सुनिश्चित गरिसकेका थिए । वार्ताबाट फर्किँदा पनि शक्ति आर्जन गरेर फर्किए । उनले ट्रम्पसँग सम्बन्धलाई पनि थप मजबुत बनाएर फर्किए।  

Alaska talks: Trump continues to rage, Putin refuses to budge

पत्रकार सम्मेलनकै क्रममा ट्रम्पले फेरि भेट्ने भन्दै गर्दा पुटिनले अर्को भेट मस्कोमा हुनुपर्ने बताएका थिए। यसमा ट्रम्प सकारात्मक देखिएका थिए । उनले भनेका थिए, ‘ओहो, रोचक कुरा ! यसमा मेरो अलिकति आलोचना होला । तर, यस्तो हुन सक्छ ।’

ट्रम्प रुस जान्छन् कि जाँदैनन् त्यो समयले भन्ला । तर उनी रुस गए भने यो पक्कै ऐतिहासिक हुने छ । अमेरिकी राष्ट्रपतिले पछिल्लो समय २०१३ मा रुस भ्रमण गरेका थिए । तत्कालीन राष्ट्रपति बराक ओबामा जी २० को सम्मेलनमा सेन्ट पिटर्सबर्ग पुगेका थिए ।

मारमा जेलेन्स्की

पुटिनसँगको भेट लगत्तै ट्रम्पले जेलेन्स्कीलाई अमेरिका आउन निम्तो दिएका छन् । पुटिनसँगको वार्ता सक्किएलगत्तै ट्रम्पले जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबार बिहान पुटिनसँग तीन घण्टा वार्ता गरेर वाशिङटन फर्कँदै गर्दा ट्रम्पले एयर फोर्स वान बाटै जेलेन्स्कीसँग टेलिफोन संवाद गरेका थिए ।

ट्रम्पको निम्तो स्विकार्दै उनी सोमबार अमेरिका जाने बताएका छन् । यसअघि गत फेब्रवरीमा पनि जेलेन्स्की अमेरिकाको निम्तोमा ह्वाइट हाउस गएका थिए । त्यति वेला ट्रम्पले देखाएको व्यवहारले वार्ता नै आलोचित बनेको थियो ।

फेब्रवरी २०२२ देखि जारी रुस-युक्रेन युद्धमा सबैभन्दा मारमा युक्रेन छ । ट्रम्पले पुटिनको अडान अनुसार युक्रेनको भूमि रुसमा दिन लगाउँछन् वा युद्ध जारी राख्ने निर्णय गर्छन् त्यो भेटपछि नै थाहा हुन्छ । तर जेलेन्स्की मारमा परेका छन् । उनी युद्ध विराम गर्न चाहन्छन् तर भूमि गुमाउन चाहँदैनन् । पुटिन भू-भाग ओगटेर युद्ध रोक्ने अडान लिएर बसेका छन् ।

(एजेन्सीहरूको सहयोगमा)

दया दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully