अब भारत 'न्युक्लियर ब्ल्याकमेलिङ' सहनेवाला छैन : मोदी

मोदीले सिन्धु सम्झौता अन्यायपूर्ण भएको भन्दै भारतीय कृषकको हकमा रगत र पानी सँगसँगै नबग्ने चेतावनी दिएका छन्।

श्रावण ३०, २०८२

कान्तिपुर संवाददाता

Now India will not tolerate 'nuclear blackmailing': Modi

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले परमाणु धम्की नसहने बताएका छन् । शुक्रबार भारतको स्वतन्त्रता दिवसका अवसरमा दिल्लीको लाल किल्लामा सम्बोधन गर्दै मोदीले पाकिस्तानप्रति लक्षित गर्दै अब त्यस्ता धम्की नसहने बताएका हुन् । 

अपरेसन सिन्दूरमा भारतीय सेनाले वीरतापूर्ण प्रदर्शन गरेको भन्दै मोदीले भने, 'भारतले अब यो तय गरिसकेको छ अब हामी न्युक्लियरको धम्की सहनेवाला छैनौँ । अब ब्ल्याकमेलिङ सहँदैनौँ ।'

त्यस्तै मोदीले भारतका नदीको पानीले दुश्मनहरूको खेत सिञ्चित भएको पनि बताएका छन् । उनले अगाडि भने, 'भारतले यो तय गरेको छ कि रगत र पानी सँगसँगै बग्दैन ।'

भारतका नदीमाथि भारतीय किसानकै हक भएको उल्लेख गर्दै मोदीले भनेका छन्, 'यसमाथि हिन्दुस्तानका किसानको हक छ । सिन्धु सम्झौता एकतर्फी र अन्यायपूर्ण थियो । राष्ट्रहितको दृष्टिकोणले हेर्दा यो सम्झौता मन्जुर छैन ।'

कान्तिपुर

Link copied successfully