विश्वभरका सञ्चारमाध्यममा महिला नेतृत्व चिन्ताजनक, शीर्ष पदमा पुरुषको वर्चस्व कायमै

‘वुमन एन्ड लिडरसिप इन द न्युज मिडिया २०२५’ नामक प्रतिवेदनअनुसार सर्वेक्षण गरिएका १२ देशका २४० प्रमुख सञ्चारमाध्यमहरूमा २७ प्रतिशत मात्रै महिला नेतृत्व रहेको पाइएको हो । 

श्रावण ३०, २०८२

कान्तिपुर संवाददाता

Female leadership in media around the world is alarming, male dominance in top positions remains

What you should know

काठमाडौँ — रोयटर्स इन्स्टिच्युटले गरेको नयाँ अध्ययनले विश्वभरका प्रमुख समाचार संस्थाहरूको नेतृत्व तहमा महिलाहरूको उपस्थिति अत्यन्तै न्यून रहेको देखाएको छ । ‘वुमन एन्ड लिडरसिप इन द न्युज मिडिया २०२५’ नामक प्रतिवेदनअनुसार सर्वेक्षण गरिएका १२ देशका २४० प्रमुख सञ्चारमाध्यमहरूमा २७ प्रतिशत मात्रै महिला नेतृत्व रहेको पाइएको हो । 

पत्रकारिता पेसामा औसतमा ४० प्रतिशत महिला भए पनि उनीहरूलाई नेतृत्व तहमा पुग्न ठूलै समस्या रहेको अध्ययनले देखाएको छ । सर्वेक्षण गरिएका सबै १२ वटा देशको सञ्चारमाध्यमहरूको नेतृत्व पदमा पुरुषहरूकै बाहुल्यता रहेको पाइएको हो । 

अध्ययनअनुसार बेलायतमा सबैभन्दा बढी अर्थात ४६ प्रतिशत पत्रकार महिला सम्पादक तहमा रहेका छन् भने दक्षिण कोरियामा यो संख्या केवल ७ प्रतिशतमा सीमित छ । यस वर्ष बेलायतले अमेरिकालाई पछि पार्दै शीर्ष स्थान हासिल गरेको हो । अमेरिका ३८ प्रतिशतसहित दक्षिण अफ्रिकासँगै दोस्रो स्थानमा पुगेको अध्ययनले देखाएको छ । पत्रकारिताको शीर्ष तहमा देखिएको लैंगिक असमानतामा अमेरिकाको अवस्था निरन्तर खस्कँदो छ । 

अध्ययन गरिएका सबै देशको तथ्यांक हेर्दा सामान्य सुधार मात्र देखिएको छ ।  सन् २०२० मा सञ्चारमाध्यमको नेतृत्वमा २३ प्रतिशत मात्रै महिला थिए भने २०२५ मा त्यो संख्या बढेर २८ प्रतिशतसम्म पुगेको छ ।  यो परिवर्तन पनि सबै देशमा एकरूपतासमेत छैन । ६ देशमा सुधार देखिए पनि दक्षिण अफ्रिका, दक्षिण कोरिया र अमेरिका जस्ता देशहरूमा भने यो संख्या घटेको देखिन्छ । 

पछिल्लो एक वर्षमा नियुक्त भएका ३२ नयाँ सम्पादकहरूमध्ये ३४ प्रतिशत महिला थिए । यो संख्या समग्र औसतभन्दा बढी भए पनि लैंगिक समानताको लक्ष्यभन्दा धेरै पर रहेको अध्ययनले देखाएको छ ।

कान्तिपुर

Link copied successfully