अमेरिकाबाट हतियार तथा विमान खरिद गर्ने योजना भारतद्वारा स्थगित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय वस्तुको निर्यातमाथि लगाएको ५० प्रतिशत भन्सार महसुल (ट्यारिफ) को प्रतिक्रियास्वरूप भारतले उक्त कदम चालेको बताइएको छ ।

श्रावण २५, २०८२

कान्तिपुर संवाददाता

India postpones plans to purchase arms and aircraft from the US

What you should know

काठमाडौँ — भारतले अमेरिकाबाट नयाँ हतियार र विमान खरिद गर्ने योजना हाललाई स्थगित गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय वस्तुको निर्यातमाथि लगाएको ५० प्रतिशत भन्सार महसुल (ट्यारिफ) को प्रतिक्रियास्वरूप भारतले उक्त कदम चालेको बताइएको छ ।

रोयटर्स समाचार संस्थाले तीन जना भारतीय अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार भारतले केही साताभित्रै रक्षामन्त्री राजनाथ सिंहलाई हतियार खरिदको घोषणा गर्न वासिङ्टन पठाउने योजना बनाएको थियो । तर, अहिले उक्त भ्रमण रद्द गरिएको छ । 

रोयटर्सका अनुसार भारतले जनरल डाइनामिक्स ल्यान्ड सिस्टम्सले बनाउने ‘स्ट्राइकर’ लडाकु गाडी र रेथिअन तथा लकहिड मार्टिनले विकास गरेको ‘ज्याभलिन’ एन्टिट्यांक क्षेप्यास्त्र खरिद गर्ने विषयमा भएको छलफल हाललाई रोकिएको छ । यद्यपि, भारतले शुक्रबार विज्ञप्ति जारी गर्दै हतियार वार्ता रोकिएको खबर ‘झूटो र कपोलकल्पित’ भएको जनाएको छ । 

यस साताको सुरुमा ट्रम्पले भारतीय सामग्रीमाथि २५ प्रतिशत थप कर लगाएपछि दुई देशबीचको सम्बन्धमा तिक्तता आएको छ । ट्रम्पले रुस–युक्रेन युद्धमा मस्कोलाई आर्थिक सहयोग गरेको भन्दै भारतलाई दण्ड दिन यसो गरिएको बताएका छन् । यससँगै भारतीय वस्तुको निर्यातमा कुल भन्सार शुल्क ५० प्रतिशत पुगेको छ । ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि फेब्रुअरीमा यी सामग्रीको खरिद र संयुक्त उत्पादनको योजना अगाडि बढाउने तयारी गरेका थिए ।

ट्यारिफ र दुई देशबीचको सम्बन्ध कुन दिशामा मोडिन्छ भन्ने विषयमा थप स्पष्टता आएपछि भारतले रक्षा सामग्री खरिदको प्रक्रिया अगाडि बढाउन सक्ने तर अहिले आशा गरिएजस्तो चाँडै नहुने भारतीय एक अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।

अमेरिका र उसका युरोपेली सहयोगीहरूले आ–आफ्नो स्वार्थअनुरूप मस्कोसँग व्यापार गरिरहेको औँल्याउँदै नयाँदिल्लीले आफूलाई भने अनुचित तरिकाले निसाना बनाइएको प्रतिक्रिया दिँदै आएको छ ।

अमेरिका निर्यात हुने भारतीय वस्तुमा लगाइएको भारी करको प्रभावबारे छलफल गर्न प्रधानमन्त्री मोदीले शुक्रबार उच्चस्तरीय मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । ट्रम्पले भने वर्तमान तनाव समाधान नभएसम्म भारतसँग व्यापार वार्ता नगर्ने बताएका छन् ।

ट्रम्पले रुस–युक्रेन युद्धमा मस्कोमाथि आर्थिक दबाब बढाउन भारतलाई यो दण्डात्मक कर लगाएको एनडीटीको विश्लेषण छ । भारत रुसी तेलको दोस्रो ठूलो खरिदकर्ता हो । ट्रम्पले रुसलाई पनि युद्धविरामका लागि सहमत हुन ५० दिनको समयसीमा तोकेका छन् । उनले रुसी तेलका सबै खरिदकर्तामाथि दण्डात्मक कर लगाउने बताएका थिए ।

पछि उनले यो समय घटाएर १२ दिन बनाए, जुन शुक्रबार समाप्त भइसकेको छ । उनले भारतीय निर्यातमा लगाएको भन्सार महसुल अगस्ट २७ देखि लागू बताइएको छ ।

कान्तिपुर

Link copied successfully