सुडानको एल–फाशेरमा कुपोषणका कारण एक सातामा ६३ जनाको मृत्यु

तीमध्ये अधिकांश महिला र बालबालिका रहेको एक स्वास्थ्य अधिकारीले आइतबार जानकारी दिएका छन् । आधिकारिक विवरणअनुसार, यो संख्या केवल अस्पतालसम्म पुर्‍याइएका बिरामीहरूमात्र हो ।

श्रावण २५, २०८२

एएफपी

63 people died in one week due to malnutrition in El-Fasher, Sudan

What you should know

पोर्ट सुडान — सुडानको घेराबन्दीमा परेको एल–फाशेर नामक सहरमा कुपोषणका कारण एक सातामै ६३ जनाको ज्यान गएको छ । तीमध्ये अधिकांश महिला र बालबालिका रहेको एक स्वास्थ्य अधिकारीले आइतबार जानकारी दिएका छन् ।

आधिकारिक विवरणअनुसार, यो संख्या केवल अस्पतालसम्म पुर्‍याइएका बिरामीहरूमात्र हो । कमजोर सुरक्षाका कारण र सवारीसाधन नहुँदा थुप्रै परिवारले आफ्ना मृत आफन्तलाई उपचार नदिई गाडेका छन् ।

गत वर्षको जेठदेखि एल–फाशेर अर्धसैनिक समूह द्रुत सहायता बल (आरएसएफ) को घेराबन्दीमा परेको छ । सो समूह सुडानको नियमित सेनासँग विसं २०८० को वैशाखदेखि युद्धरत छ । एल–फाशेर डारफुर क्षेत्रको सेनाको नियन्त्रणमा रहेको अन्तिम ठूला सहरहरूमध्ये एक हो । राजधानीबाट फिर्ता भएपछि सो समूहले हालै फेरि आक्रमण बढाएको छ ।

गत चैतमा नजिकैको जमजम विस्थापित शिविरमा भएको ठूलो आक्रमणपछि दसौं हजार व्यक्ति पुनः विस्थापित भएर एल–फाशेरमै शरण लिन बाध्य भएका छन् ।

एक समय जीवनरक्षक मानिएका सामूहिक भान्साघरहरू खाद्यान्न अभावका कारण बन्द भइसकेका छन् । केही परिवार पशुचौपायालाई दिने घाँस वा फालिएका खानेकुरा खाएर गुजारा गरिरहेका छन् भन्ने खबर आएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार, एल–फाशेरमा पाँच वर्षभन्दा मुनिका करिब ४० प्रतिशत बालबालिका तीव्र कुपोषणबाट ग्रस्त छन्, जसमध्ये ११ प्रतिशत गम्भीर कुपोषणको सिकार छन् ।

साउनमा वर्षा याम चरममा पुग्ने भएकाले सहरसम्म पुग्न झनै कठिन भएको छ । बाटाहरू बिग्रिएका कारण राहत सामग्री पुर्‍याउन असम्भवजस्तै बनेको छ ।

तीन वर्षदेखि जारी युद्धले दसौं हजारको मृत्यु गराइसकेको छ, लाखौँ विस्थापित भएका छन् र संयुक्त राष्ट्रसंघका अनुसार यो हाल विश्वकै सबैभन्दा ठूलो विस्थापन र भोकमरीको संकट बनेको छ ।

एएफपी

Link copied successfully