घाइते तीनै जनाको न्युयोर्क सहरको बेलेभ्यु अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ ।
न्युयोर्क — अमेरिकाको न्युयोर्कस्थित अत्यधिक भीड हुने पर्यटकीय स्थल टाइम्स स्क्वायरमा शनिबार बिहान एक १७ वर्षीय किशोरले गोली चलाउँदा तीन जना घाइते भएका न्युयोर्क प्रहरी विभागले जनाएको छ । विभागका प्रवक्ताले भने, ‘स्थानीय समयअनुसार राति १ः२० बजे सामान्य भनाभनमा गोली चलेको थियो ।’
प्रहरीका अनुसार आक्रमणबाट एक १८ वर्षीया युवतीको घाँटीमा चोट लागेको छ भने १९ वर्षीय पुरुष र ६५ वर्षीय वृद्धको शरीरको तल्लो भागमा चोट लागेको छ । चोटपटकका कारण कुनै पनि व्यक्तिको जीवन खतरामा नरहेको अस्पताल स्रोतले बताएको छ । घाइते तीनै जनालाई न्युयोर्क सहरको बेलेभ्यु अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ ।
‘आक्रमणकारी युवकलाई प्रहरी हिरासतमा लिइएको छ र एउटा बन्दुक बरामद गरिएको छ,’ न्युयोर्क प्रहरी विभागका प्रवक्ताले बताए । सन्दिग्ध किशोरमाथि अनुसन्धान जारी रहेकाले औपचारिक रूपमा अभियोग लगाइएको छैन । दैनिक दसौं हजार पर्यटक आउने उक्त सहरको थिएटर डिस्ट्रिक्टको बीचमा रहेको ४४ औं स्ट्रिट र सेभेन्थ एभिन्युमा गोली चलेको हो ।
गत जुलाई ३० मा पनि म्यानहट्टनमा सेमी अटोमेटिक राइफलले सुसज्जित एक व्यक्तिले चार जनाको गोली हानी हत्या गरेका थिए । ‘गन भायलेन्स आर्काइभ’ का अनुसार यस वर्ष संयुक्त राज्य अमेरिकामा २ सय ५४ वटा सामूहिक गोलीकाण्ड भएका छन् ।
