गाजामा सीमित राहत पहुँचले बालबालिकाको पोषण संकट गम्भीर बन्दै : संयुक्त राष्ट्रसंघ

मानवीय क्षेत्रका साझेदार संस्थाहरूका अनुसार, गाजाका बालबालिकामा अहिले तीव्र कुपोषणको दर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

श्रावण २३, २०८२

सिन्ह्वा

Limited aid access to Gaza exacerbates children's nutrition crisis: UN

What you should know

संयुक्त राष्ट्रसंघ — संयुक्त राष्ट्रसंघको मानवीय समन्वय कार्यालय (ओसीएचए)ले गाजामा राहत सामग्रीको पहुँच अत्यन्त सीमित रहेकाले बालबालिकासहित सर्वसाधारणमा भोकमरी र कुपोषणको संकट दिनप्रतिदिन गहिरिँदै गएको जानकारी दिएको छ ।

मानवीय क्षेत्रका साझेदार संस्थाहरूका अनुसार, गाजाका बालबालिकामा अहिले तीव्र कुपोषणको दर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । साउन महिनामा करिब एक लाख छत्तीस हजार बालबालिकामध्ये झण्डै बाह्र हजार बालबालिका तीव्र कुपोषणको अवस्थामा पुगेका थिए । तीमध्ये दुई हजार पाँच सयभन्दा बढीमा गम्भीर कुपोषण देखिएको छ, जसमा करिब चालिस बालबालिकालाई तत्काल अस्पताल भर्ना गर्नुपर्ने अवस्था आएको हो ।

ओसीएचाले जानकारी गराएअनुसार, जेठ र असार महिनामा तीव्र कुपोषण भएका बालबालिकामध्ये १८ प्रतिशतको अवस्था अत्यन्त गम्भीर थियो, जुन चैत–वैशाखमा देखिएको १२ प्रतिशतको तुलनामा उल्लेखनीय रूपमा बढेको हो ।

संयुक्त राष्ट्रका साझेदार संस्थाहरूले अत्यावश्यक पोषण सामग्री गाजामा पुग्न नसकेको र यसले स्थिति थप जटिल बनाउने चिन्ता व्यक्त गरेका छन् । उनीहरूका अनुसार, यदि राहत आपूर्ति सहज र निरन्तर रूपमा हुन सकेन भने, कुपोषणका कारण थप बालबालिकाको अवस्था गम्भीर बन्ने सम्भावना छ ।

अन्तिम केही दिनमा केही व्यापारिक सामग्री गाजामा प्रवेश गरेपछि स्थानीय बजारमा केही खानेकुरा उपलब्ध भएको र थोरै मूल्य घटेको देखिए पनि, स्थायी समाधानका लागि नियमित, सुरक्षित र अबाधित राहत आपूर्ति अत्यावश्यक रहेको ओसीएचाले स्पष्ट पारेको छ ।

यसका साथै, ओसीएचाले आश्रय सामग्रीको अभाव पनि गम्भीर बनिरहेको जानकारी दिएको छ । धेरैजसो परिवारहरू अहिले पनि भीडभाडयुक्त, असुरक्षित तथा अमानवीय परिस्थितिमा बस्न बाध्य छन् । केही त पूर्ण रूपमा आश्रयविहीन अवस्थामा छन्, जसले गर्दा उनीहरूको जीवन झनै कठिन बनेको छ ।

इजरायलले राहत सामग्री पुर्‍याउने क्रममा ‘सुरक्षित मार्ग’ प्रदान गर्ने घोषणा गरे पनि, स्थानीय अवस्थाको वास्तविकता फरक रहेको संयुक्त राष्ट्रको भनाइ छ । अझै पनि धेरै राहत सवारी साधनहरू अवरोध, ढिलाइ र जोखिमपूर्ण अवस्थाको सामना गरिरहेका छन् । कतिपय अवस्थामा राहत टोलीहरूलाई १८ घण्टासम्म प्रतीक्षा गर्नुपर्ने भएको छ ।

त्यस्तै, इन्धनको आपूर्ति पनि अत्यन्त सीमित र अनिश्चित रहेकोले आवश्यक सेवा सञ्चालन र राहत वितरणमा गम्भीर असर परेको छ । यसले स्वास्थ्य, खानेपानी, सञ्चारजस्ता आधारभूत सेवा प्रणालीमा समेत बाधा पुर्‍याइरहेको छ ।

संयुक्त राष्ट्रसंघ र यसका मानवीय साझेदारहरूले सबै सरोकारवाला पक्षहरूलाई सहज, सुरक्षित र स्थायी मानवीय पहुँच सुनिश्चित गर्न आग्रह गरेका छन्, ताकि गाजाका निर्दोष बालबालिकालगायत सम्पूर्ण पीडित जनताले आवश्यक सहयोग प्राप्त गर्न सकून् ।

सिन्ह्वा

Link copied successfully