थाइल्यान्डका उपरक्षामन्त्री नाट्टाफोन नार्कफानित र कम्बोडियाका रक्षामन्त्री टि सेइहाद्वारा हस्ताक्षरित संयुक्त वक्तव्यमा सीमामा सैनिकको आवागमन र गस्तीमा रोक लगाउने सहमति भएको उल्लेख छ ।
What you should know
क्वालालम्पुर — गत २४ जुलाईदेखि थाइल्यान्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा भएको लडाइँ पाँच दिनमा रोक्दै दुई देश अस्थायी युद्धविरामका लागि सहमत भएका थिए । उक्त अस्थायी युद्धविराम सम्झौतालाई दिगो शान्तिमा विस्तार गर्ने गरी बिहीबार दुई देशले सहमति जनाएका छन् ।
थाइल्यान्डका उपरक्षामन्त्री नाट्टाफोन नार्कफानित र कम्बोडियाका रक्षामन्त्री टि सेइहाद्वारा हस्ताक्षरित संयुक्त वक्तव्यमा सीमामा सैनिकको आवागमन र गस्तीमा रोक लगाउने सहमति भएको उल्लेख छ ।
वक्तव्यमा एक महिनाभित्र अर्को बैठक बस्ने गरी दुवै पक्ष तनाव कम गर्न र गलत सूचना सम्प्रेषण नगर्न पनि सहमत भएको बताइएको छ । ‘आजको हाम्रो छलफलले ठोस परिणाम हासिल गर्न दुवै पक्षले सहयोग र इमानदारिता देखाउनु आवश्यक छ,’ थाई उपरक्षामन्त्री नाट्टाफोनले भने । ‘हामी रक्तपात रोक्न विस्तृत युद्धविरामको व्यवस्थाका लागि प्रयासरत छौं र दुवै पक्षका सैनिक र सर्वसाधारणले भोग्नुपरेको पीडालाई सधैंका लागि रोक्न चाहन्छौं,’ सहमतिपछिको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कम्बोडियाका रक्षामन्त्री सेइहाले भने । ‘शान्ति सम्झौताका लागि भएका यी प्रयासले दुवै देशका जनताको जीवन रक्षाका लागि पहल गर्नेछ भने यसले दुई छिमेकी देशबीच विश्वास, भरोसा र अमनचयनको बहालीका लागि आधार तयार पार्नेछ,’ उनले भनेका छन् ।
तीन दिनसम्म चलेको सघन वार्तापछि दुवै देशका रक्षा अधिकारीहरूले बिहीबार एक संयुक्त वक्तव्य जारी गर्दै शान्ति सम्झौतालाई थप विस्तार गर्न सहमत भएका हुन् । वक्तव्यमा भनिएको छ, ‘दुवै पक्ष सबै प्रकारका हतियारसहित युद्धविराम गर्न सहमत भएका छन्, जसमा नागरिक र गैरसैनिकमाथि आक्रमण नगर्ने सर्तमा दुवै पक्षका सैन्य अधिकारी सहमत भएका छन् ।’ वक्तव्यमा दुवै देशका सैन्य अधिकारीले उक्त सम्झौता कुनै पनि हालतमा उल्लंघन हुनु नहुनेमा दृढ रहेको पनि उल्लेख गरेका छन् ।
थाइल्यान्ड र कम्बोडिया दुवैले युद्धविराम गरेको पहिलो दिनमा नै एकअर्कालाई सम्झौता उल्लंघन गरेको आरोप लगाएका थिए ।
शान्ति सम्झौता विस्तारका लागि गरिएको उक्त वार्ताको पर्यवेक्षकका रूपमा रहेका मलेसियाका लागि अमेरिकी राजदूत एडगार्ड कागनले यो सम्झौता दिगो शान्तिका लागि एउटा ठोस कदम भएको बताएका छन् । उनले भने, ‘त्यसो त दुई देशबीच अझै पनि व्यापक अविश्वास र तनाव भने कायमै छ । हामीलाई लाग्छ, दुवै पक्षले उच्चस्तरमा शान्ति कायम गर्न दृढ प्रतिबद्धता देखाउनुपर्नेछ र यसलाई सीमामा रहेका सैनिक र प्रहरीहरूमा सकारात्मक रूपमा सन्देश प्रवाह गरिनु जरुरी छ ।’
सीमावर्ती क्षेत्रमा अवस्थित मन्दिरलाई लिएर दुई देशबीच लामो समयदेखि चलेको विवादले गत जुलाईदेखि हिंसाको रूप लिएको थियो । २९ जुलाईमा अस्थायी शान्ति सम्झौता गर्नुअघि पाँच दिनसम्म चलेको लडाइँमा कम्तीमा ४३ जनाको मृत्यु भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ मध्यस्थकर्ताको एक टोलीको आग्रहपछि आसियान अध्यक्ष मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमले युद्धविरामको मध्यस्थता गरेका थिए । उक्त सम्झौतामा थाइल्यान्ड र कम्बोडिया अस्थायी युद्धविरामका लागि सहमत भएका थिए ।
सन् १९०७ मा कम्बोडियाका फ्रान्सेली औपनिवेशिक प्रशासकहरूले गरेको अस्पष्ट सीमांकनका कारण सीमा क्षेत्रका मन्दिरहरूमा दुवै राष्ट्रहरूले आ–आफ्नो दाबी पेस गरिरहँदा तनावको स्थिति रहँदै आएको हो । गत जुलाईमा भएको झडप यस क्षेत्रमा एक दशकयता भएको सबैभन्दा घातक मानिएको छ । जुन लडाइँका कारण सीमा क्षेत्रका झन्डै तीन लाख मानिस विस्थापित भएका थिए ।
