अमेरिकाका स्वास्थ्यमन्त्री रोबर्ट एफ. केनेडी जुनियरले मंगलबार एक विज्ञप्ति जारी गर्दै सुरक्षित र प्रभावकारी अन्य खोपहरूको विकास भइरहेकाले हाल दिँदै आएको अनुदान रोक्ने निर्णय गरिएको बताएका छन् ।
What you should know
वासिङटन डीसी — स्वास्थ्य तथा मानव सेवा विभागले कोभिड–१९ र फ्लजस्ता श्वासप्रश्वाससम्बन्धी भाइरसहरूविरुद्ध प्रयोग गरिने खोपको अनुसन्धान कार्यक्रमलाई दिँदै आएको अनुदान रोक्न निर्णय गरेको छ ।
अमेरिकाका स्वास्थ्यमन्त्री रोबर्ट एफ. केनेडी जुनियरले मंगलबार एक विज्ञप्ति जारी गर्दै सुरक्षित र प्रभावकारी अन्य खोपहरूको विकास भइरहेकाले हाल दिँदै आएको अनुदान रोक्ने निर्णय गरिएको बताएका छन् । जुनियरको उक्त निर्णयसँगै खोप अनुसन्धानका लागि यसअघि भएका सम्झौताहरू रद्द हुनेछन् ।
‘एमआरएनए प्रविधिमा आधारित खोपसम्बन्धी ५० करोड डलरका २२ परियोजना स्थगित गरिएको छ,’ केनेडी जुनियरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
केनेडीको यो निर्णयलाई खोप अनुसन्धान र त्यसको प्रयोगका बारेमा स्वास्थ्य विभागले गर्दै आएको आलोचनाको शृंखलामा पछिल्लो निर्णयका रूपमा हेरिएको छ । केनेडीले कोभिड–१९ को खोपको आलोचना गर्दै आएका छन् । उनले खोप सिफारिस गर्ने समितिलाई समेत खारेज गरिसकेका छन् । अमेरिकामा पछिल्लो समय दादुरा संक्रमण तीव्र रूपमा फैलिइरहे पनि केनेडी जुनियरले खोपको व्यापक प्रयोगलाई समर्थन गरेका छैनन् ।
स्वास्थ्यमन्त्री केनेडीले सामाजिक सञ्जालमा एउटा भिडियोमार्फत फ्लु, कोभिड–१९ र एचएफएन १ जस्ता खोप उत्पादन गर्ने फाइजर र मोर्डनाजस्ता ठूला कम्पनीले नेतृत्व गरिरहेको खोपसम्बन्धी परियोजना खारेज गरेको घोषणा गरेका हुन् ।
‘एनआरएनए खोपसम्बन्धी कार्यक्रलाई विस्थापित गर्न थप सुरक्षित खोपको अनुसन्धानलाई प्राथमिकतामा राखेका छौं, जुन खोपहरू भाइरस उत्परिवर्तन हुँदासमेत प्रभावकारी काम गर्नेछन्,’ केनेडीले भनेका छन् ।
संक्रामक रोग विज्ञहरूले खोपको विकासमा एनएआरएनए प्रविधि सुरक्षित रहेको बताएका छन् । सन् २०२० मा कोरोना महामारीको विस्तारलाई कम गर्न एमएआरएनए खोप प्रभावकारी देखिएको विज्ञहरूको भनाइ छ । भविष्यमा आइपर्ने महामारी नियन्त्रण गर्न एमएआरएनए खोप बिना सम्भव नहुने उनीहरूले चेतावनी दिएका छन् ।
स्वास्थ्य मन्त्रालयको एमआरएनए परियोजना स्थगन गर्ने निर्णयलाई खोप विकासको प्राथमिकता परिवर्तनका रूपमा हेरिएको छ । मन्त्रालयले प्रभावकारी समाधानमा लगानी गर्नेसमेत जनाएको छ । ‘म एउटा कुरा प्रस्ट पार्न चाहन्छु, स्वास्थ्य मन्त्रालय सबै अमेरिकीका लागि सुरक्षित र प्रभावकारी खोप चाहन्छ,’ केनेडीले भनेका छन् ।
