राहुलको बचाउ गर्दै प्रियंकाले भनिन्– सच्चा भारतीय को हो भन्नेकुरा कुनै न्यायाधीश तय गर्न सक्दैनन्

प्रियंकाले भाइ राहुलको बचाउ गर्दै, भारतीय सेनाप्रतिको सम्मानलाई जोड दिँदै न्यायाधीशको टिप्पणीको आलोचना गरिन्।

श्रावण २०, २०८२

कान्तिपुर संवाददाता

Defending Rahul, Priyanka said that no judge can decide who is a true Indian

काठमाडौँ — मानहानीको मुद्दामा राहुल गान्धीविरुद्ध भारतको सर्वोच्च अदालतको टिप्पणीप्रति कांग्रेस सांसद प्रियंका गान्धीले राहुलको बयानलाई गलत अर्थ निकालिएको प्रतिक्रिया दिएकी छन् ।

प्रियंकाले भनेकी छिन्, ‘सम्मानका साथ भन्न चाहन्छु, को सच्चा भारतीय हो र को होइन भन्ने कुरा न्यायाधीश तय गर्न सक्दैनन् । यो त विपक्षी नेताको काम हो, सरकारसँग प्रश्न गर्नु ।’

उनले राहुलको बचाउ गर्दै आफ्ना भाइ भारतीय सेनाको विरुद्ध कुनै कुरा भन्न नसक्ने दाबी गरेकी छिन् । बरु सेनाको धेरै सम्मान गर्ने उनको भनाइ छ । 

राहुल गान्धीले सन् २०२२ मा ‘भारत जोडो यात्रा’ का क्रममा सेना र भारतीय जमिन चीनको कब्जामा रहेको भन्ने बयान दिएका थिए । 

समाचार एजेन्सी एएनआईका अनुसार उनले भनेका थिए, ‘मानिसहरु भारत जोडो यात्राबारेमा प्रश्न गर्नेछन्, तर उनीहरु चीनले अरुणाचल प्रदेशमा २० भारतीय सैनिकको हत्या गरेर भारतको दुई हजार वर्गकिलोमिटर जमिन कब्जा गरेको विषयमा प्रश्न गर्ने छैनन् । भारतीय मिडिया यसबारे सरकारसँग कहिले सोध्ने छैनन् ।’

सोमबार यस विषयमा सर्वोच्च अदालतका न्यायाधीश दीपांकर दत्ताले प्रश्न गरे, ‘चीनले भारतको दुई हजार वर्गकिलोमिटर जमिन कब्जा गरेको कुरा तपाईंलाई कसरी थाहा भयो? के तपाईं त्यहाँ हुनुहुन्थ्यो? के तपाईंसँग कुनै विश्वसनीय जानकारी छ । यदि तपाईं सच्चा भारतीय हो भने यस्तो कुरा गर्न सक्नुहुन्न ।’

कान्तिपुर संवाददाता

Link copied successfully