युक्रेन वार्ताका लागि अमेरिकी विशेष दूतले मस्को भ्रमण गर्ने

शान्ति वार्ताका लागि वातावरण बनाउन स्टिभ विटकफले आइतबार मस्को भ्रमण गर्न लागेका हुन्

श्रावण १८, २०८२

एजेन्सी

US special envoy to visit Moscow for Ukraine talks

वासिङ्टन — पछिल्लो सातायता रुसले युक्रेनमा हमला बढाएपछि युद्धविरामका लागि अमेरिकाले गरिरहेको वार्ताको पहलमा अवरोध मात्रै नभई दुई ठूला शक्ति राष्ट्रको सम्बन्धमा नै चिसोपना बढिरहेको छ । युद्धविराम नगरेको खण्डमा नयाँ ट्यारिफ लगाउने भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि दबाब बढाइरहेका छन् । यसै सन्दर्भमा युक्रेनसँगको शान्ति वार्ताका लागि वातावरण सिर्जना गर्ने गरी ट्रम्पका विशेष दूत स्टिभ विटकफले आइतबार मस्को भ्रमण गर्ने नाटोका लागि अमेरिकी राजदूत म्याथ्यु ह्वाइटकरले जनाएका छन् ।

‘आशा छ, जुन उद्देश्यले विटकफले मस्कोको भ्रमण गर्दै हुनुहुन्छ, त्यसमा सफलता हासिल गर्न सक्नुहुन्छ,’ ह्वाइटकरले भनेका छन् । विशेष दूत विटकफले यसअघि पनि कूटनीतिक प्रयासका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पटक–पटक भेटवार्ता गरिसकेका छन् । ट्रम्पले विटकफको रुस भ्रमणको योजनाबारे जानकारी दिए पनि कहिले र कुन समयमा हुने भन्ने जानकारी दिएका छैनन् ।

त्यसैगरी, अमेरिकाले नाटोका सहयोगीहरूलाई हतियार बेच्न चाहेको पनि ह्वाइटकरले बताए । नाटो सहयोगीहरूले त्यसपछि मस्को र किएभबीचको वार्तालाई सहज बनाउन ती हतियार युक्रेनलाई प्रदान गर्ने उल्लेख छ । ‘संयुक्त राज्य अमेरिकाले नाटो सहयोगीहरूलाई हाम्रा हतियारहरू बेचेर, त्यसले रुसीहरूलाई वार्ता टेबलमा आउन बाध्य पार्दै युद्धविरामको वातावरण सिर्जना गर्नेमा मलाई आशा छ’, उनले भने । लडाइँमा रहेका रुस र युक्रेनलाई युद्धविरामको स्थितिमा ल्याउन भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले यसै साताको सुरुमा १० दिनको ‘अल्टिमेटम’ दिँदै उक्त समयसीमाभित्र रुस नआएमा व्यापक मात्रामा भन्सार दर वृद्धि गर्नुका साथै थुप्रै दण्डहरू दिन सकिने चेतावनी दिएका थिए । जसमा शतप्रतिशत कर र रुसको व्यापार साझेदार देशहरूलाई समेत प्रतिबन्धहरू लगाइन सक्ने बताइएको छ । 

संयुक्त राष्ट्रसंघका लागि कार्यवाहक अमेरिकी दूत जोन केलीले पनि ट्रम्पले अगस्ट ८ सम्ममा रुस र युक्रेन युद्धविरामका लागि आउने अपेक्षा गरेको बताएका छन् । मध्यपूर्वका लागि संयुक्त राज्य अमेरिकाका विशेष दूत स्टिभ विटकफ गाजामा भोकमरी संकटका बीच शुक्रबार गाजामा अमेरिकी समर्थित खाद्य सहायता स्थलमा आइपुगेपछि यो घटनाक्रम विकास भएको सीएनएनले रिपोर्टमा उल्लेख गरेको छ । 

रुसी तेल किन्न जारी राख्ने भारतको संकेत 

नयाँदिल्ली– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीका बाबजुद पनि भारतले रुसबाट तेल किन्न जारी राख्ने संकेत गरेको छ । भारतीय विदेश मन्त्रालयले रुससँगको आफ्नो सम्बन्ध ‘स्थिर र समयद्वारा परीक्षित’ भएको टिप्पणी गर्दै यसलाई तेस्रो देशको चस्माबाट हेर्न नहुने बताएको छ । 

भारतले २०२३ मेमा रुसबाट दैनिक तेल आयात २१ लाख ५० हजार ब्यारेलसम्म पुर्‍याएको थियो । डाटा एनालिटिक्स कम्पनी केप्लरको तथ्यांक अनुसार एक समयमा भारतको समग्र तेल आयातको झन्डै ४० प्रतिशतसम्म पुगेको थियो, जसले मस्कोलाई नयाँदिल्लीको सबैभन्दा ठूलो कच्चा तेल आपूर्तिकर्ता बनाएको थियो । भारतको हाल दैनिक तेल खपत लगभग ५५ लाख ब्यारेल रहेको छ र त्यसमध्ये झन्डै ८८ प्रतिशत तेल आयात गरिन्छ । 

एजेन्सी

Link copied successfully