काठमाडौँ — थाइल्यान्डको राजधानी बैंककस्थित एक खाद्य बजारमा सोमबार दिउँसो भएको सामूहिक गोलीकाण्डमा पाँच जनाको ज्यान गएको छ भने तीन जना अन्य घाइते भएका छन् ।
प्रहरीका अनुसार घटनास्थल बैंककको बाङ सुए जिल्लामा रहेको ‘ओर तो कोर’ बजार हो, जहाँ आक्रमणकारीले दिउँसो १२ः३१ बजे बन्दुक प्रहार गरेका थिए । गोली प्रहार गरेपछि आक्रमणकारीले आफूलाई पनि गोली हानेका थिए । उनको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको कारण व्यक्तिगत विवाद रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार आक्रमणकारी पहिले सोही बजारमा कार्यरत थिए र एक सुरक्षाकर्मीप्रति लामो समयदेखि आक्रोश राखेका थिए ।
'उक्त जानकारी आक्रमणकारीको श्रीमतीबाट प्राप्त भएको हो,' प्रहरी अधिकारी सायाम बुनसोमले पत्रकारहरूलाई बताए ।
ओर तो कोर बजार पर्यटकबीच अत्यन्त लोकप्रिय गन्तव्य मानिन्छ ।
थाइल्यान्डमा बन्दुक नियन्त्रणका कानुनहरू कमजोर भएकाले यस्ता सामूहिक गोलीकाण्ड समय–समयमा हुँदै आएका छन् ।
