मानवीय सहायता आपूर्तिमा अवरोध गरेका छैनौं : इजरायल

यस सातामात्रै २ सय ५० भन्दा बढी राहत बोकेका ट्रक गाजामा भित्रिइसकेको इजरायलले जनाएको छ ।

श्रावण ११, २०८२

एजेन्सी

We have not blocked the supply of humanitarian aid: Israel

What you should know

काठमाडौँ — इजरायलले गाजामा मानवीय सहायता आपूर्तिमा आफ्नो अवरोध नरहेको जनाएको छ ।

नेपालस्थित इजरायली दूतावासले विज्ञप्ति जारी गर्दै इजरायली सेना (आईडीएफ) ले शनिबारदेखि पुनः हवाईमार्गबाट राहत सामग्री आपूर्ति सुरु गरेको पनि उल्लेख गरेको छ ।

‘अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोगमा पिठो, चिनी, डब्बा बन्द खाना आदिको आपूर्ति गरिँदै छ’ विज्ञप्तिमा उल्लेख छ । यो अभियान आफ्नो वायुसेनाको नेतृत्वमा सञ्चालन भइरहेको पनि इजरायलले जनाएको छ ।

इजरायलका अनुसार संयुक्त राष्ट्रसंघका राहत सामग्री बोकेका गाडीहरू सुरक्षित रूपमा पुग्न सक्ने गरी विशेष मार्गहरू निर्धारण गरिएको छ । ‘जनघनत्व भएका क्षेत्रमा छोटो अवधिका लागि मानवीय रोक लागू गरिनेछ, ताकि राहत बाँडफाँट सुरक्षित रूपमा गर्न सकियोस्,’ विज्ञप्तिमा उल्लेख छ ।

गाजामा भोकमरी पनि नभएको र प्यालेस्टिनी लडाकु समूह हमासले झूटो प्रचार मात्र गरेको इजरायलको दाबी छ । हमासले टर्मिनल रोगहरूबाट पीडित बालबालिकाका तस्बिरहरू दुरुपयोग गर्दै उनीहरूलाई भोकमरीको सिकार भनेर देखाएको इजरायलले जनाएको छ ।

यस सातामात्रै २ सय ५० भन्दा बढी राहत बोकेका ट्रकहरू गाजामा भित्रिइसकेको इजरायलले जनाएको छ । ‘अझै सयौं ट्रक सीमा क्षेत्रमा छन्, जसलाई राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूले संकलन गर्न बाँकी छ’ विज्ञप्तिमा भनिएको छ । हालसम्म करिब ६ सय ट्रकका सामग्री राष्ट्रसंघ र साझेदार संस्थाहरूले वितरण गरिसकेको इजरायलले दाबी गरेको छ ।

इजरायली विद्युत् संस्थाको सहयोगमा समुद्री पानीबाट खार हटाउने प्लान्टमा विद्युत् आपूर्ति पुनः सुरु गरिएको र यसबाट प्रतिदिन २० हजार घनमिटर पानी उत्पादन भई लगभग ९ लाख बासिन्दा लाभान्वित हुने विज्ञप्तिमा उल्लेख छ ।

एजेन्सी

Link copied successfully