टर्कीको बुर्सा सहरमा आगलागीको खतरा, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

बुर्सामा फैलिएको डढेलोले १७६५ नागरिकलाई सुरक्षित स्थानमा सारियो, आगो नियन्त्रणमा ११०० दमकलकर्मी खटिएका छन्।

श्रावण ११, २०८२

रासस

Fire threat in Bursa city, Turkey, residents moved to safer places

What you should know

इस्तानबुल — हप्तौँदेखि टर्कीलाई घेरेको डढेलोले आइतबार बिहान सबेरै देशको चौथो ठूलो सहरलाई खतरामा पारेको छ । आगलागीका कारण सयौँ मानिसलाई आफ्नो घर छाडेर भाग्न बाध्य भएका छन् ।

उत्तरपश्चिम टर्कीको बुर्सा वरपरका जंगली पहाडहरूमा रातभरको आगो द्रुत गतिमा फैलिएपछि सहरको पूर्वी उपनगरहरूमा रातको आकाशलाई रातो बनाएको थियो ।

बुर्साका गभर्नरको कार्यालयले आइतबार विज्ञप्तिमा उत्तरपूर्वका गाउँहरूबाट एक हजार सात सय ६५ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको बताएको छ । एक हजार एक सयभन्दा बढी दमकलकर्मीले आगो निभाउने प्रयास गरिरहेका थिए । बुर्सालाई राजधानी अङ्कारासँग जोड्ने राजमार्ग वरपरका जङ्गलहरू जलेको कारण बन्द गरिएको थियो । प्रान्तका विपक्षी सांसद ओर्हान सारिबालले यस दृश्यलाई ‘प्रलय’ भने ।

बिहानसम्म हावाको गति कम भएपछि दमकलकर्मीहरूलाई केही राहत मिलेको थियो । उनीहरूले आगो निभाउने प्रयास जारी राखे । तथापि टेलिभिजनको फुटेजले खरानीमय भूदृश्य देखाएको छ । त्यहाँ पहिले खेतहरू र सल्लाका जंगलहरू थिए ।

टर्की जुनको अन्त्यदेखि दैनिक दर्जनौँ डढेलोको चपेटामा परेको छ । वनमन्त्री इब्राहिम यमुक्लीले शनिबार देशभरका अग्नि नियन्त्रकहरूले ७६ वटा छुट्टै आगलागीको सामना गरेको बताएका थिए । 

बेमौसमी उच्च तापक्रम, सुक्खा अवस्था र कडा हावाले गर्दा आगो लागेको हो ।

टर्कीको दक्षिणपूर्वी सिरनाक प्रान्तमा शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी तापक्रम ५०.५ डिग्री सेल्सियस (१२२.९ डिग्री फरेनहाइट) रेकर्ड गरिएको छ । जुलाईमा सबैभन्दा बढी तापक्रम अन्य १३२ स्थानमा देखिएको छ । यमुक्लीले कारबुकसहित देशको उत्तरपश्चिम सबैभन्दा ठूलो खतरामा रहेको बताए । काराबुकमा मंगलबारदेखि डढेलो लागेको छ ।

हालैका साताहरूमा पश्चिमी टर्कीको एस्किसेहिरमा बुधबार आगलागी हुँदा १० जना उद्धारकर्मी र वनकर्मीसहित १३ जनाको मृत्यु भएको छ । न्यायमन्त्री यिलमाज टुन्कले शनिबार राति अभियोजकहरूले जुन २६ देखि ३३ प्रान्तमा आगलागीको अनुसन्धान गरिसकेको र ९७ संदिग्धहरू विरुद्ध कानुनी कारबाही गरिएको बताए ।

आगलागीको गम्भीरताका कारण सरकारले शुक्रबार दुई पश्चिमी प्रान्त इजमिर र बिलेसिकलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरेको छ ।

रासस

Link copied successfully